निर्वाचन आचारसंहिता उल्लंघन बढ्यो

निर्वाचन आचारसंहिता उल्लंघन बढ्यो

विराटनगर : मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा मोरङमा आचारसंहिता उल्लंघनका घटना पनि बढेका छन्। आचारसंहिता उल्लंघन गर्दै भोट फकाउन उम्मेदवारबीच प्रतिस्पर्धा नै देखिन थालेको छ। उम्मेदवारहरू अहिले मतदाता प्रभावित पार्ने गतिविधिमा सक्रिय छन्।

 

दलका नेता र उम्मेदवारले कर्मचारी प्रयोग गरी आचारसंहिता उल्लंघन गरेका छन्। निर्वाचन कार्यालयका अनुसार आचारसंहिता उल्लंघन गर्नेमा सबैभन्दा ठूलो दल कांग्रेस अघि देखिएको छ। कांग्रेसले आचारसंहिता उल्लंघन गरेका आधा दर्जन उजुरी क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा परेका छन्। कार्यालयका अनुसार केही साना दलले पनि आचारसंहिता उल्लंघन गरेको उजुरी परेका छन्। आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेस मोरङका सभापति एवं निवर्तमान सांसद डिगबहादुर लिम्बूविरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ।

मिक्लाजुङ गाउँपालिका १ स्थित टाँडी माविका विद्यार्थीलाई निर्वाचन आचारसंहिताविपरीत सोलार प्यानल वितरण गरेको भन्दै उजुरी परेको हो। जिल्ला समन्वय समितिका कर्मचारीसहित लिम्बूले सोमबार विद्यार्थीलाई सोलार प्यानल वितरण गरेका थिए। मिक्लाजुङ मोरङको निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ। लिम्बू यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने तयारीमा छन्। क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा पार्टीका जिम्मेवार व्यक्तिले निर्वाचनलाई प्रभाव पार्ने गरी सोलार प्यानल वितरण गरेको भन्दै उजुरी परेपछि आयोगले छानबिन सुरु गरेको जानकारी दिए। निर्वाचन कार्यालयले मंगलबार कांग्रेस मोरङलाई पत्र काटेर सजग गराउँदै यस विषयमा आधिकारिक जवाफ पेस गर्न निर्देशन दिएको छ।

कक्षा ९ र १० का ५० जना विद्यार्थीलाई सोलार प्यानल र बत्ती वितरण गरिएको हो। सरकारको वैकल्पिक ऊर्जाको उज्यालो कार्यक्रमअन्तर्गत आदिवासी, जनजाति, दलित तथा अति विपन्न विद्यार्थीका लागि सोलार वितरण गरिए पनि निर्वाचनका मुखमा दलका नेतालाई लगेर वितरण गरिएको भन्दै अन्य दलले आपत्ति जनाएका छन्। सोलार वितरण कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका ऊर्जा अधिकृत ज्ञानेन्द्रसिंह तथा इन्जिनियर प्रकाश गुप्तासमेत पुगेका थिए। कर्मचारी भएर पनि दलसँग मिलेर निर्वाचन आचारसहिंता उल्लंघन गरेको भन्दै जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले स्थानीय विकास अधिकारी सोभाखर रेग्मीलाई सिंह र गुप्तामाथि कारबाही सुरु गर्न निर्देशन दिएको बताए।

दुवै जनामाथि कारबाही गर्नका लागि घटनाबारे छानबिन सुरु गरिएको जिल्ला समन्वय समितिले जनाएको छ। निर्वाचन कार्यालयले समेत दुवै जना कर्मचारीमाथि कारबाही अघि बढाउन समितिलाई निर्देशन दिएको छ। ‘कर्मचारीले आचारसंहिता पालना गर्नुपर्नेमा नेता लगेर सोलार प्यानल वितरण गरेको पाइयो,' सञ्जेलले भने, ‘उनीहरूमाथि छानबिन गरी कारबाही अघि बढाउन निर्देशन दिइसकिएको छ।' कांग्रेस सभापति लिम्बूले भने पार्टीको कार्यक्रममा मिक्लाजुङ जाने क्रममा स्कुलको कार्यक्रममा आएर सोलार वितरण गर्न आग्रह गरिएपछि आफू त्यहाँ पुगेको स्विकारे।

‘विद्यार्थीलाई सोलार वितरण गर्दैमा कसरी आचारसंहिता उल्लंघन हुन्छ, निर्वाचन कार्यालयका प्रमुख सञ्जेलका अनुसार ठाउँ-ठाउँमा आचारसंहिता उल्लंघन गरेर राखिएका ठुल्ठूला होर्डिङ बोर्ड र ब्यानर प्रहरी लगाएर हटाउन सुरु गरिएको बताए। ‘मतदाता र निर्वाचनलाई नै प्रभाव पार्ने गरी ठाउँठाउँमा उम्मेदवार र सम्भावित उम्मेदवारको फोटो राखेर ठुल्ठूला होर्डिङ बोर्ड र ब्यानर राखिएका रहेछन्,' उनले भने, ‘यो आचारसंहिताविपरीत रहेका कारण प्रहरी लगाएर हटाउन थालिएको छ।'

सबै दललाई आचारसंहिता उल्लंघनको घटनामा निर्वाचन आयोग चुप लागेर नबस्ने चेतावनी दिइसकिएको बताउँदै सञ्जेलले भने, ‘जुनसुकै दल र नेताले आचारसंहिता उल्लंघन गरे पनि छाडिने छैन।' दलहरू आफंैले बनाएको आचारसंहिता दलले नै उल्लंघन गर्नु दुःखद रहेको उनको भनाइ छ। उनले आचारसंहिता उल्लंघन गर्नेलाई एक लाख रुपैयाँ जरिवाना र ६ वर्षसम्म कुनै पदमा उठ्न प्रतिबन्ध लगाउने र उम्मेदवारी नै बदर गर्ने सम्मको कारबाही हुने जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.