तैपनि फेरिएको छैन गाउँ
निर्वाचन आयोगको तालिकाअनुसार मेरो गृहजिल्ला ताप्लेजुङमा पहिलो चरणको निर्वाचन हँदै थियो। यसका लागि हाल कर्मथलो नेपालगन्जदेखि झापा हँदै ताप्लेजुङसम्म लामो सफर गरियो। प्रदेशसभाका लागि तुम्बा (बडाबा)की छोरी उम्मेदवार हुनुभएकाले यात्रा कष्टकर भए पनि तय गरिएको थियो।
आफ्नै गाउँका लागि मेरो यो यात्रा चार वर्षको अन्तरमा थियो। सदरमुकाम फुङ्लिङ पुग्दा भाइ लिन आइपुगेको थियो। योभन्दा अघि सदरमुकामबाट गाउँसम्म पैदल यात्रा मात्र भएको थियो। यसपालि भने मेरो गाउँको खोलापारिसम्मै गाडी पुग्ने खबर थाहा पाएको थिएँ। गाडी चले पनि गाउँ जान टिकट पाइएन। त्यसैले बसाइ सदरमुकाममै हुने पक्का थियो।
बिहान सदरमुकामबाट विमानस्थल सुकेटार क्षेत्र हुँदै स्कोरपियो देउरालीतिर बढ्यो। यो ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा जाने बाटो पनि हो। देउरालीबाट हाम्रो गाउँ र पाथीभरा जाने बाटो फाटिन्छ। दायाँतिरको बाटो च्यापेर हामी अघि बढ्यौं। यात्रामा हामी तीन जना थियौं। म, भाइ र गाउँको एउटा भतिजो। पहिलेपहिले यो बाटो सुनसान थियो। जंगलको बाटो एक्लै हिँड्दा डर पनि लाग्थ्यो। तर, अहिले त्यही बाटो गाउँ जाने कच्ची सडक छ। चौडा बाटोको यात्रा अनुभूति नै फरक हँदो रहेछ। तर, गाडीको बाटोले कतै गुलजार ल्याएछ, कतै सन्नाटा।
रित्तो लालीखर्क
देउरालीपछि मानवबस्ती भएको ठाउँ लालीखर्क हो। यसबीच करिब एक घन्टाको पैदल दूरीको अन्तर छ, पूर्ण रूपले जंगलको बाटो। मैले पहिलोपल्ट देख्दा लालीखर्कमा एउटा मात्र घर थियो। त्यो पनि मालिंगोको चित्राले बारेको र छाएको। सायद, अढाई दशक अघिको यो दृश्यमा देखिएका मानिस व्यापारसँगै वस्तुपालन पनि गर्ने उद्देश्यले बसेका थिए। यो ठाउँमा टेन्ट लगाएर कञ्चनजंघा जाने विदेशी पर्यटक पनि आराम गर्थे। विस्तारै एकाध घर थपिए। ती घरले एकसाथ होटल र पसलका रूप ल्याए। बटुवाहरू यो ठाउँमा क्रममा बास बस्ने वा खाना खाने गर्थे। बिस्तारै गाडीको बाटो आइपुग्यो। सँगसँगै साना जिप र ट्र्याक्टर चल्न थाले। अनि लालीखर्कको चहलपहल पनि बढ्यो।
म पुगेपछि घरको सुँगुर काटिने भयो। यो सँगुर तिहारमै काट्ने तयारी थियो। तर, म केही समयपछि आउँछु भनेपछि पालेर राखे। यो सुँगुर घरले मेरो स्वागतार्थ राखे पनि सिंगो गाउँले खान पाउनेवाला थियो।
