स्वरोजगारको स्रोत ब्राइडल मेकअप
इलामकी लक्ष्मी खनाल बेहुली बन्दा विशेष बन्न चाहन्थिन् तर बेहुली शृंगारका लागि कोसँग सम्पर्क गर्नुपर्छ भन्ने थाहा थिएन । साथीले सल्लाह दिएपछि ब्राइडल आर्टिस्टकहाँ पुगेको उनी सम्झिन्छिन् ।
समयसँगै विवाहको परिभाषा फेरिएको छ । बाध्यताले मण्डपमा बसेर रुने बेहुलीको ठाउँमा अब राजीखुसी विवाह गर्ने बेहुली हुन्छन् । लक्ष्मीले जस्तै आफ्नो बेहुली स्वरूपलाई चिरस्मरणीय बनाउने चाहना उनीहरूको पनि हुन्छ । यस्तै चाहना राख्ने बेहुलीको सौन्दर्यलाई साजसज्जा र शृंगारले खुलाइदिने सिपालुहरू हुन् ब्राइडल आर्टिस्ट । यही कलालाई करिअर बनाइरहेका थुप्रै आर्टिस्ट अहिले स्वरोजगार बनेर जीवन चलाइरहेका छन् । त्यसमध्येकी एक हुन् सोफी सुनुवार । तेस्रोलिंगी मेकअप आर्टिस्टका रूपमा चिनिएकी सोफीले नागपोखरीस्थित ‘रिभिल हेयर स्टुडियो' नामको पार्लर चलाइरहेकी छन् ।
सन् २००८ देखि यही क्षेत्रलाई आफ्नो पेसा बनाइरहेकी सोफी ब्राइडल मेकअपले बजार बनाइसकेको बताउँछिन् । केही समयअघिसम्म पनि हुनेखाने परिवारले मात्रै बेहुली शृंगारका लागि पार्लर जाने वा घरमै बोलाउने गर्ने भए पनि अहिले सबैजसो बेहुली सिँगार्न मेकअप आर्टिस्ट नै बोलाउने गरेको उनको अनुभव छ ।
अहिले त ब्राइडल मेकअप गर्नेको लहर नै चलेको छ । उनी भन्छिन्, ‘विवाहको सिजनमा त भ्याइनभ्याइ हुन्छ । प्रायः धेरैजसो सिजनमा विवाह गर्न मिल्ने भएकाले ब्राइडल मेकअपका लागि व्यस्त भइन्छ ।' अफसिजनमा पनि अरू काम गरेर व्यस्त भइन्छ । ब्राइडल मेकअप आम्दानीसँगै सन्तुष्टिको पेसा बनेको सोफीको अनुभव छ ।
ब्राइडल मेकअप गर्ने चलन बढेकोमा सोफी खुसी छिन् । ‘पहिला गहना र पहिरनमा मात्रै केन्द्रित हुनेहरू पनि अचेल मेकअपमा ध्यान दिन थालेका छन्', केन्द्रित भएका छन् । ब्राइडल मेकअप धेरै चल्तीमा आउनुको श्रेय उनी सामाजिक सञ्जाललाई दिन्छिन् ।
एकजना बेहुलीलाई सारी, गरगहनासहित सिँगारेर तयार पार्न दुई घन्टा लाग्ने सोफीले बताइन् । उनका अनुसार ब्राइडल मेकअप त्यति महँगो पनि छैन, अफोर्डेबल मूल्य नै छ । विशेष खालका सौन्दर्य प्रसाधनहरू उपयोग गरिने हुँदा अन्य पार्टी मेकअपभन्दा फरक हुने उनको धारणा छ ।
बढ्दो सौन्दर्यचेतसँगै बेहुली सिँगार्ने सीप नयाँ करिअरका रूपमा विकास भएको छ । ब्राइडल मेकअप आर्टिस्ट स्वरोजगारको अर्का उदाहरण बनिरहेछन् ।
ब्राइडल मेकअपलाई करिअर बनाउन चाहनेले यस क्षेत्रमा रुचि भए मात्र सफल हुने सोफीको अनुभव छ । रुचि छ भने अभ्यासले नै सिपालु भइने उनले बताइन् । जति अभ्यास गर्यो त्यति निपुण हुने उनको धारणा छ । ‘गाजल पनि लगाउन नजान्ने मेरा विद्यार्थी छोटो समयमा मेकअप गर्न जान्ने भएका छन्', सोफीले भनिन् । एक महिनाको तालिममै ब्राइडल मेकअपमा पोख्त हुने उनले बताइन् ।
अठार वर्षको उमेरदेखि नै ब्राइडल मेकअप गर्दै आएकी निहारिका राणा अर्की उदाहरणीय आर्टिस्ट हुन् । सानो उमेरमा नै उनले मेकअप आर्टिस्टका रूपमा परिचित छिन् । शृंगार पेसामै संलग्न आमालाई सहयोग गर्दागर्दै रुचि जागेर यो पेसामा लागेको बताउने राणाले पाँचबर्से अभ्यासमै उत्कृष्ट मेकअप आर्टिस्टको ख्याती कमाएकी छन् ।
मानिसमा सौन्दर्यचेत बढ्दै गएकाले यो पेसा निकै लाभदायक भएको राणाको अनुभव छ । ‘जीवनमा एकपटक गरिने विवाहमा सुन्दर बन्न चाहने धेरै छन्', राणा भन्छिन्, ‘त्यसैले पनि यो पेसाको चार्म बढ्दो छ ।' सामाजिक सञ्जालबाट ख्याती कमाएकी राणाका प्रायः ग्राहक उनको सीपको प्रशंसा सुनेरै आउँछन् । राणा भने निरन्तर अभ्यास गरेरै यसमा पोख्त भइने विश्वास गर्छिन् । मेहनती र निरन्तर अभ्यास गर्नेहरू यो पेसामा लागेर पछुताउनु नपर्ने उनको धारणा छ । ‘यो अभ्यासले सिपालु भइने क्षेत्र हो । यसमा लागेर कोही पनि पछुताउनु पर्दैन किनभने यो एक्लै पनि गर्न सकिने पेसा हो', राणा भन्छिन् ।