एकीकरणका अर्का नायक जंगबहादुर राणा

एकीकरणका अर्का नायक जंगबहादुर राणा

नेपालको स्वतन्त्रता बचाउने पृथ्वीनारायण शाहपछि जंगबहादुर नै हुन्।

२००७ साल फागुन ७ गते, नेपालमा जहानियाँ राणा शासनको अन्त्य र राणा–कांग्रेस संयुक्त सरकारको घोषणा हुने खबर कलकत्तामा विद्युत् वेगसरह फैलियो। त्यति बेला यो लेखक त्यही सहरमा अध्ययन गर्दै भर्खर गठन भएको नेपाल कम्युनिस्ट पार्टीमा संलग्न थियो। भारत सरकारको मध्यस्थता र राजा त्रिभुवनको संलग्नतामा दिल्लीमा राणा–कांग्रेस प्रतिनिधिहरूबीच यससम्बन्धी सम्झौता भएको थियो। कांग्रेस समर्थकहरूले त्यस दिनलाई क्रान्तिको विजयका रूपमा स्वागत गरे, कम्युनिस्टहरूले क्रान्तिमाथि ‘गद्दारी’ ठह¥याए भने राणाशासन र त्यसका समर्थकहरूले आफ्नो वर्चश्व हरिएको दिनको रूपमा रुवाबासी गरे।

नयाँ जीवको जन्ममा धाईको सेवा प्रदान गर्ने पक्षले पनि ठोस पारि श्रमिक लिने नै भयो। अबउप्रान्त नेपालको आन्तरिक तथा बाह्य राजनीतिको सञ्चालन भारत सरकारको नीति अनुकूल हुनुपर्ने भयो। एकातिर नयाँ चीनसँग सुसम्बन्ध राख्दै अर्कोतिर नेपाल भूमिबाट तिब्बतमाथि चीनका गतिविधिहरूको फौजी चियो गर्न भारतलाई सजिलो पर्ने भयो, तथापि समग्र रूपमा २००७ साल फागुन ७ गते नेपालको इतिहासमा एउटा युगान्तकारी घटना थियो।

राणाकालमा देशले अनेक नाटकीय मोड लिएको थियो। जहानियाँ शासनलाई मजबुत पार्ने जंगबहादुर कुँवर राणाको शासनको संक्षिप्त चर्चा यहाँ प्रासंगिक ठहर्नेछ।

पृथ्वीनारायण शाहबाट सुरु भएको देशको एकीकरण प्रक्रिया र त्यसले अपेक्षा गर्ने सुधार कार्यहरू सुयोग्य उत्तराधिकारीहरूको अभावले गर्दा अपूरै रहेका थिए। राजा प्रताप शाहपछिको दरबार स्वयं षड्यन्त्रको गतिविधिहरूको केन्द्र भएको थियो। पृथ्वीनारायणपछि एकीकरणमा योगदान गर्ने बहादुर शाह देश निकाला गरिए भने प्रधानमन्त्री जर्नेल भीमसेन थापा तीस वर्षको मुख्तियारीपछि षड्यन्त्रको सिकार भए। थापाको अवसानपछि नेपाल फेरि अस्थिरताको भासमा गाडियो। राज्य–सञ्चालनमा राष्ट्राध्यक्षको दुर्बलताका कारण महŒवाकांक्षी नारीहरूको भूमिका बढ्दै गयो। त्यतिन्जेलसम्म थापा र पाण्डे भारदारहरूले आलोपालो प्रभुत्व जमाएको राजनीतिक वृत्तमा कुँवरको पनि प्रवेश भयो। त्यसको नेतृत्व महŒवाकांक्षी जंगबहादुर कुँवरले गरेका थिए। त्यति बेला उनको पद मात्र कप्तानको थियो। राज्यसत्ताको डोरी महारानी राज्यलक्ष्मीदेवीको हातमा रहेको बुझेका जंगबहादुर उनको विश्वासपात्र बन्न चुकेनन्। महारानीको विश्वास कमाउने बाटोमा उनका साख्खै मामा माथवरसिंह थापा तगारो थिए। स्वयं महारानीले आफ्नो छोरा रणेन्द्रलाई युवराजाधिराज बनाउने ध्येयपूर्ति गर्न भारतमा आत्मनिर्वासनमा बसेका थापालाई स्वदेश फर्काएर प्रधानमन्त्री बनाएकी थिइन्। तर, उनले महारानीको स्वार्थअनुरूप चल्न नमानेकोले उनी राज्यलक्ष्मीको कोपभाजन बनेका थिए। यस्तो स्थिति जंगबहादुर कुँवरका लागि अनुकूल बन्यो।      

