कम्युनिस्ट पार्टीको सम्मेलन सुरु हँदै
बेइजिङ: चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन (कंग्रेस) बुधबार बिहान शुरु हुने भएको छ। उक्त सम्मेलन बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा शुरु हुने तय भएको जनाइएको छ। सिन्ह्वाका अनुसार सम्मेलनको सबै तयारी पूरा भएको छ। ग्रेट हल अफ दि पिपुल विशेष रूपमा सिंगारेर अति आकर्षक बनाइएको छ।
सम्मेलनको उद्घाटन सत्रको चाइना नेशनल रेडियो, चाइना सेन्ट्रल टेलिभिजन र चाइना रेडियो इन्टरनेशनलले प्रत्यक्ष प्रशारण गर्ने भएका छन्। कंग्रेसमा सहभागिताका लागि चीनका विभिन्न भागबाट जम्मा २ हजार २ सय ८७ जना प्रतिनिधि छानिएका छन्।
उनीहरूमध्ये अधिकांश बेइजिङ आइपुगिसकेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको नेशनल काँग्रेस हरेक पाँच वर्षमा बस्नेगर्छ। नेशनल कंग्रेस चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च निकाय हो।
यसलाई पार्टीको एक महत्वपूर्ण एवं शक्तिशाली अंगका रूपमा लिने गरिन्छ।यसले आगामी पाँच वर्षका लागि कम्युनिस्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले आगामी पाँच वर्षमा गर्नुपर्ने कामहरूको योजना पनि पारित गर्ने गर्दछ। रासस/सिन्ह्वा