कामदार कोटा बढाउन कतार सकारात्मक
काठमाडौंः कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बुधबार त्यहाँका अमिर, विदेशमन्त्री र श्रममन्त्रीसँग अलगअलग भेटवार्ता गरेका छन् ।
भेटमा डा.महतले कतारमा रहेका नेपाली श्रमिकको सेवा, सुविधा र सुरक्षाबारे कतार सरकारको ध्यानाकर्षण गराएका थिए । उनले नेपाली श्रमिकको सेवासुविधाका लागि कतार सरकार गम्भीर रहेको बताए ।
कतारमा समस्यामा परेका नेपालीको सुविधाका लागि सुरक्षित आवास गृह स्थापना गर्ने, मजदुरले पाउनुपर्ने सुविधा नपाई कानुनी समस्या झेल्नुपरेको अवस्थामा अदालतसम्म पुग्दा झन्झटिलो हुने भएकाले श्रम मन्त्रालयअन्तर्गत नै एक संयन्त्र स्थापना गर्ने, नेपालमा एक पोलिटेक्निक स्थापना गरी दक्ष जनशक्तिका लागि लगानी गर्नेबारे कतारी अधिकारीसँग छलफल गरे ।
कतारी अमिर शिख तमिम बिन हमाद अल थानीसँग मन्त्री डा.महतले नेपालको हस्पिटालिटी, पर्यटन, हाइड्रोपावर र टेलिकममा कतारले लगानी गर्ने विषयमा कुराकानी गरेको उनका प्रेस संयोजक एकराज पाठकले प्रेस विज्ञप्तिमा जनाएका छन् ।
नेपालले आउँदो चैतमा गर्न लागेको लगानी समिटमा कतारले एक अनुसन्धान टोली पठाउने विषयमा पनि कुराकानी भएको थियो । नेपाल आउने उक्त टोलीले कतारले गर्न सक्ने लगानी र सम्बन्ध विस्तारका क्षेत्रबारे पहिचान गर्ने विषयमा दुई पक्षबीच बैठकमा कुराकानी भएको थियो ।
कतारमा रहेका नेपालीले पाउनुपर्ने सुविधा र सुरक्षामा नेपालले राखेको चासोप्रति कतारी सरकारी पक्ष अत्यन्तै सकारात्मक रहेको महतका प्रेस संयोजक पाठकले बताए । डा.महतले परिवर्तित सन्दर्भमा कतारको श्रम कानुनमा गरिएको सुधारलाई स्वागत गरेका थिए ।
त्यस अवसरमा मन्त्री डा.महतले नेपाल र कतारबीचको सम्बन्ध केवल श्रमिक पठाउने देशका रूपमा मात्र नभएर द्विपक्षीय अन्य विषय र नेपालमा कतारले लगानी गर्ने बारेमा आग्रह गरेका थिए । त्यस अवसरमा डा.महतले कतारका अमिरलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरेका थिए ।
कतारी अमिरले नेपाल भ्रमण गर्न आफू इच्छुक रहेको तथा नेपाली कामदारको हकहितका लागि कतारले विशेष ध्यान पुर्याउने बताए । भेटका अवसरमा अमिर थानीले कतारमा कर्यरत नेपाली परि श्रमी र इमान्दार रहेको भन्दै उच्च प्रशंसा गरेका थिए । दक्ष जनशक्तिको रोजगारीमा कोटा बढाउन गरेको आग्रहप्रति कतारी अमिरले सकारात्मक जवाफ दिएको महतले बताए ।
डा.महतले बुधबारै त्यहाँका विदेशमन्त्री शेख मोहम्मद विन अब्दुलरमनसँग पनि दुई देशबीचको हितका बारेमा कुराकानी गरे । भेटक्रममा सम्बन्धको सुदृढीकरणका साथै अन्य आपसी फाइदाबारे आगामी दिनमा उच्चस्तरीय भेटहरूलाई थप अभिवृद्धि गर्ने बारे छलफल भएको थियो ।
त्यसैगरी कतारी श्रममन्त्री इस्सा विन साद अल जफालीसँग कतारमा रहेका नेपालीको श्रमिकको हकहित र सेवा सुविधाका विभिन्न पक्षमा विस्तृत रूपमा छलफल भएको पाठकले जनाएका छन् ।
भेटमा नेपालका दक्ष तथा अर्धदक्ष कामदारको कोटा बढाउने, चौबीसघन्टे बिमा सुविधा लागू गराउने, सन् २००५ मा भएको श्रम सम्झौतामा आवश्यक परिमार्जन गर्ने, श्रमिकको विभिन्न समस्या तथा गुनासोको छिटोभन्दा छिटो समाधानका लागि अलग्गै संयन्त्र बनाउने, सुरक्षित आवास गृहको व्यवस्था गर्ने, कतारको श्रम मन्त्रालय र नेपाली दूतावासबीच समन्वय र सहकार्य बढाउनेलगायत विषयमा छलफल भयो ।
प्रतिक्रिया दिनुहोस !