चामल वा अन्य सामानका पसल खोलिए। यहीँबाट गाडी चढ्ने यात्रु तथा किनमेल गर्नका लागि एउटा केन्द्र बन्यो लालीखर्क। तर, अफशोच गाडीको बाटो अघि बढेसँगै लालीखर्कको चमक पनि उडेछ। यो ठाउँ हुँदै गाडी गुडे पनि रोकिन छोड्यो। मान्छेहरू आउन छाडे। लालीखर्कमा अचेल न यात्रु आउँछन्, न किनमेल गर्ने मान्छे। परिणाम चहलपहल हुँदा बनेका अधिकांश घर रित्तो छन्। घरवालाहरू अवसर खोज्दै अन्तै हिँडिसकेका छन्।
गाउँको परिदृश्य
मेरो गाउँ लिम्बूबहुल क्षेत्र हो। पुरानो र मध्यम पुस्ताले अझै पनि लिम्बू गाउँको चरित्र जोगाइरहेका छन्। दुई दिनको जिन्दगी के भर छ र ? मस्त काम ग¥यो अनि उस्तै मस्त तरिकाले जाँड खायो। गाउँमा उत्पादित ९० प्रतिशतभन्दा बढी कोदो जाँड उत्पादनमै खर्चियो। जोश, जाँगर बढाउने होस् वा शरीरको थकान मेटाउने। स्थानीयवासीका लागि जाँड अचुक औषधि हो। गाउँलेहरू कुनै पनि उत्सव मनाउने र खुसी हुने चिज पनि हो जाँड। जाँडसँगै जोडिन्छ सँगुरको मासु।
म पुगेपछि घरको सुँगुर काटिने भयो। यो सँगुर तिहारमै काट्ने तयारी थियो। तर, म केही समयपछि आउँछु भनेपछि पालेर राखे। यो सुँगुर घरले मेरो स्वागतार्थ राखे पनि सिंगो गाउँले खान पाउनेवाला थियो। त्यसैले गाउँलेलाई सुँगुर काट्न मेरो आगमनको व्यग्र प्रतीक्षा थियो। म गएको पर्सिपल्ट सुँगुर काटिने भयो। गाउँलेहरू आए। साथै दाजुभाइ भित्रकै काकाले फेदाङ्माको काम गरे। लिम्बूको चलनअनुसार सुँगुर काट्नुअघि पूजापाठ गर्नुपर्छ। काकाले विधिपूर्वक पूजापाठ गरेपछि, सुँगुर काटियो। गाउँलेले मासुको भाग लगाए। साथै मासु लिन आएका गाउँलेलाई पकाएको मासु र जाँड पनि दिइयो, जो गाउँको चलन हो।
भोलिपल्ट फेरि फेदाङ्मा काका हाम्रो घरमा आए। के कामले आएका थिए कुन्नि, तर तत्क्षण घरमा कोही नभएकाले काका मैसँग गफिन थाले। काकाले घुमाई फिराई जाँड सेवनकै कुरा निकाले।
‘काका यो केको दाग हो ? ’ मैले काकाको गोडातिर इशारा गर्दै सोधेँ।
‘खै के हो के, बुढेसकाल लागेको होला नि’, उनले ठट्यौलो पारामा जवाफ दिए।
‘जँचाउन जानुपर्थ्यो नि’, मैले सल्लाह दिएजस्तो गरेँ।
‘गाको थेँ हाउ, एउटा नर्सले यति औषधि दियो’, उनले हातको इशाराले औषधिको मात्रा देखाउँदै भने, ‘मैले औषधि खाएपछि जाँड खान हुन्छ भनेर सोधेँ। उसले हँदैन भन्यो।’
स्वास्थ्यकर्मीको जवाफले काकालाई दुःखी तुल्यायो। काकाको निष्कर्ष थियो कि जाँडभन्दा औषधि ठूलो हैन। किनकि काकाको बुझाइमा जाँडले हरदिन काम गर्न ताकत दिन्छ। साथै कामको थकानलाई पनि भुलाइदिन्छ। त्यसैले ती स्वास्थ्यकर्मीको अघि केही नभनी चुपचाप औषधि त लिए तर औषधि घरसम्म ल्याइपु¥याएनन्। घर र स्वास्थ्यचौकीबीचको जंगलमा हुर्याइदिए।
