सारंगी
झुन्डिएको थिएछ तिम्रो खुइय्यको धुन
मेरै बेसुरा तारमा ।
अड्किएको थिएछ तिम्रो मुक्तिको चाबी
मेरो बेलगाम गिदीमा ।
अझ थाकेको छैन गाइनेको हात
रेटेर रेटेर मेरो पुख्र्याैली तार ।
मेरो तारमा तिमीले हर बिहान सुकाउने
कुण्ठाको कोटबाट
निस्किरहन्छ
तिम्रो आदिम गन्ध ।
गाइनेको अजम्बरी सुरभित्र
लर्खराउँदै हिँडिरहेको
टर्रो आवाजमा
तिम्रै काँचो प्रेम छ ।
तिम्रै नांगो भोक छ ।
गाइनेले गाएको हरेक गीतमा
तिमीले बिर्सिएको समयको लास थियो ।
जस्तो कि चरीले साँझपख चिम्लिएको आँखा त्यै गीत हो ।
जस्तो कि हावाले मध्यरात खोलेको ओठ त्यै गीत हो ।
जस्तो कि हिमालले बिहानै उघारेको पर्दा त्यै गीत हो ।
पहाडको आँसु जब नदी भएर बग्दै थियो
मेरै काखमा सागर बनेको हो त्यो ।
बस्तीको रगत जब आगो भएर जल्दै थियो
मेरै छातीको ज्वालामुखी भएको हो त्यो ।
मेरो भुँडीमा तिम्रो युगको भोक निदाइरहेका बेला
मेरै छातीमा आएर अल्झिन्छ
तिम्रो युवा झोक ।
त्यो रूखको सुस्केरा अब
मेरै कुटुम्बको कविता हो
जसले पोलेर खाएको छ गीतलाई
प्रेमको कोइलामा ।
गीत जलिसकेको चुह्ला हो
तिमी हिँडेको बाटो ।
पल्टाइहेर खरानी
त्यसभित्र बलिरहेको भुंग्रोमा
बल्झिबसेको हुनुपर्ने
मनको गाउँको एउटा गाढो घाउ ।
गाइनेको छायालाई लखेट्छ राज्यले ।
कविको मान्छेलाई खेद्छ बजारले ।
गीतको भँगेरालाई पोल्छ सत्ताले ।
कसले बजाउने अब
म सारंगीलाई ?