महिलाविरोधी गीत
केही चर्चित गीत नजानिँदो ढंगले ‘महिला विरोधी’ बनेका छन्। त्यस्ता गीतले सामाजिक मनोविज्ञानमा कस्तो प्रभाव पारेको छ ? गायिकालाई रोनाधोना र उत्ताउला गीत मात्रै गाउन लगाउनुको कारण के हो ? दुःख र विरहका गीतहरू पुरुष गीतकारले किन गायिकालाई नै गाउन दिन्छन् ? यसबारे संगीत क्षेत्रमा बहसको थालनी हुनुपर्ने बताउँछन्, एकथरी संगीतकर्मीहरू। यहाँ केही प्रतिनिधि नेपाली गीतमाथि विमर्श गर्ने प्रयास गरिएको छ।
नबिर्से तिमीलाई न पाएँ तिमीलाई
निकै रुचाइएको गीत हो यो। माया गरेको मान्छे नपाउनु र उसैलाई दिलमा सजाउनु पर्दाको विडम्बना छ गीतमा। यो गीत अञ्जु पन्तले गाइन्। तर, गायकको स्वरमा रेकर्ड गरिएन। महिलाकै स्वरमा किन रेकर्ड गरियो ? प्रश्न अनावश्यक लागे पनि यसको अन्तर्य भने गहिरो छ। यसका निर्माताले सामाजिक मनोविज्ञानलाई राम्रोसँग समाते। गायकले गाएको भए सम्भवतः गीत चल्ने थिएन। अञ्जु पन्तले गाइन्, गीत हिट भयो। किनकि समाजमा महिलाहरू पीडित छन्। यो गीतपछि अञ्जु पन्तको म्युजिक करिअर मोडियो। उनी चर्चित त भइन् तर पहिचान बन्यो रुन्चे गायिकाको।
अरुणा लामा, मीरा राणा लगायतले पनि दुःखकै गीतहरू गाए। अञ्जु त्यसको पछिल्लो संस्करण मात्रै थिइन्। समाजले महिलालाई जस्तो रूपमा हेर्छ, संगीत क्षेत्रमा पनि त्यस्तै भयो। गायिकालाई कि मनोरञ्जनपूर्ण गीत कि दुःखको गीत गाउन लगायो। किनकि त्यो बजार निर्देषित पुरुषवादी मानसिकताको उपज थियो। आस्था राउतजस्ता केही गायिका फरक प्याटर्न लिएर आए तर जम्न सकेनन्। जुनु रिजाल, सञ्जीवनी, रजिना रिमाल लगायतका गायिका सधैं विरहको गीत गाउनमै व्यस्त भए।
फोहोर साल खुसी फाट्दा...
यो पुरानो चर्चित गीत अहिले पनि उत्तिकै सुनिन्छ। राजेन्द्र थापाको शब्द र अम्बर गुरुङको संगीत रहेको यो गीतमा अरुणा लामाको स्वर छ। यसले पनि महिलालाई कमजोर बनाउन सहयोग गर्छ। गीतमा मन जोड्ने कुरा छ। भाग्यलाई दोष दिँदै महिला कर्महारी आफू भएको ठान्छिन्। यसले महिलालाई कमजोर मनोविज्ञान निर्माण गर्न सहयोग गर्छ। पटकपटक भत्किने जीवनसँग तुलना गराउँछ। जीवन भत्किरहेको, त्यसलाई टाल्ने र नयाँ बनाउने जोश हराउँदै गएको भाव व्यक्त हुन्छ। लिंगीय विभेदमा परेका महिलालाई विवश जिन्दगी स्वीकार गर्न अप्रत्यक्ष आग्रह गर्छ गीतले।
सास फेरेँ जस्तो लाग्छ तर, भन्छन् मरिसकिस्
तेरो भाग्य यति नै हो भोक चलन गरिसकिस्
सलहको भाग्य जस्तो मर्ने बाँच्ने ठेगान छैन
भाग्य फाटे सिउँथे बरु तर मन सिउने केले हो
गीतले महिलालाई आफ्नो भाग्यमा जे परेको छ, त्यही स्वीकार गर्न आग्रह गर्छ। आफ्नो लिंगलाई घृणा गर्न सिकाउँछ। पुरुषका लागि ‘वीरताको चिनो, वीरको सन्तान... जस्ता वीर रसका गीतहरू लेखिन्छन्। तर, महिलाको लागि त्यस्ता गीतहरू कम लेखिन्छन्। उक्त गीतले सलहको जीवनसँग महिलाको जीवनलाई तुलना गर्न सिकाउँछ। आफ्नो भागको जीवन भोगिसकेकाले अब बाँच्नुको अर्थ सकिएको मनोविज्ञान गीतले समाजमा दिन्छ।
फूलको थुंगा बहेर गयो...
