एसियाको सुनौलो विरासत
पश्चिमा देशले पत्याउनै मुस्किल पर्ने गरी तिलस्मी विकासको उच्चता छोएका छन्। तिनको अद्भुत विकास देखेर तेस्रो विश्वका मानिसको मस्तिष्क रन्थन्याउँछ र ती विष्मयमा रनभुल्ल पर्छन्। ती केवल उपभोक्ता बन्न अभिशप्त हुन्छन्। तिनको मनमा अनेक प्रश्न उब्जिन्छन् र धुवाँसरी बिलाउँछन्।
कसरी सम्भव भएको हो तिनीहरूको विकास ? के पश्चिमी देश पहिलेदेखि नै यस्तै विकसित थिए ? के कारणले ती विकसित छन् ? कसको काँधमा चढेर तिनीहरूले यो सफलताको चास्नीमा डुब्न पाएका हुन् ? कुन चंगुलमा फसेर पूर्वी र अफ्रिकी देशहरू गरिबीको खाडलमा जाकिन लाचार छन् ? यी प्रश्नका जवाफ इतिहासमा छरिएर रहेका छन् तर अहिलेको चकमकको दुनियाँमा तिनलाई विचार्ने र केलाउने फुर्सद छैन।
पश्चिमी देश भनेपछि सधैं विकसित र शक्तिशाली थिए भन्ने कुरा दिमागमा फन्को लगाउन थाल्छ, जुन सत्य होइन। पश्चिमी देशलाई पुँजीवादको उच्चतम प्रयोग भएको उन्नत संसार ठान्छौं तर त्यहाँ किन र कसरी पुँजीवादको विकास हुन सक्यो भन्नेमा ध्यान जाँदैन। युवाहरू पश्चिमी देश जानका लागि घन्टौं लाइनमा टट्टिरहेका हुन्छन् तर तीन सय वर्ष अघिसम्म ती यति विकसित र शक्तिशाली थिएनन्।
एन्ड्रे गुन्डर फ्रान्कले ‘रिओरिन्ट : ग्लोबल इकोनोमी इन् द एसियन एज’ (१९९८) लेखेर पूर्व पश्चिमभन्दा के कुरामा अघि थियो र कसरी अघि थियो भन्ने मनग्य दृष्टान्त प्रस्तुत गरेका छन्। समाजशास्त्री चैतन्य मि श्र यसै पुस्तकलाई आधार बनाएर एसियाको त्यति बेलाको विकासको प्रभावले नै मध्ययुगमा नेपाल सम्पन्न थियो भन्ने तर्क गर्छन्।
सोह्रौं शताब्दीको मध्यबाट युरोप शक्तिशाली बन्दै गएपछि युरोपियनहरूले युरोपलाई केन्द्रमा राखेर इतिहासको रचना गरे, जसमा विश्वका अन्य भागलाई पूरै बेवास्ता गरियो। फर्डिनान्ड ब्राउडेल (१९९२) उल्लेख गर्छन्— युरोपले इतिहासकार आविष्कार गर्यो र आफ्नो आकांक्षा पूरा गर्न तिनलाई राम्रोसँग सदुपयोग गर्यो। तर, युरोपले इतिहास जन्मायो भन्ने कुरा साँचो होइन। हेरोडेटस र थुसाइडिड्सभन्दा अगाडि नै चिनियाँ, पर्सियन र भारतीयहरूले इतिहास लेखन सुरु गरिसकेका थिए।
भूगोलको हिसाबले भन्नुपर्दा युरोप छुट्टै महादेश होइन र यसको समग्र क्षेत्रफल पनि निकै सानो छ। तर, एसियासँग जोडिएको भए पनि आफूलाई महान् र छुट्टै देखाउन युरोपियनले यसलाई अलग महादेश भएको व्याख्या गरे। युरोपियनको इतिहासमा एसियाको विकास र प्रभावलाई बेवास्ता गर्दै तिनलाई सभ्य मानिसमाथि जंगलीले आक्रमण गर्न आएको घटना भनेर उल्लेख गरिएको छ। त्यति बेला एसियालीहरू यति शक्तिशाली थिए कि ती युरोपसम्म आक्रमण गर्न पुग्थे।
