एक सरल वाक्यको अवसान–कथा
पदहरू आन्तरिक झडपमा जब उत्रे
सख्त घाइते भएको क्रियापदले
तब सम्बन्ध विच्छेदको घोषणा गर्यो
र, किरिया बस्यो–
एउटा अधुरो इतिहासको मृत्युमा।
उपनाम र सर्वनामका बीचमा
वरीयता विवाद बल्झिएकै बखतमा
नाम पद पंक्ति बहिष्कार गरेर हिँड्यो
र निकै पर पुगेर गीत गायो—
‘जहाँ लान्छ कर्मले उहीँ हो मेरो घर !’
कर्ताबाट क्रियातिर बेलाबेला
र क्रियाबाट कर्तातिर बेलाबेला
धकेलिँदा–धकेलिँदै आजित परेको कर्म
ऊ पनि अलप भयो अचानक दृश्यबाट।
रगतसँग लत्पतिएर आएको
विशेषण थियो
टाढाबाट रातोमा पनि रातो देखिने
नजिक पुग्दा मैलो–घुर्मैलोमा फेरिने
ऊ पनि लिपिस्टक बनेर बजार पस्यो।
अनि सुरु भयो तितरबितर–तितरबितर
निपात थला पर्यो सरकारी हिमपातसँगै
विभक्ति ओरालो झर्यो साहूभक्तिको भेलसँगै
संयोजक हाटबजारको प्रायोजक बनेर गयो
अव्यय किस्ता–किस्तामा व्यय हुँदै गयो
र, अन्ततः यसरी
एउटा सरल वाक्यको जिन्दगानी
भयंकर भग्नावशेषमा परिणत भयो।