टाइम क्याप्सुल
गाडीबाट ओर्लेका यात्रुहरू सिद्धबाबा मन्दिरको सिँढी चढ्दै गर्दा म भने छेवैको रामापिथेकस् बाबाको फोसिल भेटिएको स्थल पुग्न सिँढी ओर्लंदै थिए। रामापिथेकस्लाई बाबा पनि के भन्नु ? बराजु भनौँ कि ? बराजुले पनि नभ्याउला। समयको तराजुमा बराजु पनि उपयुक्त देखिन्न। रामापिथेकस्को दाँत एघार मिलियन वर्ष पुरानो भएको कार्बन डेटिङ्ले छिनोफानो गरिदिएपछि बरु पूर्वज भन्नु उपयुक्त होला। आखिर नेपालीको सरदर आयु ७० वर्ष गणना गर्दा, त्यो रामापिथेकस् करिब एक लाख ५७ हजार पुस्ता अघिको पर्न आउँछ।
भीड किन मन्दिरतिर आकर्षित हुन्छ ? यो भौतिक विज्ञानभन्दा पनि सामूहिक मनोविज्ञानको विषय हो। सायद मनोविज्ञान जत्तिकै इभलुसनरी बायोलजीको विषय पनि। यद्यपि त्यतातिर हाम्रो ध्यान बिरलै गएको छ। आश्चर्य भएन, मान्छेले देवीदेउता, बाबाहरूको मन्दिर अग्लो स्थानमै बनाउँछन्। मान्छेको सहज ज्ञानमा जम्मै ईश्वरहरू स्वर्गमा बस्छन्। र, स्वर्गको आसन जहिल्यै माथि हुन्छ। तर, रामापिथेकस्लगायतका प्रिह्युमन सूत्रबद्ध माथि बस्दैनन्। प्राकृतिक कारणकै अधिनमा उनीहरू कहिले अफ्रिकाको सभानामा बस्छन्। कहिले पेकिङको गुफामा। कहिले इन्डोनेसियाको जाभा द्विपमा। कहिले नेपालको बुटवल छेउ चुरेमा। प्राणीहरू बाँच्न र सन्तानोत्पादनको निम्ति उपयुक्त बासस्थान खोज्छन्। झन्डै सवा करोड वर्षअघि रामापिथेकस्हरू अहिलेको तिनाउ जलाधारमा कस्तरी बसे होलान् ? कति संख्यामा थिए होलान् ? कहाँबाट आएका हुँदा हुन् ? के तिनीहरू लोपै भएका हुन् ? लोप हुनाका कारणहरू के थिए ? प्रश्नहरू झुत्ती खेल्न आइपुग्छ। फोसिलको रूपमा दाँत भेटिएपछि त्यो हड्डीको कुरूप थुप्रोमात्र रहेन, बरु ११ मिलियन वर्षको इतिहास बोकेको टाइम क्याप्सुल बन्यो।
रामापिथेकस्बाट होमोसापियन्ससम्म आइपुग्दा मध्यतिर एउटा प्रष्ट कडी देखिन्छ। होमोइरेक्टस्। नामैले केही भन्छ। इतिहासमै होमोइरेक्टस् पहिलो पटक हजारौं, लाखौं वर्षको प्रयासपछि पछिल्लो दुई खुट्टाको भरमा उभियो।
सिँढी ओर्लने म एक्लो थिइनँ। केही युवाहरू पनि थिए। क्याम्पसका विद्यार्थीजस्ता। मृत्युपछि वैतरणी तर्नेभन्दा आफ्नो प्रजातिको उद्भवप्रति जिज्ञासु। सिद्धबाबा मन्दिर र रामापिथेकस् उत्खननस्थल दुई भिन्न दर्शनस्थलमात्र थिएनन्। दुई विपरीत दृष्टिकोण पनि थियो। सिद्धबाबा दैविशक्तिलाई आम मान्छेको मस्तिष्कमा स्थापित गर्न लागिपरेका धार्मिक संस्था थिए भने, रामापिथेकस् प्रकृतिको अनेकौं शक्तिहरूको अन्तरक्रिया माझबाट उद्भव भई प्राकृतिक कारणले नै लोप भएका होमोसापियन्सका पूर्वज थिए।
