माङखिमको ‘झन्डा’

माङखिमको ‘झन्डा’

‘माङखिम’ प्रकाशनपछि इलाम जिल्ला सदरमुकाम अनि सीमावर्ती पाँचथरको रविबजार (पहिले रवि गाविस, अहिले मिक्लाजुङ गाउँपालिका) मा यो किताबमाथि विमर्श गर्न मन लागेको थियो । कृति विमोचन (२०७२ चैत ५ गते) लगत्तै अर्थात् २०७३ सालको सुरुतिरै पाँचथरमा क्रियाशील पत्रकार गणेश साम्पाङ र रविमै सक्रिय गीतकार÷कवि सरस्वती राईसँग मैले एक चरण कुराकानी पनि गरेको थिएँ । तर, जागिरे जीवनले गर्दा समय निकाल्न सकिनँ । पूर्वका एकदुई सहर पुग्ने योजना बनाए पनि जागिरले नराम्ररी बाँधिदियो मलाई- ठूलै जागिरेजस्तो भएँ !

sachitमलाई लागिरहेको छ- ‘माङखिम’ पढ्ने अधिकांशले मलाई माया गरिरहेका छन् । त्यसमाथि राजधानीमा रहेका मेरा आफन्त, इष्टमित्र, गन्यमान्यमध्ये धेरैले यो कृतिबारे सञ्चारका विभिन्न माध्यमबाट थाहा पाएका छन् । सामाजिक सञ्जालमा मसँग जोडिएकाहरू त यसबारे कसरी अनभिज्ञ रहलान् र ? रवि र इलाममा पनि ‘माङखिम’को जानकारी धेरथोर पुगेकै होला । नपुगे मेरै कमजोरी ठान्दिनुपर्‍यो ।

यद्यपि, मैले यो कृतिमार्फत जुन विषयलाई उठान गरेको छु, ती अधिकांश रवि र इलाम सेरोफेरोका छन् । यसकारण मलाई ती ठाउँका बासिन्दाको प्रतिक्रिया बुझ्न मन लागेको हो । परदेश लागेकाले गाउँ-ठाउँबारे केही काम गर्दै रहेछन् भन्ने जानकारी दिने ठूलो स्वार्थ हो । त्यहीमाथि यो कृतिको प्रकाशन संयोजन नै इलाम समाज हङकङले गरिदिएको छ ।

मेरो पनि जन्मथलो इलामको पश्चिमी क्षेत्र साबिकको बाँझो गाविस । सात सय ४४ स्थानीय तह कार्यान्वयनसँगै माङ्सेबुङ गाउँपालिका । मैले त ‘फाल्गुनन्द गाउँपालिका बनाऔं है’ भनेको थिएँ किनकि राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मथलो यही क्षेत्रमा पर्छ । माङ्मालुङ नाम राख्नेमा त सहमति नै जुटिसकेको भन्ने सुनेको थिएँ । कताबाट सहमति भत्कियो ? भत्काउनेहरूले नै जानुन् । पुरानो नाम मिक्लुङ । त्यहीं हुर्किएँ-बढेँ । चिसोपानी मावि, पाङ्तुवाको प्रावि, सिक्तेम्बाको निमावि हुँदै रविको दुर्गा माविबाट एसएलसी उत्तीर्ण गरेँ । महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामबाट बीए सिध्याएँ । त्यतिन्जेल अर्थात् पचासको दशकको मध्यदेखि साठीको दशकको सुरुआतसम्म जिल्ला सदरमुकाममा बिताउने मौका मिल्यो । छोटो अवधिमै धेरै अनुभव सँगाल्ने अवसर पाएछु । जीवन भोग्दै-भोग्दै सकिने रहेछ कि क्या हो ? भोगिरहेको वर्तमान कति चाँडै विगत बनिसक्दो रहेछ । कसरी भुलुँला र ती दिन ? त्यहीमाथि जन्मथलोलाई त सायदै कसैले भुलिदेला । म पनि एउटा परदेशी नै हुँला । कतिपयले यिनीहरू (परदेश हिँड्नेहरू)ले गाउँलाई भुल्यो पनि भन्छन् । यसो भन्नेहरूलाई सकेसम्म जवाफ दिइरहेकै छु- सामुन्ने भनेछन् भने । ‘माङखिम’ पनि एउटा जवाफ नै होला । यद्यपि, मलाई लाग्छ- ‘माङखिम’ सामूहिक प्रयत्नको प्रतिफल हो, जसले आफ्नो ठान्छ उसकै पनि हो ।

घटनाक्रम असरल्ल छन् । सम्झनामा सीमित भएर आइदिन्छन् । लेख्दा कतिपय छुट्छन् । छुटेछन् भने तपाईंले ‘हुस्सु’ भन्दिनुहोला । छुटेनन् भने ‘लेखेछ’ भन्दिनुहोला ।

