राजमार्गबाट हट्दै सिटी सफारी

राजमार्गबाट हट्दै सिटी सफारी

विराटनगर : विराटनगर महानगरपालिका-१९ का देवनारायण साहले दुई वर्षअघि सिटी रिक्सा (सफारी) खरिद गरे। ठेला गुडाएर कमाएको डेढ लाख रुपैयाँमा एक लाख ऋण थपेर इटहरी गई सिटी रिक्सा खरिद गरेको डेढ वर्षमा उनले ऋण उकासे। अहिले रिक्सा आफ्नै नाममा भएको छ। दैनिक कमाइ हुने रकम उनको चोखो आम्दानी हो।

‘थोरै कमाइ हुँदा पनि आठ सय त भइहाल्छ', साह भन्छन्। तीन छोरी र एक छोरीको पढाइ-लेखाइ अनि भरणपोषण गर्न ठेलाको कमाइ उनलाई पुग्दो थिएन। मिल्स एरियाको कपडा उद्योग बन्द भएसँगै साहको रोजगारी खोसिएको थियो। ‘जागिर गएपछि निकै अन्योल भएको थियो, परिवार कसरी चलाउने भन्ने पीर थियो', उनी भन्छन्, ‘ठेला चलाउन सुरु गरें तर कमाइ थोरै हुन्थ्यो।'

विराटनगर कोचाखालका सुनीलकुमार साह पनि सिटी रिक्सा चालक हुन्। उनले पनि रिक्सा गुडाएर राम्रो आम्दानी गर्छन्। भन्छन्, ‘सिटी रिक्सा हामी गरिबका लागि श्रम गरेर कमाइ गर्ने राम्रो आधार बनेको छ।'

थोरै लगानीमा सुरु गर्न सकिने सिटी रिक्साको व्यवसाय राम्रो भए पनि पूर्वका सहरहरूमा यसको संख्या बढ्न थालेपछि व्यवस्थापनमा कठिनाइ देखिएको छ। यसबाट रिक्सा चालक, प्रशासन र प्रहरीलाई पनि सास्ती हुन थालेको छ। साविक कोसी अञ्चल कार्यालयमा टेम्पो र सिटी रिक्सासहित १० हजार चार सय २६ वटा दर्ता भएको तथ्यांक छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका अनुसार महानगर क्षेत्रमा मात्र दुई हजार पाँच सय सिटी रिक्सा चल्छन्। तिनका लागि १८ वटा रुट छन्। महानगरपालिकाले पाँच सयभन्दा धेरै सिटी रिक्सा सडकको क्षमताले नथेग्ने जनाए पनि यसको बिक्री र सञ्चालन भइरहँदा संख्या बढ्दै गएको हो।

प्रदेश नम्बर १ का राजमार्ग र सहायक मार्गमा शुक्रबारदेखि सिटी सफारी सञ्चालनमा रोक लागेको छ। यातायात व्यवस्था विभागले परिपत्र गरी सिटी रिक्सा व्यवस्थापनमा नयाँ ढंगले अघि बढ्न निर्देशन दिएसँगै यातायात कार्यालय, स्थानीय तह र प्रहरीले सक्रियता बढाएका हुन्।

‘सिटी रिक्साको दर्ता, चालकलाई लाइसेन्स, गुड्ने रुट र मुख्य राजमार्गमा दौडन प्रतिबन्धजस्ता विषय कार्यान्वयन गर्न विभागले चासो दिएको छ', यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुख चन्द्र फुयाँलले भने, ‘तर, यो विषयमा सर्वपक्षीय छलफल तथा निर्णयबाट मात्र अघि बढ्न सकिने भएकाले हामीले पनि क्षेत्रीयस्तरमा पहल लिएका छौं।' पेसा÷व्यवसाय रोजेर गरिखान पाउने नागरिकको अधिकारलाई संरक्षण गर्दै सडकको क्षमता तथा अवस्थिति हेरी रिक्साको व्यवस्थापन गर्नुपर्ने पक्षमा जोड रहेको उनले सुनाए।

प्रदेश प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायको निर्देशनमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले राजमार्गमा सफारी सञ्चालनमा कडाइ सुरु गरेसँगै व्यवसायीले व्यवसाय गर्ने अधिकारको संरक्षणका लागि ध्यानाकर्षण गराएका छन्। पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको निर्देशनमा सिटी सफारी राजमार्ग र सहायक मार्गमा सञ्चालन गर्न नपाउने नियम बनाएको जानकारी दिए। नियम कार्यान्वयनका लागि पहल थालिएको उनको भनाइ छ।