फर्कंदा सिद्धबाबा मन्दिरको घन्टीहरूको टिङ्टिङ् ध्वनि तिनाउ जलाधारभरि फैलिएको थियो। भक्तालुले छाडेका सहस्रौं परेवाहरू चट्टानी पहरा माथि उडेका देखिन्थे। घन्टीको श्रुतिमधुरतम् ध्वनिमा परेवाका फ्लाइट आकर्षक थियो। तर त्यो मधुर र मनमोहक सौन्दर्यको संयुक्त पृष्ठभूमिमा दैवीय शक्तिको अस्तित्व फगत भ्रम थियो। दैवीय शक्तिको वस्तुगत अस्तित्व छैन। त्यसैले त्यसले उभिन आस्थाको धरातल खोज्छ। आस्था जीवनमा अपरिहार्य छ, तर दैवीय शक्तिजस्ता भ्रमहरूलाई स्थान दिन किमार्थ होइन। उदेक लाग्छ, धर्मले मनोगत् धारणाको यति विशाल पिरामिड किन बनाउँछ ? करोडौं वर्ष लिइबनेको आश्चर्यजनक मस्तिष्कलाई त्यही पिरामिडमुनि दबिएर किन मान्छे ब्रेन बास्ड जोम्बी बन्न स्विकार्छ ? चाहे धर्मको नाममा। चाहे सम्प्रदाय। वा, राजनैतिक सिद्धान्तको।
सिद्धबाबाको पार्किङ व्यवस्थित थियो, बलियो रेलिङ हालिएको। शौचालयको सुविधासहितको। बर्खामा सिद्धार्थ राजमार्गमा धेरै पहिरो जाने खण्ड सिद्धबाबा क्षेत्र नै हो। सिद्धबाबा मन्दिरको केही किलोमिटर दक्षिणमा बुटवल पर्छ। पाल्पा, अलिक माथि उत्तरमा। म भैरहवा बस्दा आमासँग दुईपटक सिद्धबाबाको दर्शन गर्न आएको छु। त्यतिबेला सायद रामापिथेकस्को दाँत उत्खनन भइसकेको थिएन। सिद्धबाबा मन्दिर साधारण अवस्थामा थियो। त्यतिबेला मनयोग लगाएर आमासँगै पूजाआजामा लागे। प्राकृतिक विज्ञान पढ्दै गएपछि दैवी शक्तिको अवधारणाप्रति सन्देह जन्मेको छ। अरूको धार्मिक आस्थालाई सम्मान गर्दा गर्दै पनि स्वयम्को हकमा धर्मको औचित्य न्यून हँदै गएको छ।
भैरहवा एयरपोर्टमा मित्र प्रेम चौधरीसँग भेट हुन्छ। उनीसँग विगतमा छिटपुट भेट भए पनि सहयात्राको अवसर पहिलो पटक जुरेको थियो। एयरपोर्टबाट सिधै पाल्पातिर लाग्छौं। कौतुहलतावश सिद्धबाबा क्षेत्रमा एकछिन रोकिएका थियौं। फोसिल स्थल हेर्ने काम पनि सकिएको थियो। खानाको लागि कतै रोक्नुपर्ला कि ? भोक बढ्दै गएपछि मैले प्रस्ताव राखे। यहाँको चुकौनी र बटुक नखाई कहाँ हुन्छ र ? उनको स्वादिलो प्रस्ताव मैले सहर्ष स्विकारे। एकाध घन्टामा केराबारी नजिकैको सानो बजारमा गाडी रोक्यौं। दुई, तीन पब्लिक बस अघि नै रोकिएको थियो। अर्डरबमोजिम चुकौनी आइपुग्यो। बेसारले पहेँलिएको चुकौनीको अमिलो र पीरोले तृप्त भए। जिब्रो फड्कार्नुको मज्जा नै भिन्दै। बटुक चाहिँ लिइनँ। कोलेस्ट्रोलबाट पीडित मैले मन थामेँ। सानो डोनट आकारको। फ्राई गरेको। मासको दालबाट बनेको। मगरहरूको खान्की। चुकौनीपछि बल्ल खानातिर लाग्यौं।