राष्ट्रकवि माधव घिमिरेले लेखेको यो गीतमा पनि महिलालाई निरीह ढंगले उभ्याइएको छ। नातिकाजीको संगीत रहेको यस गीतमा तारादेवीको स्वर छ। संगीतले मानिसलाई भावुक बनाउँछ। गीतले विरक्तिपनामा डुबाउँछ। गीतमा भनिएको छ :
फूलको थुंगा बहेर गयो गंगाको पानीमा
कहिले भेट होला है राजै यो जिन्दगानीमा
शब्दमा आफ्नो साथमा नभएको मायालुको सम्झनामा छ। फूललाई सपनासँग तुलना गर्न सकिन्छ। विम्बात्मक रूपमा सपना सबै बगेर गएको, जीवनका सबै बाटाहरू सकिएको अर्थ दिन्छ। मानिसको जीवनमा दुःख छ। दुःखलाई सम्बोधन गर्ने गीत चाहिन्छ। तर, गीतले निराशाको उत्कर्षमा पुरुषभन्दा बढी महिलालाई पुर्याउँछ।
नहाँसू भने सखीलाई पीर, मै हाँसू कसरी
रोउँला राति भनेर आँसु मै साँचू कसरी
कहिले भेट होला है राजै यो जिन्दगानीमा
माथिको पंक्तिमा जबरजस्ती हाँस्नु पर्दाको पीडा छ। धक फुकाएर रुन पनि नपाउने वेदना छ। आफ्नो पुरुष साथीको लागि तड्पिएर बाँच्नु परेको कथा छ। मानवीय समवेदनाको कोणबाट यो गीतलाई ठीक भन्न सकिएला। तर, नेपाली सन्दर्भमा पितृसत्ताले डसेको महिलालाई झन् पछाडि धकेल्न गीतको सहयोगी भूमिका हुन सक्छ।
तिमी तारेभिर म त लहरा...
कवि श्रवण मुकारुङले लेखेको यस गीतमा पवित्रा सुब्बाको स्वर र शान्तिराम राईको संगीत छ। गीत प्रेमीप्रति समर्पित छ। पुरुष तारेभीर र महिला त्यसको लहरा मात्रै भएको भनिएको छ। भीर अडिथ हुन्छ। त्यो जीवनको सहाराको विम्बमा छ। महिला फगत त्यसैमा लहराउने सामान्य झारपातको विम्बमा छ। यो गीत लिंगीय दृष्टिले विभेदकारी छ। महिलाले आफूलाई सामान्य लहरा ठानी पुरुषलाई सर्वस्व ठानिएको छ।
‘विषालु आँखा लगाउँछन् छहरा
तिमीमै म लहराउँछु तिमी सहारा
‘तिमीबाहेक मेरो अर्को संसार छैन
तिमीबिना मैले बाँच्नु सार छैन’
यो पंक्तिबाट पुरुष नै एकमात्र सहारा र सबथोक भएको बताइएको छ। महिलालाई एकदमै दुर्वल प्राणीका रूपमा उभ्याइएको छ। एउटा पुरुषबिना बाँच्नुको सार नै नहुने भनिएको छ। यो गीतले पनि महिला कमजोर नै हुन् भन्ने मनोविज्ञान निर्माण गर्न सहयोग पु¥याउने देखिन्छ।
सुन साइँली...