पश्चिमका जति पनि चिन्तक र बौद्धिक छन्, तिनले पूर्वलाई बिर्सिएर लेखे। चाहे कार्ल माक्र्स हुन् या चाहे एडम स्मिथ। तिनले पूर्वीय समाजको विषयमा कहिल्यै सकारात्मक धारणा राखेनन्। एसियालाई माक्र्सले परम्परागत, पिछडिएको र अस्थिर उत्पादन भएको समाजको रूपमा लिए भने स्मिथ अमेरिका पत्ता लाग्नुलाई मानव इतिहासकै ठूलो घटना मान्थे। तर, पूर्वीय समाज हजारौं वर्ष पहिलेदेखि नै सभ्य र समृद्ध थियो भन्ने इतिहासमा उल्लेख गरिएका तथ्यले बताउँछन्। यहाँका ऐतिहासिक धरोहरले पनि यही तथ्य बोलिरहेका छन्।
एसिया कति विकसित थियो भन्ने तथ्य उल्लेख गर्दै डोनाल्ड र इड्विलले सन् १९६५ मा सात खण्डमा प्रकाशित पुस्तक ‘एसिया इन द मेकिङ अफ् युरोप’मा उल्लेख गरेका छन्। सोह्रौं शताब्दीका युरोपियनहरू जापान र चीनलाई भविष्यको ठूलो आशा भएका मुलुक ठान्थे। त्यति बेला एसियाका बारेमा युरोपमा धेरै अध्ययन भएका थिए र एसियासँग सम्बन्धित हजारौं पुस्तक प्रकाशित भएका छन्। दक्षिण एसियाकै बारेमा पनि पच्चीसभन्दा बढी र पूर्वी एसियाको साठी पुस्तक प्रकाशित छन्।
सोह्रौं शताब्दीको मध्यबाट युरोप शक्तिशाली बन्दै गएपछि युरोपियनहरूले युरोपलाई केन्द्रमा राखेर इतिहासको रचना गरे, जसमा विश्वका अन्य भागलाई पूरै बेवास्ता गरियोे।
इतिहासमा ५/६ सय वर्ष भनेको त्यति लामो अवधि होइन। त्यति बेला विश्वमा चीनको जति व्यापार कुनै देशको थिएन। उन्नाइसौं शताब्दीमा भएको पश्चिमको औद्योगिकीकरण र उपनिवेशवाद सुरु हुनुभन्दा अघिसम्म युरोप एसियामै भर पथ्र्यो।
बाइरोचले सन् १९८१ मा प्रकाशित गरेको विश्व अर्थतन्त्रसम्बन्धी पुस्तकमा चीन, भारत, जापान, कोरिया, बर्मा, थाइल्यान्ड, भियतनाम, इन्डोनेसियालगायत देशको समृद्धिका बारेमा उल्लेख गरेका छन्। उनका अनुसार इस्तानबुलको जनसंख्या सात लाख थियो, जुन विश्वकै सबैभन्दा ठूलो सहर थियो। त्यसपछि त्योभन्दा थोरै कम जनसंख्या भएको बेइजिङ विश्वकै दोस्रो ठूलो सहर थियो। सन् १५०० मा पेरिसको जनसंख्या केवल एक लाख २५ हजार थियो, जबकि भारतको कलकत्तामा पाँच लाख मानिस बसोबास गर्थे। त्यस्तै इजिप्टको कायरोमा चार लाख ५० हजार मानिस बस्थे। सहरी जनसंख्याको त्यति बेलाको एसियाको विकासको अवस्था बुझ्न मद्दत गर्छ र त्यति बेला एसियाको जनसंख्या पश्चिमी देशभन्दा दोब्बर थियो।
सन् १८०० भन्दा अगाडि संसारमा युरोपको कुनै प्रभुत्व थिएन। त्योभन्दा अगाडि चिनियाँ मिङ÷किङ, भारतीय मुगल र पर्सिया वा टर्कीका साम्राज्य आर्थिक, राजनीतिक र सैनिक शक्तिमा युरोपियनभन्दा कयौं गुणा शक्तिशाली थिए। बारुद प्रयोग गरेर सैन्य हातहतियार र बन्दुकको विकास गर्ने कार्य एसियाबाटै प्रारम्भ भएको थियो। त्यसको धेरैपछि मात्र युरोपियनले एसियाभन्दा आधुनिक हतियार बनाउन सकेका थिए। चिनियाँ जहाज आकार र सुविधामा सम्पन्न हुनुका साथै संख्यामा पनि धेरै थिए र टाढाटाढासम्म यात्रा गर्न सक्थे। सन् १४०५ मा चिनियाँ यात्री झेङ हिले अफ्रिकासम्म व्यापारिक यात्रा सम्पन्न गर्दा तीन सय जहाज र २७ सय मानिस संलग्न थिए। त्यो यात्राको करिब सय वर्षपछि कोलम्बसले अरेबियन समुद्रीयात्री भाडामा लिएर गरेको यात्रामा तीनवटा जहाजमा ९० जना मानिस मात्र सहभागी थिए।
