कांग्रेस बागी फकाउनमै व्यस्त, बाम प्रचारमा !
कपिलवस्तु : भारतीय राजदुतबाट राजीनामा दिएर कपिलवस्तु प्रतिनिधिसभा १ बाट बिहीबार मनोनयन दर्ता गराएका दीपकुमार उपाध्याय अहिले बागी उम्मेदवार फकाउन व्यस्त छन्। विहिबार मनोनयन दर्ता गर्दा बिहानसम्म उपाध्यायविरुद्ध बागी उठ्ने कसैको चर्चा थिएन तर एकाएक कांग्रेसका महासमिति सदस्य समेत रहेका दुर्गा सेनले उनीविरुद्ध बागी उम्मेद्वारी दिए।
यहि क्षेत्रको प्रदेशसभा १ मा चुनाव लड्ने तयारीमा रहेका सेन एकाएक उपाध्याय विरुद्ध खनिएका छन्। आफूले पाउने टिकट उपाध्यायले काटेको भन्दै उनीविरुद्ध सेनले बागी उम्मेद्वारी दिएका हुन्। निर्वाचन कार्यसूची अनुसार आइतबार उम्मेद्वारी फिर्ता गर्ने समय हो। सेनको उम्मेदवारी फिर्ता गराउन अहिले उपाध्याय व्यस्त छन्।
बामपन्थी गठबन्धनका उम्मेदवार चुनाव केन्द्रित अभियानमा लागिसके पनि कांग्रेस कपिलवस्तुलाई भने बागी उम्मेदवार फकाउनमै समय बितेको छ। सेन जस्तै जिल्लाबाट बिहीबार कांग्रेसका ७ जना नेताले बागी उम्मेद्धवारी दिएका छन्। मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा टिकट वितरणमा असन्तुष्ट कांग्रेस नेताले बागी उम्मेद्धवारी मनोनयन दर्ता गराएका हुन्।
बागी उम्मेद्वारी दिने देउवा र रामचन्द्र दुवै गुटका छन्। शिर्ष नेताले आफू चुनाव जित्नकै लागि इमान्दार कार्यकर्तालाई पाखा लगाई धन, डन र जातीलाई उचालेर टिकट दिएको बागी उम्मेदवारको आरोप छ।
अन्तिम समयमा आफ्नो नाम प्रदेशसभा उम्मेद्धवारबाट हटाइएपछि आक्रोशित बनेका क्षेत्र नं. ३ का सभापति अकिल मियाँले ३ को (१) मा स्वतन्त्रबाट प्रदेश उम्मेद्धवारी दिएका छन्। त्यहाँ एक महिनाअघि मात्र राप्रपाबाट कांग्रेस पसेका अजय थापालाई कांग्रेसले टिकट दिएको छ। प्रदेश ३ को (२) मा टिकट पाउने ग्यारेन्टी सहित कांग्रेस प्रवेश गरेका जानकी यादवले पनि टिकट नपाएपछि ३ को (२) मा बागी उम्मेद्धवारी दिएका छन्।
नेपाली कांग्रेसका पूर्व उपसभापति तथा महासमिति सदस्य राजु प्रसाद अर्यालले पनि २ को (२) बाट प्रदेशसभामा स्वतन्त्र उम्मेद्धवारी मनोनयन दर्ता गराएका छन्। पटक–पटक उम्मेद्धवार बनेर पराजित सुधारक पाण्डेलाई उम्मेद्धवार बनाएको भन्दै असन्तुष्ट बनेका अर्यालले बागी उम्मेद्धवारी दिएका हुन। ‘पाण्डेलाई कांग्रेस सभापति सुरेन्द्रराज आचार्यले जर्बजस्ती टिकट दिएपछि आफूले कार्यकर्ताको माग र दबाब अनुसार उम्मेद्धवारी दिएको हुँ' उनले भने।
यसै गरि २ को प्रतिनिधिसभामा तरुण दलका केन्द्रीय सदस्य लोकन्द्र खाँडले पनि स्वतन्त्र उम्मेद्धवारी मनोनयन दर्ता गराएका छन्। अन्तिम समयमा प्रतिनिधिसभा २ को (१) प्रदेशसभा टिकट जवाहर थारुलाई दिएपछि असन्तुष्ट बनेका खाँडले त्यहाका कांग्रेस उम्मेद्धवार तथा सभापति सुरेन्द्र आचार्यविरुद्ध दलबलका साथ उम्मेद्धवारी मनोनयन दर्ता गराएका हुन्।
प्रदेशसभा १ को २ मा पनि कांग्रेसले देउवा पक्षका राजेश आचार्यलाई उम्मेद्धवार बनाएपछि त्यस क्षेत्रका युवा नेता अमित पाण्डेले स्वतन्त्र उम्मेद्धवारी मनोनयन गराएका छन्। कांग्रेसमा ७ जना विरुद्ध बागी उम्मेद्धवारी परेपछि कपिलवस्तु कांग्रेसका उम्मेद्धवार तथा कार्यकर्ताहरु चिन्तित बनेका छन्। बाम गठबन्धनले चुनौती थपेको अवस्थामा टिकट नपाएर असन्तुष्ट बनेकाहरुले धमाधम उम्मेद्धवारी दिएपछि कांग्रेस कपिलवस्तुका सबै क्षेत्रमा जित हात पार्न सकस देखिएको छ।
नेविसंघका सहमहामन्त्री तथा कांग्रेस कपिलवस्तुका सदस्य प्रकाश घिमिरेले लोकतन्त्रनै धरापमा परेको बेला पार्टी एक ढिक्का भएर अगाडी जानुपर्ने बताउँछन। पार्टीमा सबैको त्याग, तपस्या र बलिदान भएको भन्दै असन्तुष्टलाई मिलाएर उम्मेद्धवारी फिर्ता लिन आवश्यक पहल भइरहेको घिमिरेले बताए। आइतबारसम्म स्वतन्त्र उम्मेदवारी दिएका नेताहरुलाई सहमतिमा ल्याइने उनले दाबी गरे।
एमालेको एउटा प्रदेशसभामा बागी
एमालेको तर्फवाट क्षेत्र नं १ को प्रदेश सभा २ मा उम्मेदवार बनेका फैजल खाको विरुद्ध एमालेका जिल्ला नेता अजिजुर रहमान शेष र हालै एमाले प्रबेश गरेका इशरार अहमद खाँ ले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनीहरुलाई पनि आइतबारसम्म मनाउने गरी एमाले जिल्ला नेता लागिपरेका छन। जिल्ला अध्यक्ष झविलाल पोख्रेलले उनीहरुलाई पार्टीले चिक्त बुझाएर समस्या सुल्झाउने बताए।