वरपर कतै घना जंगल देखिँदैनथे। नाम मात्रको बुट्टयानहरू। अनुमान लगाउन कठिन छ, एघार मिलियन वर्षअघि यो क्षेत्र कस्तो थियो। डाँडाकाँडाको माझबाट खोला बगेको थियो कि ? पानीको स्रोत कतै न कतै हुनै पर्छ। नत्र प्राकमानवको सभ्यता कसरी सम्भव हुन्थ्यो ? समथल भूमि पो थियो कि ? ११ मिलियन वर्षअघिको प्राकृतिक वातावरण कस्तो थियो, अनुमान लगाउन अत्यन्त कठिन। के थिएन चाहिँ सजिलै भन्न सकिन्छ। अहिले जस्तो घरहरू थिएनन्। बाटाघाटा थिएनन्। कपडा लगाएर उनीहरू हिँड्दैनथे। अन्न उब्जाउने तरिका थाहा नभएकोले सिकारमै निर्भर थिए। भाषाको आविष्कार भएको थिएन। कृत्रिम संरचना कतै थिएन। रामापिथेकस् चार खुट्टा टेकेर हिँड्थे, बाँदरजस्तै। बाई पेडल भइसकेका थिएनन्। होमिनिडबाट उद्भव भएको अनुमान गरिएको यो प्राणीको मस्तिष्क अहिलेको जस्तो विकसित हुने प्रश्नै भएन। संकेत र ध्वनिबाटै सञ्चारको काम चलाउँथे सायद। गुफा, भीरपहरा, खोल्सा, रुखको छेलमा ओत बस्थे। रामापिथेकस् कहाँ मान्छे भइसकेको थिए र ?
प्राकृतिक विज्ञानको दृष्टिमा संसारमा दुई प्रकारका प्राणी छन्। ह्युमन र ननह्युमन। समाज विज्ञान र राजनैतिक विज्ञानको जे जस्तो तर्क भए पनि डीएनएकै कारण, त्यसले आफ्नो जीनमा पूर्वजहरूबाट चुनिँदा गुण र विशेषता ओसार्ने भएकोले हामीभित्र आदिम प्रवृत्तिहरू पनि छन्। मूलतः जैविक तथा प्राकृतिक। प्राकमानवको मिलियन वर्षको लामो इतिहासको तुलनामा आधुनिक मान्छेको अनुमानित ११ हजारको इतिहास फुटनोट हो।
जुयोलोजिकल टाइम पिरियडमा दिन मात्र।
केराबारीलाई पछाडि छाडेर हामी निकै अगाडि बढिसकेका थियौं। १, २ बजेको थियो। प्रवास आइपुग्दा आँपका रुखहरू यत्रतत्र देखियो। प्रवासबाटै बाटो उकालो लाग्छ। जताजतै रातेमाटे ढिस्काहरू देखिन्छन्। गाडी बिस्तारै उकालो चढ्दै गर्दा म टाइम क्याप्सुलमा बसेर तर्कनातिर लागे।
