गोर्खाल्यान्डमा भानुको सम्झना

गोर्खाल्यान्डमा भानुको सम्झना

दार्जिलिङ : दिनको ११ बजे, दार्जिलिङको चौरस्तामा मानवसागर उर्लेको थियो । गोर्खा जनमुक्ति मोर्चाका नेता दावा लामाले भानुको प्रतिमामा माला लगाएपछि गोर्खाल्यान्ड र नेपाली भाषाको पक्षमा लागेका नाराले दार्जिलिङको आकाश थर्कंदै थियो । आदिकवि भानुभक्त आचार्यको १०४औं जयन्तीका अवसरमा चौरस्ता पुगेकी दार्जिलिङकी मोर्चा नेत्री अनिता बस्नेतले सुनाइन्, ‘चौरस्तामा तिल राख्ने ठाउँ थिएन, यसअघि यस्तो भेला देखेकी थिइनँ ।'

भाषा आन्दोलनबाट पहिचानको जनआन्दोलनमा परिणत हुँदै गरेको गोर्खाल्यान्ड आन्दोलनको बेला परेको भानुजयन्तीलाई पनि आन्दोलनकारीले एकता दिवसका रूपमा मनाउने घोषणा गरे । बिहीबार दार्जिलिङको चारै दिशाबाट आएका नेपालीभाषी भारतीयले भानुलाई सम्झेर एकतालाई अझ दह्रो बनाउने प्रण गरेको साहित्यकार विष्णुप्रसाद शर्माले बताए ।

गत वर्षको भानुजयन्तीमा भारतका राष्ट्रपति प्रणव मुखर्जीले भानुभक्तको सालिकमा फूलमाला चढाएर सलाम गरेका थिए । कार्यक्रम बंगाली भाषामा चलेको थियो । यसपटक नेपालीभाषी भारतीय आआफ्ना जातीय पोसाकमा कार्यक्रममा उपस्थित थिए । उनीहरूले भानुभक्तले रामायणमार्फत विविध भाषा बोल्ने नेपालीलाई एउटै भाषामा जोडेको भन्दै सम्मान व्यक्त गरेका थिए ।

गोर्खा जनमुक्ति मोर्चाको विद्यार्थी विभागका प्रवक्ता सन्दिप क्षेत्रीले जातीय भेषभूषामा भेला भएका गोर्खालीले उनको कृतित्वलाई सम्झेर सम्मान व्यक्त गरेको बताए । गोर्खाल्यान्ड मुभमेन्ट कोअर्डिनेसन कमिटीको मंगलबार मिरिकमा सम्पन्न बैठकको निर्णयअनुसार जातीय पहिरनमा उपस्थित गोर्खाल्यान्डका पक्षधरले नेपालीभाषीलाई जोड्ने भानुभक्तलाई सम्झेर गोर्खाल्यान्ड प्राप्तिको अन्तिम यात्रामा लाग्ने प्रण गरेको उनले बताए ।

मोर्चाकी नेत्री अनिता बस्नेतले दार्जिलिङ, खर्साङ, मिरिक, कालेबुङसहितका सबै क्षेत्रमा जातीय पहिरनमा उपस्थित नेपालीभाषी भारतीयले जन्मोत्सव मनाएको बताइन् । लेखक विष्णुप्रसाद शर्मा (विप्रस)ले यसपटक खास भानुका ‘भक्त'हरूले जयन्ती मनाएको बताए । नेपालीभाषी भारतीय भानुलाई साहित्यका सकल तीर्थ मान्छन् । पहिले चौरस्तामा मात्र मनाइने भानुजयन्ती अचेल गाउँसम्म पुगेको छ । विद्यालय, संघसंस्था र साहित्यिक प्रतिष्ठानहरूले उनको सम्झनामा बहस चलाउँछन्, रामायण र उनका अन्य कृतिका श्लोकहरू वाचन हुने गरेका छन् ।

सन् १९५० को दशकमा भानुको सालिक चौरस्तामा ठडिएपछि भानुको पुनर्जन्म भएको साहित्यकारहरू बताउँछन् । रामायणले भाषिक, सांस्कृतिक र सामाजिक एकीकरण गरेकाले पनि उनलाई सम्मान गर्ने गरेको शर्मा बताउँछन् । सिक्किम, आसाम, मणिपुर, नागाल्यान्ड, विजोरम, दिल्लीसहितका गोर्खाहरू बसेको ठाउँमा भानुजयन्ती मनाइएको उनले बताए ।

तीनजनाद्वारा सम्मान फिर्ता

जारी गोर्खाल्यान्ड आन्दोलनको समर्थन र बंगाल सरकारले आन्दोलन दबाउन जारी राखेको दमनको विरोधमा दार्जिलिङका तीनजनाले बंगाल सरकारले प्रदान गरेको सम्मान फिर्ता गरेका छन् । साहित्यकार कृष्णसिंह मोक्तान, संगीतकार कर्म योञ्जन, शिक्षासेवी पर्वत प्रधानले सम्मान फिर्ता गरेको साहित्यकार विष्णुप्रसाद शर्माले जानकारी दिए । मोक्तानले सन् २००४ मा कवि भानुभक्त स्मृति पुरस्कार र सन् २०१४ मा बंगाल रत्न सम्मान पाएका थिए । वरिष्ठ संगीतकार तथा गायक योञ्जनले सन् २०१६ मा संगीत सम्मान र शिक्षासेवी प्रधानले सन् २०१५ मा शिक्षा रत्न सम्मान प्राप्त गरेका थिए । यी तीनैजनाले बंगाल सरकारबाट प्राप्त गरेको सम्मान र पुरस्कार फिर्ता गरेका हुन् ।

भानुको सालिकमा कड्के नजर

नेपाली साहित्य सम्मेलनले निकै मेहनत गरेर चौरस्तामा स्थापना गरेको भानुको अर्ध कदको सालिक २५ वर्षअघि टाउको काटेर बेपत्ता पारिएको थियो । यो घटनाले नेपालीभाषीलाई चोट पुर्‍यायो । दार्जिलिङका साहित्यकार अहिले पनि त्यही सालिक खोजिरहेका छन् । त्यो ठाउँमा पूर्ण कदको सालिक बनेको छ । नेपाली साहित्य सम्मेलनका अध्यक्ष कर्ण थमी भन्छन्, ‘त्यो हाम्रो नासो हो, सरकारले फिर्ता गर्नुपर्छ ।' कर्णका अनुसार सत्ताधारीले भानुको सालिकको टाउको काटिदिएका थिए ।

पहिलेको सालिक सूर्यविक्रम ज्ञवालीको प्रयासमा १७ जुलाई १९४९ निर्माण भएको थियो । उनले मेहनत गरेर आठ÷आड फुटको जग्गा सरकारसँग मागेर सालिक बनाउने चाँजो मिलाएको थामी सम्झन्छन् । त्यहाँ नर्वेली कलाकारले अर्ध कदको सालिक बनाइदिएका थिए । त्यही समयदेखि भानुजयन्ती पर्वकै रूपमा मनाउन थालिएको हो । नेपाली भाषालाई माया गर्नेहरूका लागि चौरस्ता तीर्थजस्तै बन्न थाल्यो । आञ्चलिक सरकारले १० जुलाई १९९२ मा सालिकको शिर छेदन गरेको हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.