नयाँ पुस्तामा भने जाँड प्रयोगको कमी आउँदै गएको देखियो। पहिलेपहिले गाउँमा चिया भनेकै जाँड हुन्थ्यो। घरमा कोही आए औपचारिकताका लागि पनि चिया दिनुपर्थ्यो र पर्छ। त्यो भनेको जाँड हुन्थ्यो। अझै पनि पाको उमेरका घरमा आए भने जाँड नै दिइँदो रहेछ। तर, अब युवा आए भने चिया नै दिने प्रचलन बढ्दै गएको छ। नयाँ पुस्ताले कृषिकर्मको व्यवसायीकरण खोज्ने प्रचलन पनि बढ्दै गएको छ। युवा पुस्ताका केही त विदेशमै छन्। तर, जो गाउँमा छन् उनीहरू अलैंची र चिराइतो खेतीमा आकृष्ट भएको पाइयो। युवा पुस्ता आयमूलक कृषिकर्ममा जोडिन खोज्नु आफैंमा राम्रो हो।
दोष सरकारलाई
निर्वाचनको दिन मंसिर १० पनि आयो। गाउँलेहरू बिहानैदेखि मतदान केन्द्र जान थाले। मतदान केन्द्र हाम्रो गाउँबाट आधा घन्टाको पैदल दूरीमा थियो, कुञ्जारी भन्ने ठाउँमा। हामीभन्दा माथिका गाउँलेहरू पनि हाम्रै गाउँ भएर मतदान गर्न गइरहेका थिए। मतदान गरेर आउने क्रममा हाम्रो गाउँकी एकजना भाउजू बाटोमा बिरामी परिछन्। त्यो बिरामी जाँड सेवनसँगै जोडिएको थियो। भाउजूको विरामले हाम्रो गाउँका केहीलाई एकछिन अलमल्यायो। तर, पहिले पनि यस्तो भएको हुनाले डर भने मानेनन्।
साँझतिर जाँडको अर्को असर देखियो। हाम्रोभन्दा माथिल्लो गाउँका एकजना काकीलाई गाउँलेले बोकेर ल्याइरहेका थिए। कारण जाँड नै थियो। चुनावपछि त्यहाँ खाजापानीको व्यवस्था थियो। त्यो खाजापानीको व्यवस्था राजनीतिक दलले नै गरेका थिए। खाजा उही जाँड थियो। त्यो जाँडले मातेपछि काकी पिसाब फेर्न डिलमा बसेकी थिइन्। तर, भिरालो डिलबाट ती काकी गुडुल्किँदै तल पुगेर बेहोश भइछन्। त्यसपछि गाउँलेले बोकेर ल्याएका थिए।
यी दुई घटनापछि गाउँका बूढापाकाले सरकारलाई गाली गर्न थाले। बूढापाकाको विचारमा सरकारले अशुभ मितिमा चुनाव राखेको थियो। उनीहरूका अनुसार शून्य जोडिएको गते शून्य बार हो। उनीहरूको भाषामा शून्य बार भनेको मृत्यु बार हो। मृत्यु बारमा कुनै काम गरे अशुभ मात्र हुन्छ। कतिको त ज्यानै जान सक्छ। सरकारले मंसिर १० जस्तो मृत्यु बारमा निर्वाचन राखेर नकाम गर्यो। अझ कोही बिराम भएर मात्र खड्को टरेकोमा खुसी थिए।
यस्तो अन्धविश्वास गाउँको नयाँ पुस्तामा भने छैन। उनीहरूले ठोस प्रतिक्रिया त जनाएनन् तर मान्छे बिरामी हुनु वा लड्नुमा जाँडकै प्रभाव रहेको बुझेका थिए। यसमा सरकारको कुनै दोष थिएन। यसरी युवा पुस्तामा आफैंलाई चियाएर हेर्ने प्रचलन बढ्दै गएको छ। चार वर्षपछि गाउँ पुग्दा गाउँ खासै फेरिएको भने पाइनँ मैले।