कुल गार्हस्थ्य उत्पादन, कृषि उत्पादन, प्रतिव्यक्ति आय र जीवनस्तरमा एसियाली देश पश्चिमा देशभन्दा निकै अघि थिए। विश्वको ८० प्रतिशत उत्पादन एसियाली देशले ओगटेका थिए। कोइला उत्पादन, धातुको विकास, यातायात र लुगा उत्पादनमा चीन, भारत र जापान संसारमै उच्च थिए। सन् १८०० मा इङ्ल्यान्ड र फ्रान्सको प्रतिव्यक्ति आय १५० देखि २०० डलर हुँदा चीनको प्रतिव्यक्ति आय २२८ डलर थियो। चीनको छपाइ, प्रकाशन र साहित्य युरोपभन्दा निकै बढी प्रभावकारी थियो। चीनमा सन् १३४० मा रंगीन छापाको सुरुआत भइसकेको थियो भने सन् १५८० मा पाँच रङको छपाइ प्रयोग गर्न थालिएको थियो।
चीन
तेह्रौं शताब्दीको चिनियाँ साम्राज्य निकै विशाल थियो, जसले रुसबाट कर उठाउँथ्यो। सन् ११२४ मा चंगेज खानले निर्माण गरेको मंगोल साम्राज्यलाई उनका उत्तराधिकारी ओगदई खानले विस्तार गर्दै युरोपको पोल्यान्डसम्म कब्जा गरेका थिए। घोडसवारी सुसज्जित उनको फौज कति थियो, अहिलेसम्म संख्या यकिन हुन सकेको छैन। उनको सेनाको व्यवस्थापन युरोपियनहरूले कल्पना गरेभन्दा कयौं गुणा राम्रो थियो, जुन युरोपियन आफैंले स्वीकारेका छन्। अचानक ओगदईको मृत्यु भएपछि यो अभियान रोकिएको थियो र मंगोलहरू एसियामा केन्द्रित हुन थाले।
एघारौं र बाह्रौं शताब्दीमा मंगोल आक्रमण हुनुभन्दा अघि सोङ वंशमा पनि चीन विश्वकै आर्थिक विकास भएको क्षेत्रमा पथ्र्याे। सत्रौं शताब्दीको मध्यसम्म मिङ र क्विङ वंशको चिनियाँ उत्पादन, उपभोग र जनसंख्या उच्च अवस्थामा थियो। आर्थिक कारोबार समुद्रपारसम्म फैलिएको थियो।
मध्य युगमा चीन रेशम उत्पादनमा विश्वकै प्रथम देश थियो जसबाट कपडा, पाल, छाता र वाद्ययन्त्रका तारहरू बनाइन्थे। माटोको चिल्लो भाँडा (सेरामिक्स) का लागि चीन विश्वभर प्रख्यात थियो। चीनबाट व्यापारीहरूको समूह रेशम मार्ग हुँदै मध्य एसिया र युरोपसम्म पुग्ने गर्थे। चीनमै कागजको आविष्कार भयो र किताब छाप्ने प्रेस बन्यो। चीनमै संसारको पहिलो अखबार छापियो, जसमा सम्राट्का आदेश र महŒवपूर्ण घटनाका समाचार हुन्थे। कृषिमा पनि चीन उन्नत थियो र सिँचाइको व्यवस्था निकै विकसित थियो। विकसित चिनियाँ चिकित्सा प्रणालीले विफरको खोपको खोज पनि गरेको थियो। कला र साहित्य संस्कृतिमा पनि चीन अब्बल थियो। आठौं र नवौं शताब्दीको चिनियाँ कवितालाई स्वर्ण युग मानिन्छ।
