अमरको कविता, श्रवणको टिप्पणी
चटामरी
- डा. अमर गिरी
जब ऐँठन अनुभव हुन्छ
अत्यासलाग्दो यस सहरमा
सुटुक्क निस्कन्छु म
चटामरी खान
कुनै नेवारी खाजाघरमा।
जसरी गोपाल दाइ
चिया र सिगरेट पिउँछ
जसरी जग्गु चौधरी
सुर्ती मल्छ र खान्छ
जसरी प्रत्येक साँझजसो
हीरा भाइ
निस्कन्छ गाउँ बस्न
त्यस्तै नेवारी खाजाघर र चटामरी
एक आदतजस्तो
भइसकेको छ मेरानिम्ति।
खाजाघरमा पस्नुभन्दा पहिले
बाहिरै
हावासँग मिसिएर आइपुगेको
चटामरीको सुगन्ध
मीठो लाग्छ
आफ्नै बारीमा फुलेको
गुलाफको सुगन्धझैँ
बिल्कुल मौलिक
अकृत्रिम, आह्लादक।
चटामरीको सुगन्ध सँगसँगै
अनुभव हुन्छ
अगाडि खुला छ
मेरो इतिहासको प्राचीन पृष्ठ
मेरो सभ्यताको एक ऊध्र्वगामी सिँढी
मेरो संस्कृतिको एक इन्दे्रणी फूलबारी
अनुभव हुन्छ
खाजाघरमा होइन
म पसेको छु
परिकारहरूको सुन्दर संग्रहालयमा
जसको निर्माणमा
नजाने कति पसिना बगाएका थिए
मेरो पुर्खाले
कति रात बसेका थिए जाग्राम
बिरामी परेका थिए कति आमाहरू
नजाने कति दुःख सहेका थिए तिनले।
आफ्नो सुगन्ध हराउँदै गएको यस सहरमा
जब मलाई
आवश्यकता अनुभव हुन्छ आफ्नो सुगन्धको
र लाग्छ
आफ्नै बिनाको सुगन्ध थाहा नपाउने
कस्तुरी हुँदै गइरहेछु म
म निस्कन्छु चटामरी खान
चटामरी र पसल्नी भाउजूको निष्कपट हाँसो
खाएर प्रस्थान गर्छु म घरतिर
लाग्छ
म आफ्नै भान्छाकोठाबाट निस्किरहेछु
र अन्त कतै लाग्दैछु
लाग्छ मेरो शरीरबाट
बहिरहेछ आफ्नै सुगन्ध
र सुगन्धित भइरहेछ त्यसबाट
सिंगो देश।
यस ग्लोबल दुनियाँमा
सत्तारूढ कुनै ठूलो मानिसले होइन
कुनै कर्पोरेट बुद्धिजीवी
कुनै एलिट नागरिकले होइन
मलाई बचाउनेछन् चटामरी र सामान्य मानिसले
मेरो सुगन्ध
तिनकै प्रतिरोधले
राख्नेछ सुरक्षित।
असरदार आग्रह
- श्रवण मुकारुङ
अमर गिरी कविता लेख्नुअघि के लेख्ने र कसरी लेख्ने ? भन्ने बारेमा असाध्यै सचेतता अपनाउने कवि हुन्। किनभने यिनी समालोचक पनि हुन्। अझ यिनी माक्र्सवादी विचारक हुन्। त्यसैले यिनका कुनै पनि रचनालाई पाठकले पढ्नुअघि यही दार्शनिक आधारबाट प्रवेश गरे हुन्छ। यिनको जीवनदृष्टि, विश्व दृष्टिको आधारभूमि माक्र्सवाद हो। यति बुझेपछि यिनको ‘चटामरी’ कवितालाई अर्थ्याउन गाह्रो हुन्न। किनभने अमर गिरी असाध्यै सरल शैलीद्वारा आफ्ना गहन विचार वा आग्रहहरू प्रक्षेपण गर्न चाहने कवि हुन्।
