गुराँसको राजधानीमै फुलेन गुराँस
टुटेदेउराली तेह्रथुमः गुराँसका रंगीचंगी फूल हेर्न शनिबार तीनजुरे पुगेका धरान नगरपालिका १४ का मनोज राई गुराँस नफुलेको देखेर जिल्लिए । साथीभाइसहित आएका उनले बोटमा गुराँस फुलेको नदेखेपछि मन खल्लो बनाए । ‘फुर्सद मिलाएर आएको थिएँ', उनले भने, ‘गुराँसको बोटमा कोपिला मात्रै देखें । चैतको पहिलो हप्तामै गुराँस फुल्छ भन्ने सुनेको थिएँ । तर बोटका कोपिला हेरेरै चित्त बुझाउनुपर्यो ।'
धरानका विजयकुमार राईलाई पनि गुराँस फुलेको हेर्ने ठूलो इच्छा थियो । तीनजुरे डाँडामा गुराँस नफुलेको देखेपछि उनी पनि जिल्ल हुँदै फर्किए । ‘ढुंगाको सोलिङ गरेको अप्ठ्यारो बाटोमा सकीनसकी मोटरसाइकलबाट आएँ । गुराँस फुलेको नदेखेपछि नरमाइलो लाग्यो', उनले भने, ‘फुर्सद मिले अर्कोपटक आउनेछु ।'
धरानका मनोज र विजयकुमारजस्ता धेरै युवा फुलेका गुराँस हेर्न शनिबार संखुवासभा र तेह्रथुमको सीमा क्षेत्र तीनजुरे डाँडा आए पनि गुराँस नफुलेको देख्दा उनीहरूको मन खिन्न भएको हो । विगतमा चैत पहिलो हप्तामै तीनजुरे गुराँस फुलेर राताम्मे भइसक्थो । तर यो वर्ष भने चैतको दोस्रो सातासम्म गुराँसको राजधानीका रूपमा परिचित तीनजुरेमा गुराँसका कोपिला पनि राम्रोसँग देखिएका छैनन् ।
फागुन १५ देखि नै गुराँस फक्रेर मनमोहक देखिने तेह्रथुम, संखुवासभा र ताप्लेजुको संगम ‘टीएमजे' अर्थात् तीनजुरे, मिल्के र जलजले क्षेत्रका डाँडा यस वर्ष अहिलेसम्म खाली छन् । गुराँस नफुलेपछि पर्यटक पनि देखिएका छैनन् । यस क्षेत्रका होटल र पदमार्गमा पनि उतिसाह्रो रौनक छैन । टाढादेखि गुराँसको सौन्दर्यमा रम्न आउने फूल नदेख्दा खल्लो मानेर फर्कने गरेका छन् ।
फागुन १५ देखि नै गुराँस फक्रेर मनमोहक देखिने तेह्रथुम, संखुवासभा र ताप्लेजुको संगम ‘टीएमजे' अर्थात् तीनजुरे, मिल्के र जलजले क्षेत्रका डाँडा यस वर्ष खाली छन् ।
जलवायु परिवर्तनका कारण पछिल्ला वर्षमा गुराँस फुल्ने समयमा परिवर्तन आएको हुन सक्ने स्थानीय बासिन्दाको अनुमान छ । फागुनको अन्तिम साता र चैतको पहिलो सातामा पानीसँगै परेको असिनाका कारण गुराँस नफक्रिएको हुन सक्ने वसन्तपुरका स्थानीय छिरिङ शेर्पाको भनाइ छ । ‘धेरै दिनसम्म असिनापानी पर्यो', उनले भने, ‘असिनाले गुराँसको फूल झार्छ । असिनाकै कारण कोपिला लागेको फूल नफुलेको होला ।'
गुराँस नफुलेकै कारण वनभोजका लागि आउने आन्तरिक पर्यटकको चापसमेत घटेको उनको भनाइ छ । बिदाका दिन र शनिबार वनभोजका लागि आउनेको यहाँ भीड लाग्थ्यो । कतिपय दिन खानका लागि ठाउँसमेत अभाव हुन्थ्यो । तर अहिले तीनजुरे डाँडा सुनसान छ । गुराँस नफुल्दा वसन्तपुर र टुटेदेउरालीमा सञ्चालित होटल प्रायः खाली रहेको उनको भनाइ छ ।