चीनसँग व्यापार सम्बन्ध गाँस्न युरोपियन देश निकै लालायित हुन्थे। यतिसम्म कि एसियालाई बेवास्ता गर्ने अर्थशास्त्रका पिता एडम स्मिथले समेत विश्व अर्थतन्त्रलाई सही मार्गमा हिँडाउन चीनको भूमिका कस्तो हुन्छ भनेर हेर्नुपर्ने लेखेका छन्। तर, सत्रौं शताब्दीसम्म जति बेला चिनियाँ अर्थतन्त्र ओरालो लाग्न सुरु गर्दै थियो, त्यति बेलासम्म पनि युरोपियनलगायत बाहिरी देशलाई चीन प्रवेश गरेर व्यापार गर्न प्रतिबन्ध थियो। सन् १८३९ को पहिलो र सन् १८५७ को दोस्रो अफिम युद्धपछि मात्र युरोपियनलाई चीनमा व्यापार गर्न खुला गरियो।
भारत
खण्डित अवस्थामा रहेको भारतलाई तेह्रौं शताब्दीमा मुस्लिम शासकले एकीकरण गरी आफ्नो कब्जामा लिए, जसको राजधानी दिल्ली थियो। त्यति बेला भारतलाई अकुत सम्पतिको देश भनिन्थ्यो। किसानहरू नहर खन्थे र सुक्खा खेतसम्म सिँचाइ पुर्याउँथे। भारतीय शिल्पकारको कौशल देशविदेशमा ख्याति थियो। त्यति बेला भारतमा काठ, कपडा र भाँडाका ठूल्ठूला कारखाना स्थापना भइसकेका थिए।
भारतीय उपमहाद्वीपमा कयौं बन्दरगाह स्थापना भइसकेका थिए जहाँ चीन, अफ्रिका र अरबका व्यापारी वस्त्र, मसला, रङ, हात्तीदाँत, मूल्यवान् किसिमका काठहरू, आभूषण लगायतका सामान खरिद गर्न भारत आउँथे। भारतका मठमन्दिर र बौद्ध विहार शिक्षाका केन्द्र थिए जहाँ आफ्नै ढंगका विश्वविद्यालय स्थापना गरिएका थिए। मध्यकालीन वास्तुकलामा भारत अग्रणी थियो। त्यति बेला नै ताजमहल निर्माण गरिएको थियो। गणितको विकास भएर कठिन किसिमका समस्या समाधान गर्नसक्ने स्थितिमा पुगिसकेका थिए। साहित्य विकासका लागि साहित्यकारलाई दरबारमै नियुक्त गरिन्थ्यो। मुगलकालमै तुलसीदासले रामायण रचना गरेका थिए। अकबरको कथा उनेर एक दरबारियाद्वारा लिखित ‘अकबरनामा’ त्यति बेला ज्यादै प्रसिद्ध थियो।
जापान
हालै भएका अनुसन्धानले जापानमा तेह्रौं शताब्दीभन्दा अघिदेखि नै महŒवपूर्ण आर्थिक विकास भएको पाइएको छ। सुरुदेखि नै जापानको चीन र कोरियासँग वैदेशिक व्यापार कायम थियो। चीनको सुङ र मिङ शासन कमजोर हुँदा त्यसको पूर्ति जापानले ग¥यो। जापान चाँदी र तामाको उत्पादक एवं निर्यातकर्ता थियो जुन चीन, भारत र दक्षिणपूर्वी एसियामा जान्थ्यो। त्यसका साथै केही सुन, फलाम, फर्निचर, चिया, उच्च स्तरको चामल आदिको व्यापारमा जापान संलग्न थियो। जापानले चीनको जस्तै माटोका चिल्ला भाँडा उत्पादनको विकाससमेत गरेको थियो। उसले चिनियाँ सिल्क र भारतको कपडा प्राप्त गथ्र्यो। यस व्यापारमा चिनियाँ जहाज प्रयोग हुन्थ्यो। सन् १६०४ देखि १६३५ सम्म जापानमा ३५५ जहाज भएको रेकर्ड छ भने हरेक वर्ष चीनबाट चार लाख किलो सिल्क जापान भित्रिन्थ्यो।
नेपाल