‘माङखिम’माथि अन्तरविमर्शका लागि मेरा हितैषीहरू अशोक बान्तवा र खेम साम्पाङ राईसँग कुरा चलिरहेकै थियो । नभन्दै २०७३ फागुन १३ गते साँझ इलाम सदरमुकाम पुग्ने मौका मिल्यो । हतार गर्नुथ्यो इलाम पुग्न तर काठमाडौंबाट उडानमा ढिलाइ भइछाड्यो । विराटनगर एयरपोर्टमा ओर्लिएपछि हतार गरेरै पुष्पा र निनामहाङसँग इटहरी पुग्यौं । उनीहरूसँग इटहरीबाट छुट्टिएर म बिर्तामोड हुइँकिएँ । तर, लोकल बसको कछुवा गति, बिर्तामोडबाट इलाम हुइँकिएको ट्याक्सी झन्डै सुनमाई पुगेर तेलका लागि चारआली नै फर्कनुपर्दा कत्ति पिरलो भयो होला ? दिउँसै इलाम सदरमुकाम पुगेर भेटघाटको काम सकौंला भन्ने लागेको थियो । कहाँ मिल्यो र त्यस्तो मौका ? बरु खेमजीकहाँ सिधै पाहुना मात्र लाग्न पुगेँ ।

सिर्जनशील साहित्य प्रतिष्ठान र भानु प्रतिमा संरक्षण तथा साहित्य संवद्र्धन समिति इलामको आयोजना । फागुन १४ गते जिविस (अहिले जिल्ला समन्वय समिति- जिसस)को समीक्षा हलमा कार्यक्रम । नवयुवा कविहरूको बाक्लो उपस्थिति । पत्रकार साथीहरूको साथ त रहने नै भयो । कार्यक्रम अनौपचारिक, यस्तै रमाइलो । कवि विमल वैद्य दाइले कार्यक्रमको पोयो फुकाइदिए । म झन्डै डेढ दशकपछि इलामको मञ्चमा हाजिर भएँ । सदरमुकाम बसाइका केही स्मरणसहित ‘माङखिम’का विषयवस्तुलाई सरसर्ती राखिदिएँ । कृतिको नामकरणदेखि पाठक प्रतिक्रियासम्म सुनाउँदा प्रभावकारी नै भएछ भन्ने लाग्यो- पत्रपत्रिका र अनलाइन समाचार हेरेर । नत्र त विमोचनको समाचार नै त्यसरी बुझेर कभरेज भएको थिएन । यसलाई भन्छन् होला आत्मसन्तुष्टिको मेलो । त्यहीमाथि खेमजीले भन्दिइहाले- ‘यसलाई इलामले सम्पत्तिका रूपमा लिनुपर्छ ।’

महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका उपप्राध्यापक मोहनसिंह थेबे सरको पालो आयो । मोहन सरले किताबमाथि लेखकको चतुर्‍याइँ÷कला औंल्याइदिँदै आफूले भोगेको÷देखेको कुरालाई पाठकमा प्रभाव पार्ने गरी लेखन गरेको मात्र बताएनन् कि आलेखहरू पढ्दा कौतुहलता जाग्ने सुनाए । त्यसपछि लेखक डा. देवी क्षेत्री दुलालले ‘माङखिम’का लेखहरू अनुसन्धानमूलक, यात्रात्मक र अनुभूतिजन्य रहेको टिप्पणी गरे । उनले यसलाई स्वतन्त्र लेखनको संज्ञा दिए ।

कार्यक्रम ‘माङखिम’का कुरा सुन्ने-सुनाउनेमा मात्र केन्द्रित रहेन । उदीयमान सर्जकका कविता सुन्दा साह्रै खुसी लाग्यो । केही कविता त साह्रै सुन्दर । नयाँ ढंगका कविता सुन्न पाउनु कम्ता खुसीको कुरा होइन । विमल दाइले नै कविता वाचनको पोयो पनि फुकाइदिएका थिए- उनी बेनी नझरेपछि ।

‘माङखिम’माथिको अन्तरविमर्श कार्यक्रममा रत्न-बम स्मृति प्रष्ठिानका अध्यक्षसमेत रहेका ‘आँखा’ विकास पत्रिकाका सम्पादक तथा प्रकाशक डा. देवी क्षेत्री दुलालको घोषणाले रौनक थपिदिइहाल्यो । उनले सहिद रत्नकुमार बान्तवाको नाममा स्थापना गरेको सहिद रत्नकुमार बान्तवा वाङ्मय पुरस्कार पहिलोपटक ‘माङखिम’का लागि मलाई दिने निर्णय भएको घोषणा गरे । लाग्यो- म पनि पुरस्कारको भागीदार रहेछु । खुसी त लाग्ने नै भयो तर दायित्व÷जिम्मेवारी पनि थपिएको महसुस हुँदो रहेछ । त्यहीमाथि सहिद रत्नको नाममा स्थापित पुरस्कार ।

