राष्ट्रिय सुरक्षा आक्रमण र अतिक्रमणको विरोध मात्र होइन : प्रचण्ड
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षाको अवधारणा परिवर्तन भएको बताएका छन्। आइतबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
‘परम्परागत अवधारणामा राष्ट्रिय सुरक्षालार्इ एक राष्ट्रले अर्को राष्ट्रमाथि गरिने आक्रमण वा अतिक्रमणको विरुद्धमा हुने रक्षा नीतिलाई मात्र बुझिन्थ्यो भने हाल आएर यो नयाँ अवधारणा र आयामहरुमा विकास भएको पाइन्छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘अन्तर्राष्ट्रिय, राष्ट्रिय र सामाजिक परिवेशमा ज्ञान¸ विज्ञान र प्रविधिको विकाससँगै जटिल बन्दै गइरहेको राष्ट्रिय सुरक्षाको अवधारणामा राष्ट्रले अपनाउने सुरक्षाका विविध विषयहरु जस्तैस राजनैतिक, आर्थिक, सामाजिक, कुटनैतिक, सूचना र पर्यावरण आदि समेत समावेस हुन आउँछन्।’
प्रधानमन्त्री प्रचण्डले मुलुकलाई जटिल परिस्थितिबाट निकास दिने सन्दर्भमा राष्ट्रिय सुरक्षा परिषद् सचिवालयले विद्यमान परिस्थितिमा यी समग्र विषयवस्तुको अध्ययन, अनुसन्धान र विश्लेषण गरेर राष्ट्रिय सुरक्षा परिषद् र नेपाल सरकारलाई राय सुझाव प्रदान गर्न समेत सुझाव दिएका छन्।
‘विगतमा यस सचिवालयबाट सम्पादित अनुसन्धानमूलक अध्ययन, विश्लेषण तथा कार्यशालाबाट प्राप्त सुझावहरुको महत्वलाई हृदयङ्गम गरी आवश्यकता अनुसार कार्य सम्पादन तथा कार्यान्वयन हुने छन् भन्ने कुरामा म विश्वसत छु र सचिवालयको कार्यक्षेत्र र जिम्मेवारीलाई थप शसक्त व्यवसायिक एवं गरिमामय बनाउन आवश्यक रहेको मैले महसुस गरेको छु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रिय सुरक्षा नीति, २०७३ को कार्यान्वयनको अनुगमन र मूल्यांकन गर्ने महत्वपूर्ण जिम्मेवारी पाएको यस परिषद्ले राष्ट्रिय सुरक्षाका आम विषयमा स्वतन्त्र र निष्पक्ष ढंगले नीतिको कार्यान्वयन भए नभएको विषयमा अनुगमन गर्ने छ भन्ने विश्वास पनि लिएको छु।’