कुनै पनि कविताको विशिष्टता उक्त कविताले सम्बोधन गरेको समय वा कालखण्डको मापनले गर्छ। यो कविता ६० को दशकमा लेखिएको हो। ६० को दशक नेपालको राजनीतिले एउटा फड्को मारेको समय हो। २०६२÷६३ को जनआन्दोलनमा मुखरित जनभावना अर्थात् राजनीतिक सांस्कृतिक चेतनाको गुदी (केन्द्र)लाई यो कविताले सम्बोधन गरेकैले यो कविता नेपाली काव्यजगत्मा स्मरणीय र अमर गिरीको प्रतिनिधि कविता बन्न पुग्यो। यद्यपि यिनका अरू कविता पनि उत्तिकै महत्वपूर्ण छन्। पहिचान, अस्तित्व वा अधिकार जे भन्नुस्; परिवर्तनको नाममा नेपाली जनताले खोजेको एउटा साझा स्वप्नको प्रतिविम्ब यो कविताको भाव हो।
भूमण्डलीकरणका कारण विश्वका साना राष्ट्र, जाति, समुदायले मात्रै असुरक्षित महसुस गरेका छैनन्; एसिया अर्थात् सम्पूर्ण पूर्वीय ज्ञान नै सर्वाल्टनजस्तो भएको अवस्था हो आज। यस्तो विश्व परिदृश्यमा कविले नेवार समुदायको मौलिक सीप, सौन्दर्य र ज्ञानको विम्ब चटामरीलाई कविता बनाई नवउदारवाद (पुँजीवादी संस्कृति)को विरोध मात्रै गरेका होइनन्, नेपालको राजधानी काठमाडौंका रैथाने समुदाय नेवारहरू, जो आफ्नै देशका विभिन्न भागबाट आएका अन्य जाति र समुदायबाट पनि विस्थापित र संक्रमित भइरहेका छन् भन्ने सन्देश दिन तिनका पक्षमा पनि यो कविता लेखिएको हो।
कुनै पनि पर्फेक्ट कविता हो भने समयअनुसार त्यसको अर्थ विस्तार हुँदै जान्छ भन्ने मलाई लाग्छ। कवि स्वयं र कुनै पाठकले देखेको दुनियाँ मात्रैमा त्यो कविताको अर्थ सीमित हुँदैन। अनन्त सम्भावनाहरू रहन्छन्। त्यसैले यस कवितालाई यति मात्र हो भनेँ भने मेरो भनाइ अपूर्ण हुनेछ।
कविलाई मान्नुपर्ने कारणहरूमध्ये एउटा कारण उसले दुनियाँलाई नयाँ भाषा दिन्छ। अमर गिरी वा उनीपछिका पुस्ता अथवा रिमाल, भूपि, बैरागी र मोहन कोइराला पछिको पुस्तालाई लाग्ने आरोप भनेकै शिल्प पक्ष कमजोर भयो भन्ने नै हो। प्रत्येक कविले आफ्नो काव्यको भाषा (शैली) त बनाएकै हुन्छ। यद्यपि त्यो कत्तिको विशिष्ट र प्रभावकारी भयो भन्ने प्रश्न आज हाम्रो लागि चुनौतीको विषय बनेको छ। अमर गिरी आफैं समालोचक भएका कारण यस विषयमा यिनी अत्यन्तै सचेत छन्। साहित्य पनि आमजनताका लागि नै हो भन्ने आदर्श बोकेका यिनी आफ्नो कविताको भाषा सरल हुनुपर्छ भन्ने धारणा राख्छन्। तर, त्यो सरलता आममानिसको भाषाको सरलता नभएर काव्य निर्माणमा प्रयोग गरिने जुक्तिको सरलता हो।
त्यसैले यिनका कवितामा विम्ब, प्रतीक र मिथकहरूको थुप्रो हुँदैनन्, जसले पाठकलाई अनावश्यक बोझ थपोस्। त्यस्तै यिनका कवितामा अनावश्यक हल्ला, चिच्याहट र आक्रोश पनि हुँदैनन्। संगीतका भाषामा भन्ने हो भने अमर गिरी मध्य सप्तकका गायक हुन्। जस्तो, चटामरी कविताको लय मधुर, गम्भीर र असरदार छ। प्रगतिवादी कला साहित्यका पक्षपाती यी कविको अधिकांश कविताको अन्तध्र्वनि एउटै हुने हुनाले चलायमान पाठकलाई कहिलेकाहीँ मोनोटोनस हुने सम्भावना भने रहिरहन्छ।