एसियाली देश उन्नत अवस्थामा रहँदा नेपालमा मल्ल शासन चलिरहेको थियो। नेपालको अर्थव्यवस्थामा भूमि र कृषिको प्रमुख भूमिका भए पनि व्यापार र उद्योगको पनि त्यत्तिकै महŒव थियो। मल्लकालीन नेपालमा उद्योग र व्यापार कत्तिको समृद्ध थियो भन्ने कुरा त्यति बेला नेपाल आएका विदेशी यात्रीहरूले वर्णन गरेका यात्रा विवरणमा पढ्न पाइन्छ। तिब्बतको ल्हासामा नेपाली वाणिज्य दूत नै रहने व्यवस्था थियो भने तिब्बतको मुद्राको उत्पादन नेपालमै हुन्थ्यो। तिब्बतको माध्यम हुँदै नेपालबाट पित्तल तथा तामाका भाँडाकुँडा, ढलोटका मूर्ति तथा विभिन्न थरीका कपडा चीनसम्म निर्यात हुन्थे। भारततर्फ पनि नेपालका धातुका सामान, जडीबुटी, छाला, हाडको सामान निर्यात हुन्थ्यो। कला संस्कृतिमा मल्लकालीन नेपाल उन्नत थियो भन्ने कुरा त्यति बेला निर्माण भएर काठमाडौं उपत्यकामा हालसम्म अस्तित्वमा रहेका दरबार, ढुंगेधारा र सिँचाइको कुलोले नै प्रमाणित गर्छन्। वास्तुकला मात्र होइन, साहित्यिक विधा कथा, कविता, नाटक, दर्शन आदि क्षेत्रमा मल्लकालीन विद्वान् र राजाहरूको महŒवपूर्ण योगदान रहेको छ।
कसरी विकसित भयो पश्चिम ?
सन् १४०० देखि १८०० को तीन शताब्दी एसियाले विश्व अर्थतन्त्रमा आफ्नो प्रभुत्व कायम गरेको थियो। एसियामा युरोपियनलाई लामो समय व्यापार गर्न पाउने सुविधा उपलब्ध थिएन। युरोपको अर्थतन्त्रलाई उकास्न बजार खोज्दै कोलम्बस सन् १४९२ मा अमेरिका पुगेका थिए। आफ्नो गरिबीबाट छुटकारा पाउन युरोपियनले अमेरिकाको श्रमशक्ति र खनिजको प्रचुर प्रयोग गरे। आफ्नो बजारलाई अमेरिका र अफ्रिकासम्म विस्तार गर्नुका साथै अफ्रिकाबाट दासको व्यापारको प्रमुख धन्दा चलाए। अमेरिकाका आदिवासी रेडइन्डियनलाई प्रयोग गरी त्यहाँको सुन र चाँदी खानीको दोहन मात्र होइन, नयाँ श्रम विभाजन गर्नुका साथै कर प्रणालीलाई चुस्त बनाए। बेलायत, हल्यान्ड, फ्रान्स, जर्मनी, डेनमार्क र रुसले कृषि तथा उत्पादनमा आफूलाई विकास गर्दै लगे। र, आफ्नो गरिबीलाई केही सुधार गरिसकेपछि मात्र युरोप एसियासँग व्यापार गर्नसक्ने स्थितिमा पुग्यो। युरोपियनले अमेरिकी सुन र चाँदी तथा केही उत्पादन लिएर एसिया प्रवेश गर्ने योजना बनाउन सके जति बेला एसियामा चाँदीको माग उच्च थियो। त्यति बेला चीन युरोपको कुनै पनि भागभन्दा विकसित थियो। एसियासँग व्यापार विस्तार गर्न नै भास्को डी गामा लामो प्रयासपछि सन् १४९८ मा भारतको कलकत्तामा आइपुगेका थिए।
अठारौं शताब्दीसम्म पनि भारतको आर्थिक वृद्धिदर उच्च थियो। अंग्रेज नीतिले भारतको अर्थतन्त्रलाई हानि गर्न सकेको थिएन। बंगालमा सन् १७५७ मा अंग्रेजसँगको युद्ध भएपछि मात्र भारतको ओरालो यात्रा सुरु भएको थियो। त्यसको पनि ७० वर्षपछि मात्र सन् १८३० देखि अंग्रेजले पूरै भारतमा प्रभाव पार्न थालेका हुन्, जति बेला बंगालको कपडा उत्पादन ओरालो लाग्न थालेको थियो।