रामापिथेकस्बाट होमोसापियन्ससम्म आइपुग्दा मध्यतिर एउटा प्रष्ट कडी देखिन्छ। होमोइरेक्टस्। नामैले केही भन्छ। इतिहासमै होमोइरेक्टस् पहिलो पटक हजारौं, लाखौं वर्षको प्रयासपछि पछिल्लो दुई खुट्टाको भरमा उभियो। बाइपेडल भयो। पृथ्वीमा होमोइरेक्टस् करिब डेढ लाखदेखि १९ लाख वर्षअघि हिँडडुल गरेको अनुमान छ। होमोइरेक्टस अफ्रिकामा उद्भव भयो। यी घाँसे सभानामा विचरण गर्थे। अफ्रिकाको विशाल घाँसेमैदान वा जंगलमा यिनले पछिल्लो दुई खुट्टाले उभिने अथक प्रयास गरेका हँदा हुन्। अघिल्लो दुई खुट्टालाई त्यसको ऐतिहासिक कार्यभारबाट मुक्त गरेपछि त्यो हात बन्यो। उभिन सकेकैले लामो दूरीसम्म हिँड्न र दौड्न सक्षम भए। त्यसपछि यो चीन र इन्डोनेसियातिर लाग्यो। हातले जमिन टेकिरहनु नपर्ने भएपछि क्रमशः औजारको आविष्कार भएका हुन्। पूर्ण रूपमा उभिनु अघि होमोइरेक्टस्का सयौं, हजारौं पुस्ता कुप्रिएरै सकिए। त्यो विकासक्रममा यिनले लहरामा झुन्डिँदै रुख चढ्ने क्षमता गुमाए। इभलुसनको क्रममा थप अनुकूल हुँदा दिएको बलिदान थियो त्यो, जुन खेर गएन। यिनै बलिदानको कारण हामी होमोसापियन्स यहाँसम्म आउन सकेका छौं। नत्र भीमकाय डायनोसरजस्तै यी मात्र लोप हुन्नथ्यौं। रामापिथेकस्सँग होमोसापियन्स्को उद्भव हुने सम्भावना पनि समाप्त हुन्थ्यो। हाम्रो यात्रा प्राकृतिक छनोटमा परेरै तुहिन्थ्यो।
बर्तुङ आइपुग्यो, चौधरीजीले यसोभन्दा टाइम क्याप्सुलभित्र मेरो तन्द्रा भंग भयो। बर्तुङबाट तानसेन जाने बाटो मोडिन्छ। विगतमा यो बाटो वर्षमा चार पटकसम्म यात्रा गरियो। दसैं र मीन पचासको बिदामा। घर भैरहवा, स्कुल पोखरा। नारायणगढको बाटो पुल बनिसकेको थिएन। त्यसैले सिद्धार्थ राजमार्ग नै चल्तीमा थियो। विसं २०३१ ताकाको कुरा। बर्तुङमा काफल किनी खाएको सम्झना छ। ताड्बे एक्सप्रेस लोकप्रिय बस थियो। लोकल नगर्ने। खाना खुवाउने स्थान राम्दी, भकुण्डे वालिङ वा केराबारी हुन्थ्यो। तानसेन धेरै फेरिइसकेछ। हुन त कुन ठाउँ फेरिएको छैन र ? बतासेडाँडाको सल्लाको रुखहरू देखेपछि शान्त हुन्छ मन। प्रकृति नजिक हुँदा जहिल्यै प्रीतिकर अनुभव गर्छु। बसपार्कबाट उकालो लागेपछि केही समयमै होटल ह्वाइट लोटस आइपुग्छ। गाडी रोकिन्छ। चौधरीजी र म झोला निकाल्न थाल्छांै। स¥याकसुरुक आवाज आउँछ। झोला राखेको ठाउँतिर नियाल्छु। केही देखिँदैन। गाडीको पछाडिको झ्याल सिसामा अड्किएर अत्तालिएको झ्यालिन्जा मा दृष्टि पुग्छ। सिद्धबाबा क्षेत्रमा केही झ्यालिन्जा हरू उडेको देखिएको थियो। कतैबाट पस्यो कि ? होसियारीपूर्वक त्यसको दुवै पखेटा समाउँछु। डराउँछु, कतै पखेटा नच्यातिओस्। बतासेडाँडातिर देखाउँदै पखेटा च्यापिएको चिम्टी खोल्छु। पखेटा फडफडाउँदै त्यो केही बेरमै दृश्यबाट ओझेल हुन्छ।