२००८ साल चैत २७ गते इलामकै चमैता चित्रेमा जन्मिएका थिए रत्न । तत्कालीन नेकपा (माले)को केन्द्रीय तहमा पुगेर पञ्चायतविरुद्धको आन्दोलनका क्रममा २७ वर्षको उमेरमा चैत २७ गते नै २०३५ सालमा उनी इभाङमा प्रहरीको गोलीबाट मारिएका थिए । राजनीतिक मात्र होइन, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा उनले पुर्‍याएको योगदानको चर्चा जति गरे पनि कम हुन्छ । उनको बारेमा धेरैले आआफ्नै तरिकाले खोज अनुसन्धान गरेका छन् । त्यसमध्ये प्रदीप नेपालउर्फ सञ्जय थापादेखि अगम बान्तवा, डा. देवी क्षेत्री दुलालसम्म आइपुग्दा रत्नबारे धेरै कुरा बाहिर आएका छन् । ‘देउमाईको किनारमा’ चलचित्रसमेत बनेको थियो, अहिले पत्रकार जसकुमार राईले डकुमेन्ट्री बनाएका छन् । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले किताब लेखेका छन् ।

त्यसो भए ‘माङखिम’लाई नै किन त उनको नामको पुरस्कार ? लाग्छ- रत्नमाथि मैले पनि केही काम गरेछु । अब थप काम पनि होस् भन्ने मनसाय होला- पुरस्कार छनोट समितिको । रत्नको विषयमा मैले देखेका÷सुनेका÷खोजेर पाएका विषयलाई फरक ढंगले दस्तावेजीकरण गर्ने जमर्कोसम्म गरेको हुँ । पुरस्कारको हकदार बनेछु । ‘माङखिम’मा संग्रृहीत ‘त्यस बेला’का रत्न पढेपछि धेरैले प्रतिक्रिया मात्र होइन, आशीर्वचन नै दिएका छन् ।

झन्डै ३७ वर्षपछि राज्यका तर्फबाट रत्नले सहिदको सम्मान पाएका छन् । उनीमात्र होइन, प्रजातन्त्र पुनस्र्थापनाका लागि लड्दा ज्यान गुमाएका अन्य कतिपयले झन्डै आधा शताब्दीपछि सहिदको सम्मान पाए । खासमा रत्नलाई हामी धेरैले राजनीतिज्ञका रूपमा मात्र बुझ्ने गरेका छौं । साहित्यमा पनि उनको योगदान उत्तिकै महत्वपूर्ण छ भन्ने लागेको छ । त्यही आधारमा पुरस्कारको नामकरण र कृति छनोट भएको हुन सक्छ । डा. दुलालले यस विषयमा विस्तृत खोज गरेका छन् । रत्नको योगदानलाई थप उजागर गर्नका लागि पुरस्कार स्थापना कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने मेरो बुझाइ छ ।

घटनाक्रम असरल्ल छन् । सम्झनामा सीमित भएर आइदिन्छन् । लेख्दा कतिपय छुट्छन् । छुटेछन् भने तपाईंले ‘हुस्सु’ भन्दिनुहोला । छुटेनन् भने ‘लेखेछ’ भन्दिनुहोला । सबैलाई हतार छ । पुग्नु कहीँ छैन । मलाई पनि त्यस दिन हतारो थियो । अन्तरे दाजु-भाउजू राजेन्द्र-कल्पनाको घर बिर्तामोडसम्म झरुँला भन्ने लागिरहेको थियो । तर, इलाममा मलाई माया गर्नेहरूलाई त्यति सजिलै कहाँ छाड्न सक्छु र ! ‘इलाम’ एफएममा सुमन लुवागुन र ‘रेडियो चियाबारी’मा अग्रज पत्रकार धर्म गौतमसँग कुराकानी गर्दागर्दै झपक्कै साँझ परिहाल्यो । ‘इलाम पोस्ट्’ दैनिकको कार्यालयमा साथीभाइसँग भेट पो गरियो । भोलिपल्ट बिहानै इलाम छाड्दै गर्दा फेसबुकमा ‘बाई-बाई इलाम’ लेखेर सेल्फी पोस्ट गरिदिएँ । मेरा एक मित्रले कमेन्ट गर्दिइहाले- ‘सी यू अगेन होला दोस्त ।’ खासमा जानुथ्यो- इलामभित्रकै इलाम अर्थात् जन्मथलो । दमक पुगेर चढ्नुथ्यो घर पुर्‍याउने ट्याक्सी ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.