राजकाजको कुनै अत्यावश्यक कामका लागि भनेर हनुमानढोका दरबारमा महारानीसमक्ष बोलाइएका प्रधानमन्त्रीलाई नजिकैबाट टाउकोमा गोली हानेर जंगबहादुरले नै मारिदिए र भोलिपल्टै जर्नेल भए। यसरी सत्ता–राजनीतिको भर्‍याङमा उनले दरिलोसँग पहिलो खुड्किलो टेके।

माथवरसिंहको हत्याको चार महिनापछि जर्नेल जंगले महारानीको अत्यन्त विश्वासपात्र जर्नेल गगनसिंहको हत्या गरे। राज्यलक्ष्मीलाई आफ्नो प्रभावमा पार्न गगनसिंहको हत्याको दोष दरबारमा प्रभावशाली रहेका काजी, थापा, पाण्डे र चौतरिया खलकका भारदारहरूमाथि लगाउन आवश्यक थियो। यसका लागि महारानीको सनकबाट मच्चाइएको त्यस हत्याकाण्डमा जंगले प्रधानमन्त्री चौतरिया फत्तेजंग शाहलगायत ५५ जना उच्चपदस्थ अधिकारीहरूको हत्या गराए। यो हत्याकाण्डलाई कोतपर्वको नामले चिनिन्छ। महारानी राज्यलक्ष्मीबाट कोतपर्वको अन्तमा १९०३ सालमा जंगबहादुर कुँवर २९ वर्षको उमेरमा प्रधानमन्त्री तथा फौजका सेनापति बनाइए।

शक्तिशाली जंगले महारानीको महŒवाकांक्षालाई लत्याइदिए। महारानीले विश्वासघाती जंगलाई मार्न उनका शत्रुहरूको समर्थनबाट षड्यन्त्र रचिन्। भण्डारखाल पर्वको नामले बदनाम त्यो काण्ड झन् जंगका लागि खुदो भयो। उनले बाँकी बचेका आफ्ना प्रभावशाली विरोधीहरूलाई राज्यका विरुद्ध षड्यन्त्रमा भाग लिएको आरोपमा मारे, स्वयं राजा राजेन्द्रविक्रम र महारानी राज्यलक्ष्मीलाई बनारस लखेटिदिए। यसपछि जंगको शासन निद्र्वन्द्व रूपमा चल्न थाल्यो।

एकीकरणका लागि हितकारी

शाह राजाहरू त्यसपछि वस्तुतः सत्ताहीन भए। आफूलाई र आफूले तय गरेका रोलवाला शासकहरूलाई जंगबहादुरले कास्की तथा लमजुङका महाराजाको पदवीले विभूषित गराउने नियम बसाले। तर, जहानियाँ शासनको सूत्रपात गरेको भए पनि वस्तुगत रूपमा जंगबहादुरको शासनकाल नेपाल राज्यलाई बलियो बनाउने ध्येयप्रति नै लक्षित हुन पुग्यो। आफ्नो पारिवारिक शासनलाई दिगो बनाउन जंगबहादुरले चलाएका आन्तरिक र बाह्य नीति अन्ततोगत्वा नेपालकै एकीकरण र सुदृढताको लागि हितकारी भए।

सुगौली सन्धिमा नेपालको निकै ठूलो भूभागलाई भारतमा इस्ट इन्डिया कम्पनीको नामले स्थापित अंग्रेज शासनले कब्जा गरेको थियो। जंगबहादुरलाई त्यो घटनाबाट चोट नपरेको हुन सक्तैनथ्यो। अतः उनी अंग्रेज शासनसँग मित्रताकै नीति लिएर नेपाललाई अंग्रेज आधिपत्यबाट बचाउने ध्येयमा लागे।