होटेलमा झोला राखिवरि रुप टफमा उक्लन्छौं। तानसेन बजार गह्रा परेको भूसतहमा सुन्दर देखिन्छ। आकाश नीलो पहिरनमा छ। तह मिलाएर मान्छेले बनाएका घरहरू बतासे डाँडाको फेदमा आकर्षक देखिन्छ। तानसेन नेपालकै सुन्दर पहाडी बस्तीमध्ये एक हो। मुग्ध हुन्छु। अर्डरको हट लेमन विथ हनी आइपुग्छ। अग्लो सिसाको गिलासमा प्लास्टिकको स्ट्र छ। गिलासको पिँधमा थिग्रेको मह एम्बर जस्तो देखिन्छ। एम्बर अर्थात् रुखबाट निस्कने खोटो। ट्रान्सलुसेन्ट। जसमा लत्पतिन गएमा कीटपटंगहरू वा रुखका पातहरू युगौंसम्म सुरक्षित रहन्छ। एम्बरले प्राकृतिक कफिनको काम गर्छ। पारदर्शी च्याम्बरजस्तो। त्यसभित्र बन्धक बनेको जीवाशेषले समयलाई पनि सुरक्षित राखेकोले एम्बर टाइम क्याप्सुल बन्छ। एम्बरलाई मज्जाले फिट्छु। एम्बरजस्तै मह घुल्दै जान्छ। एम्बरमा सवार भई म झ्यालिन्जाको प्राक इतिहासतिर यात्रा गर्छु।
नजिकैको इतिहासमा नयाँ पत्ता लागेको झ्यालिन्जा को नामकरण बीबीसीका प्राणी र प्रकृतिसम्बन्धी विषयका विख्यात प्रस्तोता सर डेबिड एटेनबरोलाई समर्पण गर्यो। झ्यालिन्जा उनको प्रिय कीरा थियो। ९० वर्षको उमेरमा उनलाई अन्वेषक वैज्ञानिक डिक्स्ट्राले जीवनकै सुन्दर उपहार दिएका थिए। उनकै नाममा झ्यालिन्जाको वैज्ञानिक नामकरण गरे– अकिसोमा एटेनवोरोव्ही। वैज्ञानिक नामकरण टाइम क्याप्सल बन्यो र एटेनबरोले त्यसमार्फत अमरता प्राप्त ग¥यो। एटेनबरो ब्रिटिस ड्रागनफ्लाई सोसाइटीका अध्यक्ष पनि हुन्। झ्यालिन्जा प्रतिको उनको लगाव यसैबाट पनि थाहा लाग्छ। तर, म छक्क परेको चाहिँ, झ्यालिन्जाको पृथ्वीमा उत्पत्तिको समयसँग सम्बन्धित छ। रामापिथेकस्लाई पनि धेरै पछाडि पार्दै यो करिब तीन सय मिलियन वर्ष अगाडिदेखि अस्तित्वमा रहेछ। झन्डै ३० करोड वर्षदेखि झ्यालिन्जा अझै पृथ्वीमा बाँच्दै आएको तथ्यले चकितै पार्यो। झन्डै ३०, ४० लाख पुस्ता अघिको। भीमकाय डायनोसरसहरू प्राकृतिक छनोटमा परे। यो फिस्टा कीटपतंग कसरी ३० करोड वर्षसम्मको उथलपुथलकारी प्राकृतिक वातावरण वा हावापानीसँग अनुकूल हुँदै अहिलेसम्म लोप हुनबाट बच्न सक्यो ? अचम्मै रिजेलियन्ट।