करोडौंले रुचाएको यो गीत श्रम बजारसँग सम्बन्धित छ। पुरुष आर्थिक उपार्जनका लागि विदेश जाने र महिला रुँदै लेकबेसी धाउने अवस्था गीतमा प्रस्तुत गरिएको छ। कालीप्रसाद बास्कोटाको शब्द÷संगीत र हेमन्त रानाको स्वर रहेको यस गीतले पनि महिलालाई कमजोर बनाउन सहयोग गर्छ। वैदेशिक रोजगारीमा साइँलाहरू मात्रै होइन, साइँलीहरू पनि गएका छन्। तर, गीत यो यथार्थप्रति बेखर छ।
गीतले ४० कटेसी रमाउने कुरा गरेको छ। तर, त्यो रमाइलो क्षण ल्याउने जिम्मा पुरुषको मात्रै भनिएको छ। महिलाले फगत त्यसको प्रतीक्षा गर्नुपर्छ। गीतले अप्रत्यक्ष रूपमा पुरुषलाई प्रभुत्वशाली बनाएको छ भने महिलाहरू श्रमबजारमा उपस्थित हुन नहुने निरीह प्राणीको रूपमा उपस्थित गराइएको छ।
करोडौंले हेरेको भिडियोमा एउटी ग्रामीण महिला सारी चोलो, सिन्दूर पोते लगाएर रुँदै बसेकी छन्। तर, ध्यान दिनुपर्ने तथ्य के छ भने वैदेशिक रोजगारीमा जाने अधिकांश महिला गाउँकै छन्। सहरिया महिलाहरू बजारमा फरक ढंगले हेलिएका छन् भने ग्रामीण महिलाहरू सीधै सात समुद्रपारि पुगेका छन्। गीतले यो यथार्थलाई सम्बोधन गर्न सकेको छैन।
अझ रोचक तथ्य के छ भने यी गीत पुरुष गीतकारले गायिकालाई गाउन लगाएका हुन्। महिलाकै आवाजमा महिलालाई अदृश्य ढंगले निरीह जीवन स्वीकार्न प्रेरित गरेको छ। गीतसंगीत समाजको छाया हो। यसबाट समाजको दृश्य भने हेर्न सकिन्छ। तर, गीतसंगीतले मानिसको जीवनमा कस्तो प्रभाव पार्छ भन्नेबारे कुनै मापन यन्त्र छैन।
समाजको साइनो
संगीतको सम्बन्ध मानवीय जीवनसँग हुने बताउँछन् गीतकार भूपाल राई। भन्छन्, ‘सामाजिक जीवन जस्तो छ, गीतसंगीत पनि त्यस्तै हुन्छ।’ उनी विगतदेखि महिलालाई प्रेम, सौन्दर्य, उपभोक्ता र निरीह पात्रका रूपमा प्रस्तुत गरिएको बताउँछन्। उनी त्यसलाई पितृसत्तात्मक समाजको अभिव्यक्ति मान्छन्। भन्छन्, ‘समाज लामो समय सामन्ती व्यवस्थाबाट निर्देशित भयो। उनीहरूले आफ्नो व्यवस्था अनुकूल बौद्धिक परम्पराको विकास गरे। त्यही अनुकूल गीत लेखे।’
गीतकार डा. कृष्णहरि बराल भूपालको तर्कसँग सहमत छन्। भन्छन्, ‘आजसम्म लेखिएका गीत यथार्थवादी हुन्। यथार्थवादले जे छ, त्यही देखाउँछ।’ समालोचक गीता त्रिपाठीको भने यसमा फरक मत छ। उनी महिलालाई गीतले पनि कमजोर बनायो भन्ने तर्क अस्वीकार गर्दै भन्छिन्, ‘प्रेमबिना संसार चल्दैन। महिलाको कोमलता लेख्दा आपत्ति गर्नु हुँदैन। यहाँ गीतमा भन्दा वास्तविक जीवनमा धेरै विभेद छ।’ उनी पीडा भरिएको गीतले पीडा नै नदिने बरु छुट्टै खालको आनन्द दिने बताउँछिन्।
कस्तो लेखिनुपर्छ गीत ?
डा. बराल सिर्जनकर्मीले विवशताबाट बाहिरिने गीत लेख्नुपर्ने बताउँछन्। समाजको विगँ्रदो अवस्थासँग विद्रोह गर्ने गीत चाहिएको बताउँदै उनी भन्छन्, ‘यथार्थवादी गीत मात्रैले समाजलाई गति दिन सक्दैन। त्यो पनि चाहिन्छ। तर, समाजलाई गति दिने गीत पनि चाहियो।’
संगीत क्षेत्र रोनाधोनामै अल्झिरहेको बताउँछिन् समालोचक त्रिपाठी। नारीले गाउने गीतमा पीडा मात्रै आउन नहुने धारणा राख्छिन् उनी। गीतको समाजशास्त्रीय भूमिकाबारे अध्ययन हुनुपर्ने तर्क राख्दै उनी भन्छिन्, ‘समाजमा हिजोको भन्दा आज महिलाको अवस्था बदलिएको छ। तर, त्यसबारे गीत छैन।’
महिलालाई उपभोगको वस्तु बनाइरहेको महिलाले नै थाहा नभएको बताउँदै गीतकार राई समाजको संरचनाअनुसार गीत लेखिएको बताउँछन्। त्यस्ता गीतहरूले महिलाको मनोविज्ञानलाई छेकिरहेको बताउँछन् उनी। महिलालाई पछाडि पार्नुमा यस्ता गीतहरूको पनि भूमिका रहेको बताउँदै उनी अब समाजलाई बदल्न सक्ने गीत चाहिएको बताउँछन्। उनी भन्छन्, ‘ओठको बयान गरेर समाज बदलिँदैन। मनोदशा बदल्न सक्ने गीत लेखिनुपर्छ।’