अतः सन् १८५७ मा भारतका जातीय राजा–रजौटाहरूले मुलुकबाट अंग्रेज शासनलाई भगाउन चलाएको सशस्त्र संघर्षले जंगबहादुरलाई प्रभावित गर्न सकेन। बरु राष्ट्रिय हितको दृष्टिकोणबाट अग्रसर भएर उनले अंग्रेजको सहायता गर्ने उद्देश्य लिए र उनले अंग्रेज कम्पनी सरकारलाई फौजी सहायता दिए। फलस्वरूप भारतमा उठेको सशस्त्र संघर्षलाई सन् १८५८ मा अंग्रेज कम्पनी सरकारले नियन्त्रणमा लिएर विद्रोह समाप्त ग¥यो। सन् १८६० मा हिन्दुस्तानी बेलायती सरकार र नेपाल सरकारका बीच भएको सन्धिमा जंगबहादुरले दिएको फौजी सहायताबाट खुसी भएको अंग्रेज सरकारले नेपाललाई बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी ‘नयाँ मुलुक’ भन्ने नाम दिइएका चार जिल्ला फिर्ता ग¥यो। अर्कोतिर उनले भारतबाट आएका मुख्य राजनीतिक शरणार्थीहरूलाई नेपालमा शरण पनि दिए। तिनलाई फर्काउन अंग्रेज सरकारले दिएको दबाबलाई समेत उनले बेवास्ता गरिदिए। यतिमात्र होइन, उनले नेपालमा अंग्रेज शासनलाई गोर्खा फौज भर्ती केन्द्र खोल्न पनि अनुमति दिएनन्।

अंग्रेजका सामरिक मित्र हुँदाहुँदै पनि जंगबहादुरले काठमाडौं लैनचौरस्थित बेलायती रेजिडेन्ट (एक प्रकारका राजदूत) र उनका केही सहायकहरूबाहेक अन्य अंग्रेजहरूको उपस्थिति देशमा कहिल्यै हुन दिएनन्। यहाँ भएकाहरूमाथि पनि कडा निगरानी राखे। यसरी अंग्रेजहरू भारतमा जस्तै नेपालमा पनि फुट गराएर राज गर्ने कूटनीतिबाट वञ्चित हुन पुगे। जंग शासनको यो विशेषता २००७ सालसम्म कायम थियो।

आफ्नै सन्तानहरूको १०४ वर्षको जहानियाँ क्रूर शासनले नै होला, जंगबहादुरको कार्यले नेपालको इतिहासमा पाउनैपर्ने एक अद्वितीय देशभक्तको मान र मर्यादा पाउन नसकेको देखिन्छ। वास्तवमा अंग्रेज शासनबाट नेपालको स्वतन्त्रता बचाउने पृथ्वीनारायण शाहपछि जंगबहादुर नै हुन् भन्नुमा आपत्ति नहोला।

पृथ्वीनारायण शाहको पालादेखि बेलायती इस्ट इन्डिया कम्पनी सरकारले नेपाल पनि कब्जा गरेर हिन्दुस्तानी साम्राज्यमा गाभ्ने रणनीति चलाएको थियो। तर, त्यसमा सफल हुन सकेको थिएन। सन् १८५० सम्म पनि चलेको यो रणनीति बुझेका जंगबहादुरले ‘शत्रुलाई मित्र बनाउने नसके तटस्थ बनाउने’ नीति आफ्नो देशभन्दा धेरै बलियो र ठूलो बेलायती कम्पनी सरकारप्रति सुरु गरे। जंगबहादुरका आफ्नै जहानियाँ सहयोगीहरूले पनि बुझ्न नसकेका वा मन नपराएको पनि हुनसक्ने यस नीतिलाई उनले दृढताका साथ लागू गरे भन्नु पनि असत्य नहोला। जंगबहादुरको दूरदर्शिताको योभन्दा ठूलो उदाहरण अर्को हुन सक्तैन।

०००

शासनसत्तामा आफ्नो पूरै नियन्त्रण राख्नुका साथसाथै जंगबहादुरले निजामती तथा फौजी कार्यहरूमा अनुशासन र सुचारुपन ल्याउने दृष्टिबाट वार्षिक पजनी र थमौती प्रथा चलाए। स्वयं श्री ३ महाराजमुनिका चिफ साहेबदेखि लिएर साधारण कर्मचारीसम्म पनि यो नियमअन्तर्गत पर्दथे। जंगबहादुरले देशको लिखित कानुन मुलुकी ऐन लागू गराए, जग्गा–जमिनको स्रेस्ता राख्ने मोठ व्यवस्था गरे तथा ऐनखाना, किताबखाना र भन्सार अड्डा स्थापित गर्न लगाए। उनले नेपालको प्रशासनलाई आधुनिक बनाउने कार्यको थालनी गरे।

