जसले प्रेम पाउन सकिनन
अमेरिकाबाट उनी कुनै दिन फर्कनेछिन् भन्ने झिनो आशा अब रहेन। उनलाई चिन्नेजान्नेहरूले पनि बिस्तारै उनको नाम भुल्दै जानेछन्। जीवन र स्वभाव यही हो। प्रेमा, आज म तिम्रो नाम सम्झेर आकुल र व्याकुल भएको छु।
‘साकारजी, चक्लेट लिनुस्’, उनी।
‘चक्लेट खाने उमेर छ र मेरो !’, म।
‘कसैले दिन्छ भने खाए भइहाल्यो नि’, उनी।
म हात थाप्छु। दुईतीनवटा चक्लेट मतिर बढाउँदैछिन्– प्रेमा शाह। पातली, सुन्दर, गोरो, उज्यालो अनुहार र हात पनि त्यत्तिकै सफा, आकर्षक र अभिजात। चक्लेट चपाउँदै म गफ गर्दै अघि बढ्छु, नयाँ बानेश्वरको भर्खर अलि राम्रो बनेको बाटोमा। संसद् भवन पछाडिको पुरानो बानेश्वर जाने बाटो। बिहानको १०/११ जति बजेको होला। ‘आजकल म यतै बस्छु नि ...ऊ त्यो घरमा’, नजिकैको एउटा घरतिर देखाउँछिन् उनी। त्यो घर एउटा नेवार साहूको हो। म चिन्छु उसलाई पनि। लोग्ने छाडेर एक्लै यतै बस्न थालिछन्— प्रसिद्ध कथाकार प्रेमा शाह। करिब २०/२५ वर्ष अगाडिको कुरा हो यो, जो आजसम्म मेरो सम्झनामा नमेटिने भएर बसेको रहेछ।
२०३१ सालतिर एक दिन साझा प्रकाशनका महाप्रबन्धक आदरणीय दाइ कृष्णचन्द्रसिंह प्रधानले मसम्मुख एउटा प्रस्ताव राख्नुभयो— नारी कथाकारहरूको एक/एकवटा प्रतिनिधि कथा राखेर एउटा संग्रह निकाल्ने। मैले सहर्ष स्वीकार गरेँ। त्यसमा प्रेमा शाहलाई राख्नु त अनिवार्य नै भइहाल्यो। त्यस बेलासम्म तीन नारी कथाकारको विशेष चर्चा थियो। ती तीन नारी कथाकार थिए— देवकुमारी थापा, पारिजात र प्रेमा शाह।
मैले साझाबाट छापिएको ‘कथामा नारी हस्ताक्षर’ नामक नेपाली नारी स्रष्टालाई समेटिएको पहिलो पुस्तकको भूमिकामा प्रेमा शाहबारे यस्तो लेखेको रहेछु, ‘कथा साहित्यमा प्रेमा शाहको आफ्नै स्थान छ। उनका कथाहरू विश्व कथा साहित्यमा झन्डै होड लाग्नसक्ने खालका छन्— (पारिजात) प्रस्तुतीकरणको नवीनता र विषयवस्तु पकडको तीक्ष्णताले गर्दा प्रेमा शाहका कथाहरूले आधुनिक जीवनलाई समग्रमा व्यक्त गर्छन्। विषयवस्तुहरू प्रायः यौन र प्रेम नै छन्। तर, ती थोत्रा रोमान्स या भावुकताका दोषहरूले पूर्ण, सस्ता खालका छैनन्। उनका प्रकाशित कथासंग्रह ‘पहेँलो गुलाफ’ र ‘विषयान्तर’मा प्रेमा शाहलाई मनोविज्ञानको सूक्ष्म ग्रन्थीहरूसँग परिचित नारी कथाकारका रूपमा चिन्दछौं। नारी मनोग्रन्थीलाई उनले वाणी दिएकी छन्। ‘लोग्ने’, ‘चायाँ’, ‘एउटै सम्भोग’, ‘पहेँलो गुलाफ’, ‘एउटा जीवन्त क्षण–जो मरीमरी बाँच्छ’ अत्यन्त चर्चित कथामध्ये पर्न आउँछन्।’
त्यस बेला उनको ‘पहेँलो गुलाफ’, ‘एउटै सम्भोग’को साह्रै ठूलो चर्चा थियो— नेपाली कथा जगत्मा। कथाहरू संकलन गर्ने क्रममा मैले ती सबै कथा पढेँ। तर, उनका अत्यन्त चर्चित कथाहरूभन्दा अत्यन्त कम चर्चामा रहेको कथा ‘एउटा जीवन क्षण— जो मरीमरी बाँच्छ’लाई मैले संग्रहमा स्थान दिएँ। मलाई मनमा निकै ठूलो धुकचुक थियो। त्यसैले स्वीकृति लिने क्रममा उनी बस्ने गरेको मावली हरिहरभवनको चिटिक्क परेको पुरानो दरबार पाराको घरमा म पुगेँ। उनी साह्रै खुसी भइन्। त्यो कथा छानेकोमा तिनको आभार पनि प्रकट गरिन्। त्यस बेलासम्म उक्त कथाको कसैले चर्चा गरेका रहेछन्। त्यो कथा एउटी अपांग नारी पात्राका बारेमा थियो, जो बाँच्न चाहिन्छन्। एउटी सम्पूर्ण नारी भएर। तर, समयले तिनलाई त्यसरी बाँच्न दि“दैन। त्यो कथाको परिचयमा मैले लेखेको थिएँ, ‘एउटी नारीको जीवन्त मानसिकता र प्रेमलाई उधार्न औधि सफल कथा। जीवनको विसंगति र अप्ठ्यारोबीच रचनात्मकता अर्थात् जीवन्तता प्राप्त हुँदै गएको क्षण जो अत्यन्त संकटपूर्ण र चुनौतीपूर्ण पनि छ, लाई यस कथाले आफ्नो ‘कथ्य’ बनाएको छ (कथामा नारी हस्ताक्षर साझा प्रकाशन, २०३१, पृष्ठ ५४)।’