‘सिटी सफारीलाई भित्री बाटोको रुट परमिट दिइएको छ', उनले भने, ‘त्यहीअनुसार सञ्चालन गर्नुपर्छ।' फुयाँलका अनुसार सुविधासँगै रोजगारी सिर्जना भए पनि अब कुन-कुन ठाउँमा कति थेग्छ भन्ने विषयमा निर्णय गरी व्यवस्थापन नगर्ने हो भने जटिल समस्या आउन सक्छ।

एसपी लम्सालले राजमार्गमा सिटी सफारी सञ्चालन गर्न नपाउने विषयमा सम्बन्धित पक्षसँग पनि छलफल गरिसकेको जानकारी दिए। ‘सफारी राजमार्गमा चलाउन नदिने प्रयास यसअघि पनि भएको थियो', उनले भने, ‘तर, सफल हुन सकिरहेको थिएन।' बहानाबाजी गरेर राजमार्गमा सफारी चलाउन खोज्नेलाई अब त्यत्तिकै नछोड्ने चेतावनी उनले दिए। रुट परमिटअनुसार सिटी नचलाउँदा दुर्घटना बढी हुने, ट्राफिक नियम उल्लंघन, भीडभाड, जाम हुनेलगायत समस्या रहेका कारण सञ्चालनमा कडाइ गरिएको उनले बताए।

सिटी चालकलाई अहिलेसम्म यातायात कार्यालयले सवारी चालक अनुमतिपत्र पनि उपलब्ध गराउन सकेको छैन। सुरुमा वातावरणमैत्री, कम प्रदूषण गर्ने अनि आउजाउमा सहज हुने भन्दै वाहवाही कमाएको सिटी सफारी ठूला सहरका व्यस्त ठाउँमा भने घाँडो हुन थालेको छ।

रिक्सा चालक र प्रहरीबीच झडप

इटहरी : राजमार्गमा गुडाउन प्रतिबन्ध लगाएको विरोधमा उत्रिएका विद्युतीय रिक्सा (सिटी सफारी) चालक र प्रहरीबीच झडप भएको छ। झडपमा ६ राउन्ड अ श्रुग्यास प्रहार गरेको इटहरी इलाका प्रहरी प्रमुख डीएसपी सञ्जय राउतले जानकारी दिए।

रिक्सा दर्ता गर्दा अनुमति पाएको रुटमा मात्र चलाउन दिने निर्णयको विरोधमा इटहरी चोकमा सफारी तेस्र्याएर जाम गर्न खोज्दा प्रहरीसँग झडप परेको थियो। झडपका क्रममा चालकले ढुंगा र इँटा प्रहार गरेका थिए भने प्रहरीले अ श्रुग्यास प्रहार गरेको थियो।

प्रहरी हस्तक्षेपपछि रिक्सा चालक तितरबितर भएका थिए। झडपमा प्रहरी र चालक कोही पनि घाइते नभएको बताइएको छ। यस्ता रिक्सा दर्ता गर्दा मुख्य राजमार्गबाहेकका रुट तोकिएको थियो। त्यसको विरोधमा रिक्सा चालक इटहरी चोकमा केन्द्रित भएका थिए। प्रहरीले शुक्रबारदेखि यस्ता रिक्सा राजमार्गमा चलाउन रोक लगाएको छ। तोकिएका भित्री सडकमा मात्र रिक्सा चलाउन पाइने पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख राजकुमार लम्सालले बताए। उनका अनुसार यो नियम कतै लागू भइसकेको भने कतै लागू हुने क्रममा छ।

सिटी रिक्सालाई राजमार्गमा प्रवेश गर्न नदिन इटहरीका ठाउँ-ठाउँमा प्रहरी खटिएका छन्। प्रतिबन्धको विरोधमा चालकले बिहीबार इटहरी चोकमा सवारी अवरोध गरे पनि प्रहरीले खुलाएको थियो। यसअघि यस्तो निर्णय भए पनि व्यवसायीको आन्दोलनका कारण प्रहरी-प्रशासन पछि हट्न बाध्य भएको थियो। यसपटक भने जसरी पनि निर्णय कार्यान्वयन गरेरै छाड्ने लम्सालले बताए। इटहरीमा तीन हजारभन्दा बढी सिटी रिक्सा सञ्चालनमा छन्। कतिपय दर्ता भएका छन् भने कतिपय बिनादर्ता गुडिरहेका छन्। ट्राफिकले यसअघि नै रिक्साको लाइसेन्स र कागजपत्र जाँच सुरु गरिसकेको थियो।

चालक यसपटक भने हच्केका छन्। ‘रोडमा निस्किँदा गोली चलाउनेसम्मको आदेश दिने धम्की सीडीओले दिनुभयो', रिक्सा चालक प्रेम लामाले भने, ‘चुनावअघिसम्म हाम्रो पक्षमा हुनुभएका इटहरीका मेयर सा'बलाई भेट्नै सकिरहेको छैन।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.