षड्यन्त्र, हत्या, सिकार र आइमाईका औधी प्रेमीका रूपमा पनि जंगबहादुर चिनिन्छन्। तर, नेपालको इतिहासमा नकारात्मक रूपमा चित्रित भए पनि उनी ऐतिहासिक परिस्थितिले पैदा गरेको एक कर्मठ र प्रतिबद्ध नायक हुन् भन्ने कुरामा दुर्ईमत हुन सक्दैन। नेपालको भूमिमा चार जिल्लाहरू पुनः एकीकरण भएपछि जंगबहादुरले मुलुकको सीमा संरक्षणका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको दसगजा नामक तटस्थ इलाकाभरि ‘जंगे पिलर’ बनाउन लगाए। यो दूरदृष्टिको कदम थियो।

दुर्भाग्यवश, नेपालका आधुनिक शासकहरूका कारण आज यो सीमा हाम्रो दक्षिणी छिमेकीको बक्रदृष्टिमा परेर पचासौं स्थानमा मिचिएको छ। कतिपय स्थानमा ‘जंगे पिलर’लाई भारतीय भूमिभित्रै पारिएको छ भने कतिपय स्थानमा त्यसलाई भत्काइएको छ।

जंगबहादुरको बेलायत भ्रमण

सन् १८४६ को सेप्टेम्बरमा देशका प्रधानमन्त्री तथा प्रधानसेनापति बनेको झन्डै चार वर्षपछि जंगबहादुरलाई बेलायतको सरकारले सरकारी यात्रा गर्न निम्त्यायो। उनी नेपालका महाराजाधिराजका सर्वाधिकारसम्पन्न प्रतिनिधिका रूपमा सन् १८५० जनवरी १५ (विसं १९०६ माघ) मा आफ्ना दुई भाइ कर्णेल जगतशमशेर र कर्णेल धीरशमशेरलगायत अन्य भारदारहरूसँग बेलायत गए। टोलीमा अन्य अफिसर, अंग्रेजी भाषा बोल्नसक्ने २÷३ जना मान्छे, बाहुन र नोकरचाकरहरू गरी जम्मा ४० जनाको डफ्फा थियो।

जंगबहादुरले त्यति बेला बेलायत र फ्रान्सको राजकीय भ्रमण गर्नु पनि उल्लेखनीय घटना थियो। यसअघि एसियाको कुनै पनि भूभागबाट त्यस्तो सर्वाधिकारसम्पन्न विदेशी अतिथिले बेलायत जस्तो एकमात्र विश्वशक्ति राष्ट्रको भ्रमण गरेको थिएन। बेलायतकी शक्तिशाली एवं चतुर साम्राज्ञी महारानी भिक्टोरियाले जंगबहादुरसँग सन् १८५० को जुन १९ देखि २५ सम्म गरी चारपटक भेटवार्ता गर्नुलाई एक सम्मानयोग्य राजनीतिज्ञका रूपमा जंगको कौशलको परिचय पाइन्छ।

सन् १८५७ मा भारतमा अंग्रेज शासनलाई फौजी मद्दत दिने मौका छोप्नको पछाडि जंगबहादुरले सन् १८५० को मे महिनामा सुरु गरेका तीन महिनाको बेलायत यात्राले आधारभूत भूमिका खेलेको ठानिन्छ।