त्यसपछि धेरै वर्ष उनीसँग भेट हुन सकेन। यसैबीचमा एकजना भारतीय प्राध्यापकसँग उनले बिहे गरिछन्। ती भारतीय प्राध्यापक हाम्रो त्रिभुवन विश्वविद्यालयमा पढाउन आएका रहेछन्, पटनाबाट। उनको दोस्रो वैवाहिक जीवन पनि जल शाहको जन्मपछि भत्कियो। उनी वीरगन्ज लागिछन्, आफ्नो माइतीघरमा। त्यहाँको स्थानीय कलेजमा केही वर्ष नेपाली पढाइन्। एउटा ‘ममी’ नामक उपन्यास र केही बालपुस्तकको रचना गरेको भनाइ छ जो बाहिर देखिएको छैन। ध्रुव सापकोटा र म एक दिन ‘आकाश विभाजित छ’ (सामूहिक उपन्यास) लेखाउन उनीकहाँ पुग्यौं। पारिजातले उनलाई नलेखाई उपन्यास पूरा नै हुँदैन भनेकाले उपन्यासको अन्तिम परिच्छेद लेखाउन हामी पुगेका थियौं। उनले त्यो सहर्ष स्वीकार गरिन् र अभूतपूर्व १२औं अन्तिम परिच्छेद लेखिन्। रत्न पुस्तक भण्डारले पछि त्यो उपन्यास छाप्यो। उपन्यास पढ्ने सबैले त्यो परिच्छेदको चर्चा गर्छन्।
उनले ठ्याम्मै लेख्न छाडिन्। क्याम्पसको प्राध्यापन पेसा पनि छाडिन्। एकांकी जीवन बिताउन थाल्दाथाल्दै प्रसिद्ध नायिका छोरी जल शाहसँग हिँड्न थालिन्। जल शाह अमेरिका पलायन भएपछि उनी पनि उतै लागिछन् र आज यो अन्तिम यथार्थ हामीसम्म सम्प्रेषित हुन आइपुग्यो। उनीबारे एउटै मात्र पुस्तक लेखिएको छ र त्यसको शीर्षक छ, ‘पहेँलो गुलाफ : फूल भित्रका कथाहरू।’ यस पुस्तकलाई प्रा.डा. नयना प्रधानले आजभन्दा १० वर्षअगाडि नै प्रकाशित गरेकी थिइन्। उक्त पुस्तकमा उनले प्रेमा शाहको मूल्यांकन गर्दै यस्तो लेखिन्, ‘यौनवादी पुरुष साहित्यकारले नारीमा रहेका यौनात्मक संवेदनाहरूको आकलन गरेर प्रशस्त कथा लेखेका छन्। तर, स्वयं नारी मनमा उर्लंदो बैंस र प्रेमका नाममा गरिएका पुरुष पात्रहरूको वासनात्मक केस्रा–केस्रालाई केलाई–केलाई नारी अस्तित्व र नारीको आकांक्षाबाहेक पुरुष प्रेमी र पतिहरूले पत्नी प्रेमिकाहरूलाई गरेको प्रेम, प्रेम नभएर बलात्कार भएको पीडालाई व्यक्त गर्ने सर्वोत्कृष्ट कथाकार प्रेमा शाह हुन्। यौनवादी कथाकारमा विश्वेश्वरप्रसाद कोइरालाबाट सुरु भएको यौन मनोविश्लेषणमा विजय मल्ल र गोविन्द गोठालेका कथाले आफूलाई स्थापित गरे पनि यस क्रममा एकमात्र महिला कथाकारले आफ्ना पहिचान बनाएकी छन्। उनी प्रेमा शाह हुन्।’
हामीबीच उनी रहिनन्। अमेरिकाबाट कुनै दिन फर्कनेछिन् भन्ने झिनो आशा पनि अब रहेन्। उनलाई चिन्ने जान्नेहरूले पनि बिस्तारै उनको नाम भुल्दै जानेछन्। जीवन र स्वभाव यही हो। प्रेमा आज म तिम्रो नाम सम्झेर आकुल र व्याकुल भएको छु। त्यस्तो नाम जसले कुनै ‘प्रेम’ कहिल्यै पाउन सकिनन्। त्यो जीवन्त क्षणलाई सम्झन्छु, जुन क्षणलाई तिमीले मरीमरी बाँचेकी थियौ। इतिहासको त्यो शाश्वत क्षण जो सायद कहिल्यै मेटिएर जानेछैन, यदि कसैले कथा–साहित्यको त्यो कालखण्डलाई–समयको अक्षरलाई पढ्न चाह्यो भने।