२७ जनाले पाए नयाँ जीवन

२७ जनाले पाए नयाँ जीवन

काठमाडौं : भूकम्पमा रामेछापका बलबहादुर खड्काले पत्नी र छोरो गुमाए। माछा मार्न गएका बेला आएको भूकम्पले घरसमेत ढालिदियो। आफू त बाँचे तर उनले सबै गुमाए। नातिनातिना च्यापेर उनकी बुहारी ओखलढुंगास्थित माइत लागिन्।

दिनभर अरूको काम गरेर परिवार पाल्ने उनी पनि बिरक्तिएर राजधानी हान्निए। काठमाडौं नयाँबजारमा ज्यामी काम गर्न थाले। भारी बोक्दै गर्दा ढलानमा हिँड्ने क्रममा हर्नियाले हिँड्नै नसक्ने भए। ‘त्यसपछि पशुपतिनाथको शरणमा आएँ र बाटोमा बसेर माग्न थालें', झन्डै दुई वर्ष पाटीको बास भएका उनले शुक्रबार अन्नपूर्णसँग भने, ‘दिनभर धूलो र चिसोमा बस्दा ६०÷७० रुपैयाँ हुन्थ्यो, कति रात भोकैतिर्खै सुतेको छु।'

पाशुपत क्षेत्रमा गाई पाल्नेले दिएको एउटा ब्ल्याङ्केट आधा ओछ्याउने र आधा ओढेर दुई हिउँद बिताए उनले। त्यसबाट पनि उनले सुख पाएनन्, कुकुरले उनको दाहिने खुट्टा टोकिदियो। न उनले हर्नियाको उपचार गरे न कुकुरले टोकेपछि भनेजस्तो उपचार हुन सक्यो। ‘मरे पनि मर्छु, केले उपचार गर्नु ? चार पैसा छैन', भक्कानिँदै उनले थपे, ‘जति सकेको उपचार गर्छु भनेर मागेको पैसा ६ सय बचाएको थिएँ, सुतेकै ठाउँमा लुटिदिए। उल्टै अनुहारै बिगार्ने गरी कुटे।'

दुई वर्षदेखि सडकपेटीमा अनेक कष्ट सहेर ‘मरे पनि मर्छु' भन्ने अवस्थामा पुगेका ६० वर्षीय बलबहादुरले शुक्रबार नयाँ जीवन पाएका छन्। ‘सबैका लागि खाना, नाना र छाना ः हाम्रो चाहना' भन्ने नारा लिएर सडकमा निरीह एवं दयनीय जीवन बिताइरहेका बलबहादुरजस्तै २७ जनालाई मानव सेवा आ श्रमले नयाँ जीवन दिएको हो। ‘सर्वोत्कृष्ट जीवन, शाश्वत चिन्तन'द्वारा सञ्चालित आ श्रमले ‘मानवताको कुनै सीमा हुँदैन' भन्दै सडकमा पुगेका बालबालिकादेखि वृद्धवृद्धासम्मलाई सेवा दिएको हो।

सहभोज गराएपछि बेवारिसे भएकाहरूलाई मन भुलाउन मन्दिर परिसरमै नाचगानमा पनि सहभागी गराइएको थियो।

धादिङका ६६ वर्षीय उदयबहादुर कामी र पत्नी उजेलीलाई पनि आ श्रमका स्वयंसेवकले शुक्रबार बिहानै उद्धार गरे। उदयको पेट फुलेको महिनौं भइसक्यो। उनी पिसाब एकछिन पनि च्याप्न सक्दैनन्। उनका दुवै घुँडा टेक्न समस्याग्रस्त छन्। जेनतेन दिन कटाइरहेकी उनकी पत्नी उजेली झनै खराब अवस्थामा छिन्। लगभग दुवै खुट्टा चलाउन नसक्ने हालतमा रहेकी उनको बोली पनि लटपटिन्छ। ‘सन्तान पनि भएनन्, गरिखान नसकिने अवस्था थियो', अरूले गरेको दयाबाट हातमुख जोडिरहेको बताउने उदयले भने, ‘आ श्रममा ल्याउनुभएको छ, हेरौं अब दिन काट्न सजिलो हुन्छ कि ? '

पनौतीस्थित घरबाट आमाले लखेटेको बताउने विमला सापकोटाका पनि पशुपतिनाथ मन्दिरछेउको पाटीमै केही वर्ष बिते। उनी सबै समस्या सुनाउन सक्ने अवस्थामा छैनन्। स्वयंसेवकहरूले शुक्रबार सबेरैदेखि मध्याह्नसम्म विमला, बलबहादुर, उदय र उजेलीजस्ता २७ जनालाई राम मन्दिर पुर्‍याए। बेवारिसे जीवन बाँचिरहेका १८ पुरुष र ९ महिलाई सडकबाट ल्याइएको आ श्रमका सुमन बर्तौलाले जानकारी दिए। तीमध्ये १० जना वृद्धवृद्धा छन्। उनीहरूलाई स्वयंसेवकले पशुपति, स्वयम्भू, बौद्ध, जोरपाटी, कलंकी, चाबहिल, क्षेत्रपाटी, गोंगबुलगायत सडक र पेटीबाट उद्धार गरी ल्याएका हुन्। सबैलाई राम मन्दिर परिसरमा नुहाउने, कपडा फेरिदिने, नङ काटिदिने, कपाल काटिदिने काम भएको छ। उनीहरूको स्वास्थ्य पनि परीक्षण गरिएको छ।

सहभोज गराएपछि उनीहरूलाई मन भुलाउन मन्दिर परिसरमै नाचगानमा पनि सहभागी गराइएको थियो। आ श्रमले गोंगबुमा सञ्चालन गरेको र अब सुरु हुने बूढानीलकण्ठको घरको भाडा काठमाडौं महानगरपालिकाले तिर्ने गरी गत महिना सम्झौता भएको छ। महानगरपालिकाका प्रमुख विद्यासुन्दर श्रेष्ठ, आ श्रमका संरक्षक डा. गोविन्द टण्डन र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले २७ जनालाई बूढानीलकण्ठस्थित आ श्रममा पुर्‍याएका थिए।

पशुपतिनाथ, स्वयम्भूनाथलगायतको उदाहरण दिँदै टण्डनले नाथैनाथ भएको नेपालमा अनाथ भएर सडकपेटीमा बेवारिसे जीवन बिताउनु दुर्भाग्य भएको बताए। ‘गाँस, बास, कपास, सुरक्षाजस्ता न्यूनतम मौलिक हक (संविधानले ग्यारेन्टी गरेका)बाट वञ्चित सहयोगापेक्षी सडक मानवलाई आ श्रममार्फत गुणस्तरीय सेवा दिनेछौं', उनले अन्नपूर्णसँग भने, ‘२०६९ सालदेखि अहिलेसम्म हामीले सात सय ५० लाई सडकबाट घरमा ल्याएका छौं।' २०८२ सालभित्र सहयोगापेक्षी सडक मानवरहित नेपाल बनाउने लक्ष्य रहेको पनि उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.