घरभेटी पक्षको चयनमुताबिक बंगाल नेटिभ इन्फ्यान्टीको ३२औं रेजिमेन्टका कप्तान ओरफेयुर क्याभेनागले दोभाषे तथा सवारी मन्त्रीसरह भएर जंगको सवारी चलाएका थिए। यात्रापछि उनले सन् १८५१ को सुरुका दुई महिनामा केही दिन नेपालको राजधानीमा बिताएका थिए। उनी लेख्छन्, ‘(प्रधान) मन्त्रीको हैसियतमा जंगबहादुरको जीवन कुनै दाग लाग्न नसक्ने रहेको भने पनि हुन्छ। उनी वर्तमान कालखण्डमा जुन देशको भाग्यविधातासरह भएका छन्, त्यसको मंगल कल्याणका लागि उनी अनवरत रूपमा लागिपरेका छन्। आफ्नो कार्यकाल सम्हाल्दा उनी निरन्तर अशिक्षित थिए। बालखकालको हठी र जिद्दीवाल बानीबेहोराले गर्दा उनी पढ्नलेख्न क्यै जान्दैनथे। पढेलेखेको गुण नभए त आफूलाई आफ्नो वरिपरिका मानिसहरूले आफ्नो स्वार्थअनुसार खेलाउन सक्ने र यस प्रकारले आफू अनुचित काम गर्न पुग्ने भन्ने बुझेर उनले आफ्नो फुर्सदको समय अध्ययन गर्नमा बिताए। एक वर्षपछि नै उनले पूर्ण कुशलताका साथ लेखापढी गर्ने र राजकाजसम्बन्धी कागतपत्र आफ्नै हातले लेखेर पढाउने योग्यता हासिल गरिसकेका थिए।’

क्याभेनाग अगाडि लेख्छन्, ‘जंगबहादुर बहादुर, क्रियाशील र आँटिला छन्। साथै उनी ठूलो मात्रामा स्वभावगत चतुरता मिसिएको होशियारीपनले पनि युक्त छन्। उनीमा दृढता र आत्मसंयमजस्ता प्रशंसनीय सैन्य नायक बन्न सुहाउने सबै गुणहरू विद्यमान छन्। उनी अत्यन्त चनाखो छन्। मानिस र काइदा–कानुनका बारेमा उनका टीकाटिप्पणीबाट उनले मानव प्रवृत्तिको गहन अध्ययन गरेको जनाउने सांसारिक ज्ञानको परिचय दिन्छ। यस्तो पायक नपर्ने, टाढाको देशमा जीवन बिताएका मानिसमा यस्तो ज्ञान सितिमिति भएको पाइँदैन। न्यायोचित मात्र होइन कि हर दृष्टिबाट निश्चित रूपले कोमलपन पनि भएका अनि स्वभावतः निर्दयी अथवा वा हिंसात्मक कर्मप्रति उन्मुख नभएका यी शासकमा आत्महितले सधैं नै सबभन्दा माथिल्लो स्थान लिएको छ।’ (आरआर जोर्डन लिखित पुस्तक ‘फ्रम मिसिनरिज टु माउन्टेनियर्स : अर्ली इन्काउन्टर्स इन नेपाल’ काठमाडौं २०१०, पृष्ठ ७६ बाट)

सत्तामा टिकिरहने जंगबहादुरको महत्वाकांक्षाले देखाएको क्रूरताभन्दा बेग्लै ढंगले चित्रण भएको यस शब्दचित्रले बेलायतको साम्राज्ञी शासनको नेपालभित्र बलियो र भरपर्दो शासक पाउने व्यग्रतालाई पनि देखाउँछ। जंगबहादुर सँगसँगै तीन महिना बिताएको यात्रा र भेटघाटको निचोडका रूपमा आएका यी अभिव्यक्तिले उपर्युक्त निष्कर्षमा आउन बेलायत सरकारलाई सघाएकोमा आश्चर्य ठान्न सकिन्न। यसप्रकार जंगबहादुरबारे यी अंग्रेज फौजी अधिकृतका विचार एवं उक्तिबाट प्रभावित भएर नै बेलायतको साम्राज्ञी शासनले उनीप्रति पछिका वर्षहरूमा मित्रता र सहयोगको अपेक्षा गरेको हुनुपर्छ। यसबाट नेपालको भूक्षेत्रमा परेको सकारात्मक प्रभावलाई नकार्न सकिँदैन।

इतिहासका अन्वेषक प्रा. खगेन्द्रबहादुर केसी जंगबहादुरको बेलायत भ्रमणलाई यसरी मूल्यांकन गर्छन्, ‘जंगबहादुरले एकएक गरी आफ्ना विरोधीलाई पन्छाउँदै उत्रेपछि अब कुनै खतरनाक शत्रु बाँकी छैन भन्ने पक्का भएपछि अंग्रेज सरकारसँगको नेपालको सम्बन्ध सुधार गर्नेतिर लागेका हुन्। अंग्रेजहरूसँग उनी अंग्रेजी भाषाकै एक भनाइबमोजिम चल्न थाले। त्यो हो— एक हातमा गाँजर (मुला) र अर्को हातमा लट्ठी लिएर घोडा तालिम गर्नु’।