२८ अक्टुबर, २०१७ मा काठमाडौंमा सम्पन्न एक अन्तर्राष्ट्रिय सम्मेलनमा मैले प्राणीशास्त्री नारायणप्रसाद कोेजूको प्रस्तुतीकरण सुन्ने अवसर पाएँ। उनले प्राणीको जिनको सिक्वेन्स विषयमा प्रस्तुतीकरण गरेका थिए। अवसर मिलाएर मैले झ्यालिन्जाको विषयमा जिज्ञासा राखे। उनले बताए, ‘डीएनको संरचनाहरू परिवर्तन हुँदै कालान्तरमा अघिल्लोभन्दा विकसित तर भिन्दै प्राणीको रूपमा उद्भव हुन्छ। तर यो अत्यन्त सुस्त हुन्छ।’ कोजूको भनाइमा सुदूरइतिहासमा झ्यालिन्जा ठूलो आकारका रहेछ, जायन्ट ड्रागनफ्लाई। यसोभन्दा उनको चस्माभित्र आँखामा भिन्न चमक देखेँ।
सर्भाइभल अफ फिटेस्ट, प्राकृतिक विज्ञानको मन्त्र हो। फिटेस्टको कुनै फर्मुला छैन। प्राकृतिक वातावरण, प्रे र प्रिडाटरको निर्भरता, अन्य प्रतिस्पर्धीले बाँच्नको निम्ति अपनाउने रणनीतिमा त्यो निर्भर गर्छ। झ्यालिन्जा पनि फिटेस्ट ? खोज्दै जाँदा, छक्क पार्ने तथ्यहरू फेला पर्छ। चौतर्फी देख्न सक्ने कम्पाउन्ड आँखा। आकाशमै झपट मारेर कीटपतंग खान सक्ने क्षमता। पानीमा, रुखको तोड्कामा, माटोमा, झारपातमुनि, जहाँ प्राकृतिक शत्रुले नष्ट गर्ने सम्भावना कम छ, त्यहाँ अन्डा पार्ने सुझबुझ। अन्डा विस्तारै निम्फमा परिणत हुन्छ र घस्रँदै बोटबिरुवाको हाँगामा झुन्डिन्छ। पूर्ण विकसित निम्फको झिल्लीलाई भित्रबाट च्यातेर झ्यालिन्जा निस्कन्छ र ढिला नगरी पंख फड्फडाउँदै उड्दो रहेछ। पुतलीको हकमा प्युपाको चरण आउँछ। झ्यालिन्जाले चाहिँ प्युपा चरण स्किप गर्छ। सबैभन्दा आश्चर्य, झ्यालिन्जाको केही प्रजाति हिउँदमा बरफभित्रै जमेर महिनौं सुषुप्त बस्न सक्छ। र, हिउँदपश्चात् तापक्रम बढेर हिउँ पग्लेपछि पुनः सक्रिय हुँदो रहेछ। चिसोमा आहार खोज्नु नपर्ने, शक्ति खर्च गर्नु नपर्ने जैविक विशेषताको कारणले होला प्रजातिगत हिसाबले झ्यालिन्जा यतिविधि चिरञ्जीवी भएको।
झ्यालिन्जा रत्तिभर क्रुर सिकारी लाग्दैन। तर, वास्तविकता फरक छ। यो कुशल सिकारी छ। फरपेक्ट प्रिडाटर। आकाशेबाजको अर्को संस्करण। बाल्यकालमा यसलाई समातेर जीउमा धागोले बाँधेर उडाउँदा वा सानो छेस्का अड्काएर छोड्दा, ढलमल गर्दै त्यो उडेको सम्झना छ। अहिले सोच्दा थकथकी लाग्छ। त्यस्तो क्रुर खेल कसरी खेल्न सके ? होमोसापियन्स्, होमोइरेक्टस्, रामापिथेकस् र डायनोसरसभन्दा अगाडिदेखि पृथ्वीमा बाँच्दै आउन सकेको झ्यालिन्जा गाडीको सिसामा अड्किएर निरीह देखिएको त्यही जीव हो भन्ने सोच्दा विश्वास गर्न गाह्रो पर्छ।
