खेती गर्ने जमिन भारतले कब्जा गरिदिँदा

 खेती गर्ने जमिन भारतले कब्जा गरिदिँदा

पुनर्वास (कञ्चनपुर) : ५७ वर्षीय कर्णबहादुर सुनारको जीविकोपार्जनको एउटै माध्यम थियो जमिनमा खेतीपाती गरेर दैनिकी चलाउने । कञ्चनपुरको पुनर्वास नगरपालिका १ फटियामा रहेको डेढ बिगाहा जमिनमा उनले खेतीपाती गर्दै आएका थिए । बसाइँ सरेर पुनर्वास आएदेखि उनले फटियामा रहेको जमिनमा खेती गरेर घरपरिवार चलाउँथे । २०३७ सालदेखि उनले भोगचलन गर्दै आएको जमिनमा पटक-पटक भारतीयले दुःख दिन्थे । तर २०५८ सालदेखि भारतीयले जमिन कब्जा गरेपछि उनले आफ्नो जमिनमा खेती लगाउन पाएका छैनन् ।

पहिलेदेखि नै दुःख दिइरहेका भारतीयले २०५८ सालदेखि भने उनको खेती लाउने जमिन नै कब्जा गरे । डेढ बिगाहा जमिनमा खेतीकिसानी गरेर परिवार पाल्दै आइरहेका कर्णबहादुरले हारगुहार गरे पनि आफ्नो जमिनमा खेती लाउन पाएनन् । 'सुरुमा ऐलानी थियो भारतीयले दुःख दिए पनि खेती लाएकै थिएँ', उनले भने, '२०५९ मा भोगचलन गर्दै आएको जमिनको लालपुर्जा पाइयो । तर खेती लगाउन भने वञ्चित भएँ ।' जमिनको लालपुर्जा पाएदेखि नै उनले भोगचलन गर्न पाएका छैनन् ।

भारतीय वन विभागले उक्त जमिन भारतमा पर्ने भन्दै १५ वर्षदेखि भोगचलन गर्न नदिएको उनको गनासो छ । 'जमिनको लालपुर्जा बोकेर न्यायका लागि धेरै ठाउँ धाएँ', गत साता पुनर्वासमा भेटिएका उनले भने, 'कतैबाट पनि न्याय पाइएन ।'उनले भोगचलन गर्दै आएको जमिनको हरेक वर्ष सरकारलाई सम्पत्ति करसमेत तिर्दै आएका छन् । तर जमिन १५ वर्षदेखि बाँझो छ ।

'बाँझो जमिनमा खेती लाउन पाउने अझै आस छ', उनले भने, 'नेपाल-भारतको सीमा व्यवस्थित नभएकै कारण भारतीयले दुःख दिएका छन् ।' हरेक खेतीपाती लाउने समयमा उनी बाँझो जमिन हेरेर चित्त बुझाउने गरेका छन् । आफ्नै जमिनमा भारतीयले खेती लाउन नदिँदा उनको परिवार दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको छ । 'मैले धेरैपटक स्थानीय प्रशासन, राजनीतिक दल, मानवअधिकारकर्मीलाई गुहारेँ', उनले भने, 'तर अहिलेसम्म जमिन फिर्ताको पहल भएको छैन ।'

नेपाल-भारतका सुरक्षा अधिकारीबीच तीन-तीन महिनामा स्थानीयस्तरमा हुने सीमा बैठकमा स्थानीय  समस्याबारे छलफल हुने गरे पनि निकास भने निस्कन सकेको छैन ।

आफूजस्तै सीमाक्षेत्रका धेरैजसो मानिसले लालपुर्जा भएको जमिनसमेत उपभोग गर्न नपाएको उनले बताए । भारतीय पक्षबाट भोगचलन गरिरहेका किसानको समेत अन्नपात लुटिदिनेसम्मको काम हुने गरेको उनको भनाइ छ । १० कठ्ठा जमिन भएका लालबहादुर विश्वकर्मालाई समेत पटक-पटक जमिनमा खेती नलगाउन उनीहरूले धम्क्याउने गरेका छन् ।

'मैले पनि लालपुर्जा भएको १० कठ्ठा जमिनमा खेती लाउन अवरोधको सामना गर्नुपर्छ', उनले भने, 'एकपटक भारतीयले धान नै लुटेर लगेका थिए ।' समयसमयमा भारतीय पक्षले धम्की दिए पनि आफ्नो जमिनमा खेती लाउन नछाडेको उनले बताए ।

कर्णबहादुर सुनार र लालबहादुर विश्वकर्मा यहाँका प्रतिनिधि मात्र हुन् । भारतसँग सीमा जोडिएको कञ्चनपुरका विभिन्न ठाउँमा बस्ने धेरैको समस्या यस्तै छ । कञ्चनपुरको फटिया, मोतिया, बीसपट्टा, परासन, खड्डालगायत ठाउँमा लालपुर्जा भएको जमिनसमेत जग्गाधनीले उपभोग गर्न पाएका छैनन्।
नेपाल-भारतका सुरक्षा अधिकारीबीच तीन÷तीन महिनामा स्थानीयस्तरमा हुने सीमा बैठकमा यी समस्याबारे कुराकानी भए पनि निकास भने निस्कन नसकेको स्थानीयको भनाइ छ ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.