छिमेकी भारतमा अंग्रेजको सरकार थियो। ऊ भारतका राजारजौटाहरूका देशहरू एकएक गर्दै हड्पदै आफ्नो अधीनमा गराउँदै थियो। ऊसँग नेपालजस्तो सानो र गरिब देशले दिन पर दिन मजबुत जरा हाल्दै बलियो हुँदै अघि बढिरहेको देशसँग पौंठाजोरी खेलेर कति दिन टिक्ने ? भीमसेन थापाले ऊसँग टक्कर लिनाले आखिर नेपालको के हालत भयो जगजाहेर थियो। सुगौली सन्धिमा नेपाललाई नराम्रोसँग घुँडा टेकाएर छाडेको मात्र थिएन, तराई–पहाड गरी झन्डै आधा नेपाल नै उसले खाएको थियो। सन्धिमा सही गर्नुअघि नेपालले अंग्रेज सरकारको राजदूत राख्न अन्कनाएपछि जनरल अक्टरलोनीले प्रस्टसँग भनिदिएका थिए, ‘राजदूत राख्ने भए राख, नराख्ने भए लड।’ त्यस्तो हाँक दिँदा नेपालले आफ्नो त्यस बखतको हविगत हेरी लाचारसाथ सन्धिमा सही गर्नु परेको थियो। (‘२००७ सालको क्रान्ति र २०१७ सालको कु’, पृष्ठ ११६)

बेलायत यात्राबाट फर्केपछि जंगबहादुर अंग्रेज तामझाम र समृद्धिसामु बिके भनी कोही भन्छन्। तर प्राडा केसी लेख्छन्, ‘जंगबहादुरले इङ्ल्यान्डको सफरबाट धेरै कुराहरू सिकी ती कुराहरू नेपालमा मिलेसम्म लागू पनि गरे। बेलायतको सामाजिक जीवनका धेरै कुरा आफूले सिकी र त्यहाँको अनुशासित जीवनपद्धति देखी त्यस्तै समाज र जीवन आफ्नो देशमा पनि बनोस् भन्नेमा लागे। नेपालको जंगी कानुन तथा ऐनमा धेरै सुधार ल्याई सन् १८५३, डिसेम्बर १९ देखि मुलुकी ऐनको नाउँमा लागू हुने गरी लिखित रूपमा ऐन कानुन दिने उनी नै पहिला शासक हुन्। त्यसैगरी सैनिकमा पनि सुधार गरी हतियार बनाउने कलकारखानाहरू सुरु गरी तोपढलान गर्ने, गोलीगठ्ठा र बारुद बनाउने काम पनि आफ्नै देशमा सुरु गरेका हुन्।’ (ऐजन कृति पृष्ठ १२०)।

जंगबहादुर अंग्रेज सभ्यता र उपलब्धिबाट निश्चय नै प्रभावित भएका थिए। तर, त्यसको सदुपयोग उनले देशको गुमेका भूभागको केही अंश मुलुकमै फर्काउने र देशको साँधसीमाको सुव्यवस्था गर्ने दसगजा निर्माणद्वारा पनि गरे। बेलायतको सफल भ्रमणपछि फ्रान्सको भ्रमण गरी जंगले राजधानी पेरिसमा ठूलो फौजी समारोहमा भाग लिएर दुवै भ्रमणबीच सन्तुलन ल्याउन खोजेको देखिए पनि उनी मूलतः अंग्रेजप्रतिको मित्रता नै लाभदायक हुने कुरामा विश्वस्त देखिन्थे।

