दाम्लोमुक्त भइन् वन्दना
धादिङ: भूकम्पमा होश गुमाएपछि दाम्लोमा जीवन गुजारिरहेकी ६ बर्षीय बालिका वन्दना कुमाल दाम्लोमुक्त भएकी छिन् । अन्नपूर्ण पोस्ट्मा ‘खेल्ने–पढ्ने उमेरमा दाम्लोको बन्धन’ शीर्षक समाचार प्रकाशित भएपछि उनलाई उद्धार गर्न युनिसेफले चासो देखाएको थियो ।
जिल्ला बाल कल्याण समितिको समन्वय र युनिसेफको सहयोगमा भूकम्पपछि बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था एकीकृत सामुदायिक विकास समाज आईसीडी धादिङले वन्दनाको उद्धार गरी पुनःस्थापना केन्द्र पठाएको छ । ललितपुरको बागडोलमा कोसिस नामक संस्थाले सञ्चालन गरेको मेन्टल हेल्थ एन्ड साइकोसोसल केन्द्रमा सम्पूर्ण उपचार खर्च निःशुल्क गर्ने गरी पठाइएको आईसीडीसीले जनाएको छ । वन्दना पूर्ण रूपमा ठीक नभएसम्म मनोपरामर्श एवं अन्य उपचार गराइने आईसीडीसीका तिरूपति परियारले जानकारी दिए ।
ओममायाले पनि उपचार पाइन्
कुपोषणका कारण जीवनमरणको दोसाँधमा रहेकी ओममाया मिजारले पनि उपचार पाएकी छिन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नं २ तिनघरेकी ओममाया मिजार पोसिलो खानाको अभावका कारण कडा कुपोषणबाट ग्रसित थिइन् । तीनघरेको अति विपन्न दलित बस्तीमा जन्मिएकी ओममायाको खर्चको अभावका कारण उपचार हुन नसकेको विषयमा अन्नपूर्ण पोस्ट र अन्नपूर्ण अनलाइनमा ‘मृत्युसंघ संघर्ष गर्दै ओममाया’ शीर्षक समाचार प्रकाशित भएपछि उनलाई निःशुल्क उपचार गराउने व्यवस्था मिलेको हो ।
नेपाल युथ फाउन्डेसनद्वारा ललितपुरमा सञ्चालित पोषण गृहले ओममायाको निःशुल्क उपचारको व्यवस्था गरेको हो । फाउन्डेसनले पोषणगृहमा उपचाररत ओममायाको उपचार र आमा मीठु र भाइको खानेबस्नको व्यवस्थासमेत गरेको छ । ओममायाका अन्य रोगको पहिचान एवं उपचारमा पनि सहयोग गरिने र तत्कालका लागि पौष्टिक आहारा प्रदान गरिरहेको फाउन्डेशनले जानकारी दिएको छ । यसैबीच ओहायो स्टेट अमेरिकामा बस्ने जेम्स गजमेर, मनीष राई र जिओल क्षेत्रीले ओममायालाई पौष्टिक आहार खुवाउन एक लाख रुपैयाँ प्रदान गरेका छन् ।