भारतबाट युरोपियनले एसियामा प्रभुत्व जमाउन सुरु गरेका थिए। अटोमन साम्राज्य र चीन निकै पछिसम्म पनि शक्तिशाली थिए। चीनमा युरोपियनलाई देशभित्र रहेर व्यापार गर्न निषेध गरिएको थियो। उन्नाइसौं शताब्दीको सुरुआततिर अफिम व्यापारमा फसेपछि चीन कमजोर बन्दै गयो र अफिमकै कारण दुइटा युद्ध भए। त्यसपछि मात्र युरोपियनले चीनमा व्यापार गर्न पाए र आफू शक्तिशाली हुँदै गएपछि चीनबाट सामान लैजान पनि छाडे।
एसियाकै सहारामा युरोप शक्तिशाली बनेको होइन। युरोप अमेरिका र अफ्रिकाको काँध चढेर शक्तिशाली भएको हो। युरोपियनले सबैभन्दा पहिले एसियन रेलको थर्ड क्लासको टिकट काटे, पहिले एउटा सिट कब्जा गरे र पछि रेल नै कब्जा गरे (फ्रान्क १९९८ः २७८)।
प्रविधिको क्षेत्रमा युरोपको मात्रै हात रहेको जुन चर्चा गरिन्छ, त्यो पनि सत्य होइन। युरोप पहिलेदेखि नै एसियासँग प्रतिस्पर्धात्मक व्यापार चाहन्थ्यो र त्यसका लागि हरदम प्रयास गरिरहेको थियो। चीन र भारत कपडा उत्पादनमा अब्बल थिए र युरोपले त्यसको प्रतिस्पर्धा गर्न सकिरहेको थिएन। त्यस्तै यातायातमा पनि एसिया निकै अगाडि थियो। श्रम मूल्यलाई कम गर्न वाफ इन्जिनको आविष्कार भएपछि युरोपले नयाँ प्रविधि विकास गर्न थाल्यो, जसको प्रयोगबाट उसले एसियालाई टक्कर दिन थाल्यो। एसियासँग प्रतिस्पर्धा नभएको भए युरोपमा यसरी प्रविधिको विकास हुनसक्ने थिएन।
परिवर्तनशील विश्व–व्यवस्था
विश्व–इतिहास हेर्ने हो भने केही शताब्दीको अन्तरालमा विश्व व्यवस्थामा फेरबदल भएको पाइन्छ। आधुनिक विश्व व्यवस्थाका सिद्धान्तकार इमानुयल वालरस्टाइन (१९७५) कुनै समय रोम विश्व व्यवस्थाको केन्द्रमा रहेको चर्चा गर्छन्, तर एसियाको बारेमा उनी त्यति सकारात्मक भेटिँदैनन्। एसिया शक्तिशाली हुँदा पनि उनी युरोपियन देशको मात्र चर्चा गर्छन् र बेलायतअघि पोर्चुगल र स्पेन केन्द्र देश थिए भनी व्याख्या गर्छन्। उनी विश्व व्यवस्था परिवर्तन भइरहने तर्क गर्दै पहिलो र दोस्रो विश्वयुद्धपछि अमेरिका केन्द्रमा आएको उदाहरण पेस गर्छन्।
पश्चिमा देशका विद्वान्हरू वर्तमान विश्व व्यवस्थामा अमेरिकी वर्चस्व अन्ततिर पुगेको र अब एसियाका देशहरू खासगरी चीन र भारत केन्द्रमा आउने अनुमान लगाउन थालेका छन्। यससम्बन्धी बेलायती लेखक गाइडियन राचम्यानले ‘इस्टर्नाइजेसन ः वार एन्ड पिस् इन् द एसियन सेन्चुरी (२०१६)’ शीर्षकमा पुस्तक प्रकाशन गर्दै पूर्वी एसियन देशहरू सिंगापुर, मलेसिया, थाइल्यान्ड, कोरियाबाट सुरु भएको एसियन देशको विकास अब चीन तथा भारतको उदयपछि अझ बलियो भएको र यी दुई देशले आगामी शताब्दीमा विश्व व्यवस्थाको नेतृत्व गर्ने उल्लेख गरेका छन्। पश्चिमी देशमा यस्तो अनुमान गर्ने र व्याख्या विश्लेषण गर्ने लहर नै चलेको छ। यी चर्चा र विकासको मूल प्रवृत्ति केलाउँदा एसियाको पुरानो साख पुनः फर्किने र सबैले एकपटक फेरि एसियाको सुनौलो इतिहास सम्झना गर्ने देखिन्छ।