जंगबहादुरको चर्चा कार्ल मार्क्सको उल्लेखबिना पूरा हुन सक्तैन। जंगले बेलायतको यात्रा गर्दा मार्क्स पनि लन्डनमै बस्थे। दर्शनशास्त्र, अर्थशास्त्र तथा राजनीतिशास्त्रको ज्ञानविज्ञानमा सिद्धहस्त एवं विश्ववन्दनीय ती विद्वान्को नजरमा जंग पर्नु आफैंमा एउटा असाधारण घटना देखिन्छ। तर, अंग्रेज साम्राज्यवादविरुद्ध उठेका योद्धाका रूपमा भीमसेन थापाको मुक्तकण्ठले प्रशंसा गर्ने मार्क्स जंगबारे अत्यन्त नकारात्मक रूपमा प्रस्तुत हुनुलाई २००७ सालपछिका यस लेखकजस्ता राजनीतिक विद्यार्थीलाई धेरै लामो कालखण्डसम्म पनि कुनै उदेकलाग्दो थिएन, बरु ‘अंग्रेजहरूको काखे कुकुर’को नामले डामेर उनको निन्दा गर्दा पनि हामीहरू राणाशासनको विरोध गरेको भनेर मार्क्सकै जयगान गर्ने गथ्र्याैं। तर, आज निष्पक्ष ढंगले नेपालको इतिहास अध्ययन गर्दा थापाबाट जंग कालखण्ड आइपुग्दा नेपालको स्वतन्त्र अस्तित्व र पहिचान तथा उसको सम्प्रभुताको प्रश्नले बेग्लै परिदृश्य र अर्थ लिइसकेको पाइन्छ। अर्थात्, अंग्रेज साम्राज्यवादविरुद्ध लडेर राष्ट्रको स्वाधीनता जोगाउने थापा सोचको साटो त्यही साम्राज्यवादी शक्तिको औकात र सैन्य सामथ्र्यको यथार्थ अध्ययन गरेर मुलुकको रक्षार्थ बेग्लै रणनीति लिनुपर्ने आवश्यकतालाई देशभक्त जंगले बुझेका रहेछन्। यस्तो टड्कारो तथ्य मार्क्सको तीक्ष्ण दिमागबाट ओझेल हुनु नपर्नेथ्यो।

मार्क्सका कथनप्रति अघिअघि खास ध्यान नदिइएको भए पनि वर्तमान कालमा नेपालको राष्ट्रिय सम्मान र सार्वभौमसत्तामाथि, नेपालको भाषा र संस्कृतिमाथि नै विदेशीहरू मिलिजुली खनिइरहेका बेला मार्क्सवादीलगायत प्रत्येक नेपाली देशभक्तले जंगप्रतिको उक्त टिप्पणीमा विमति नजनाई रहन सक्तैन। जंगबहादुरले नेपाल राष्ट्रको स्वतन्त्र अस्तित्व रक्षामा विशिष्ट योगदान गरेको अडान नलिई रहन सक्तैन।

यहाँ के पनि स्मरणीय छ भने मार्क्सद्वारा जर्मनीको एकीकरणका सूत्रधार भनेर प्रशंसा पाएका फौजी मार्सल विस्मार्क पछि सन् १८७१ मा पेरिस कम्युनको मुख्य हत्यारा फ्रान्सेली बामपुड्के थियर्सको पक्का संरक्षक भई कम्युनार्डहरूको रगतको खोलो बगाउँदै आततायी आक्रमणकारी भूमिकामा उत्रिँदा मार्क्सबाट नै निन्दित भएका थिए। सोही समयमा कुनै बेला जंगले हात्ती समातेर ठेकेदारलाई बुझाउने जस्तो निम्न व्यवसायमा लागे। पछि प्रधानमन्त्रीसम्म बनेका जंगबहादुर नेपाललाई आन्तरिक रूपमा स्थिरता प्रदान गर्ने नियम–कानुन–ऐन बनाई तिनलाई लागू गर्ने र देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सरहद रक्षार्थ ‘जंगे लठ्ठाहरू’ खडा गर्न व्यस्त थिए। यिनै कार्यमा र नेपाली जवानहरूलाई आफ्नो फौजमा भाडाका सिपाहीका रूपमा भर्ना गर्न अंग्रेज सरकारलाई अनुमति नदिने आफ्नो नीतिमा अडिग अनि आफ्नो देशमा अंग्रेजका विरोधी व्यक्तित्वहरूलाई राजनीतिक शरण दिने मानवीयतामा जंगको कीर्तिको वास्तविक पहिचान निहित छ। यस्तो महत्वपूर्ण तथ्य मार्क्सको जानकारीमा नआउनु बडो दुःखलाग्दो कुरो हो।

नेपालको इतिहासमा सत्ता प्राप्तिका व्यूह रचनाकार, योग्य प्रशासक, सुधारक, देशको प्रभुसत्ता एवं क्षेत्रीय अक्षुण्णताका कर्मठ संरक्षक, कुशल कूटनीतिज्ञ, प्रभावशाली राजनीतिज्ञ थिए जंगबहादुर।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.