हट लेमन पिउदै चौतर्फी नियाल्छु। दक्षिण दिशामा प्रवास बजार देखिन्छ। पर तल तिनाउ नदी नागबेली हुँदै केराबारी, सिद्धबाबा, बुटवलतिर बगिरहेको देखिन्छ। झ्यालिन्जा अझै मस्तिष्कको कोष्ठबाट निस्किएको हुँदैन। बरु झ्यालिन्जा स्मृति न्युरोनको धावन मार्ग हुँदै मण्डला थियेटरतिर उड्छ। मण्डलामा फकिर लेखक नगरकोटीको झ्यालिन्जाको नाटक मञ्चन भएको थियो। केही हप्ता अगाडि, दयाहाङको निर्देशनमा। फकिरकै आमन्त्रणमा लेखकद्वय नारायण ढकाल र यज्ञशसँग म नाटक हेर्न अनामनगर पुगेको थिए। सिंगो थियेटर कन्टेम्पोरेरी टाइम क्याप्सुल बनेको छ। मञ्चभरि झ्यालिन्जा उडिरहन्छ। प्याजी रङको। झ्यालिन्जा यदाकदा दर्शकदीर्घातिर आउछ। नाटकैभरि झ्यालिन्जा अनेकौं स्थानमा देखिन्छ। तर नाटकको मूलपात्र हासबिराले थाहै पाउँदैन। इभलुसनकै क्रममा झ्यालिन्जाको अवतार मानिसले थाहा नपाएझैं। बरु हासबिराको श्रीमती परस्त्रीसँग लसपस गरेको भन्दै श्रीमान्सँग गुनासो गर्छिन्। प्याजी झ्यालिन्जाले बोकी ल्याएको नगरकोटीको स्वैरकल्पना हाम्रो समाजको यथार्थसँग बेस्सरी जोडिएको थियो। मलाई स्पर्श गर्यो। यसमा माओवादी विद्रोही र राज्यपक्षबीचको मिचाइमा बेपत्ता पारिएको किशोरीको कथा छ। झ्यालिन्जाकै प्रतिरूप उनी एकदिन अकस्मात बेपत्ता हुन्छिन्। र, समाजको चित्तभरि सामाजिक यथार्थको विचलित पार्ने बिम्ब बनेर उडिरहन्छिन्। नाटकको अन्त्यमा बेपत्ता किशोरीको प्रतिरूप झ्यालिन्जा छेपाराको आहारा बन्छ।
नाटक सकेर फर्कंदा पनि झ्यालिन्जाले पछ्याउन छाड्दैन। काठमाडौंको धुलो र धुवाँको कुइँरीमण्डलीबीच छिर्केमिर्के रङको झ्यालिन्जा कहिले देखिन्छ, कहिले छोपिन्छ। प्राणीविद् कोजुको भनाइ सम्झन्छु। नाटकको सेटिङ प्राचीनकाल हुन्थ्यो भने जायन्ट झ्यालिन्जा देखेर छेपारोको खाने आँट आउँदैनथ्यो। बेपत्ता किशोरी जोगिन्थ्यो। मान्छेका घरआँगनमा झ्यालिन्जा नृत्यमग्न देखिन्थ्यो। र, त्यसको अविराम नृत्यले मान्छेको भागको पीडा र सुस्केरा हल्का हुन्थ्यो। अचानक ट्राफिकको सिटीले म टाइम क्याप्सुलभित्र ब्युझिन्छु। पुतलीसडक चोक आइपुगेछ। बाइक रोक्छु र संकेत कुर्छु। निमेषमै पचासौं हेल्मेटधारी होमोसापियन्सहरू जेब्राक्रसिङ नै मिचेर बाइक अड्याउँछ, मानौं ट्राफिकले सिटी बजाओस् र कतै जाई लागौं। रामापिथेकस्, होमोइरेक्टस्, झ्यालिन्जा र होमोसापियन्स.....मेरो मस्तिष्कको पर्दामा सर्सती दगुर्छ। टाइम क्याप्सुललाई मस्तिष्कको यौटा खोपीमा कोचेर म पनि सतर्क भई ट्राफिकको संकेत कुर्छु।