'कांग्रेस नेतामाथिका मुद्दा ब्यूँताउँछौं'
काठमाडौं : माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले नेता बालकृष्ण ढुंगेललाई पक्राउ गरेर सरकारले निर्वाचन भाँड्ने षड्यन्त्र गरेको आरोप लगाएको छ ।
वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुवोधराज श्रीपाइलीले मंगलबार विज्ञप्ति जारी गर्दै ढुंगेललाई रिहाइ नगरिए ७७ वटै जिल्लाबाट कांग्रेस र राप्रपाका नेतामाथि लागेका द्वन्द्वकालीन मुद्दा ब्यूँताएर मुद्दा चलाउने चेतावनी दिएका छन् ।
संगठनका जिल्ला समितिलाई त्यस्ता मुद्दा ब्यूँताएर कांग्रेस, राप्रपाका नेतालाई मुद्दा दायर गर्न वाईसीएलले निर्देशन दिएको छ । उसले ढुंगेल प्रकरणलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत हेर्न आग्रह गरेको छ ।
‘द्वन्द्वकालका गम्भीर घटनामा सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत हेरिने भन्ने वृहत शान्ति सम्झौताको उल्लंघन मात्रै होइन, देश निर्वाचनमा होमिरहँदा निर्वाचन भाँड्ने षड्यन्त्र हो,’ वाईसीएलले भनेको छ, ‘आयोगमार्फत हल गर्न र तुरुन्त रिहाइ गर्न आग्रह गर्छौं ।’ अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङले पनि ढुंगेललाई रिहा नगरे क्रान्तिकारी विद्यार्थी प्रतिरोधमा उत्रने बताएका छन् ।