क्यान निलम्बनबारे आईसीसीको धारणा : समयसीमा तोकी काम अघि बढाइने
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली क्रिकेटमाथि लगाइएको निलम्बन फुकुवा गर्ने विषयमा निर्णायक मानिएको नेपाल क्रिकेट संघ (क्यान) को नयाँ विधानको स्वीकृति र सोही विधानअनुसार हुने निर्वाचन पूरा गर्न निश्चित समयसीमा तोकेर काम अघि बढ्ने बताएको छ । आईसीसीले यस पटकको समयसीमालाई कडाइका साथ पालना गरिने पनि जनाएको छ ।
नेपाल भ्रमणका क्रममा गत आइतबार र सोमबार क्यानको निर्वाचित समिति, सल्लाहकार समूहका पदाधिकारी तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टलाई भेटेर फर्किएको आईसीसीले बिहीबार विज्ञप्ति प्रकाशित गरी आफ्नो नेपाल भ्रमण फलदायी भएको पनि जनाएको छ।
‘क्यानको निलम्बन फुकुवा गर्ने सम्बन्धमा आईसीसी उपाध्यक्ष इमरान ख्वाजा नेतृत्वको टोली नेपालमा केही महत्वपूर्ण छलफल गरी फर्किएको छ’, आईसीसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस पटकको भ्रमणमा सल्लाहकार समूहले तयार पारेको विधानलाई स्वीकार गर्ने विषयमा केही महत्वपूर्ण सहमति पनि भएका छन् । यो प्रक्रियालाई अघि बढाउन अब हामी निश्चित समयसीमा तोकेर कडाइका साथ लाग्नेछौं ।’
विज्ञप्तिमा यस पटकको प्रयास आगामी जुन महिनामा हुने आईसीसीको निर्वाचन साधारणसभामार्फत क्यानमाथिको निलम्बन हटाउने सम्बन्धमा महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरिएको छ । उपाध्यक्ष ख्वाजा नेतृत्वको टोलीको यो साताको नेपाल भ्रमणका क्रममा केही महत्वपूर्ण सहमति भएको थियो । यसअघि विवाद देखिएका सबै विषयमा सहमति बनेपछि ख्वाजा नेतृत्वको टोली जुनमा हुने आईसीसीको चुनावी साधारणसभा अघि नै क्यानमाथिको निलम्बन फुकुवा गर्ने आश्वासनसहित फर्किएको थियो ।
आईसीसीले निकट भविष्यमा बन्ने स्वतन्त्र प्यानल (मनिटरिङ कमिटी) ले यी सबै प्रक्रियाको अवलोकन गर्ने पनि उल्लेख गरेको छ । पछिल्लो सहमतिमा आईसीसीको तीन तथा राखेप र क्यानको निर्वाचित समितिका एक÷एक गरी पाँच सदस्यीय मनिटरिङ कमिटी गठन गर्ने तथा सोही समितिलाई यसअघि सम्पन्न जिल्ला निर्वाचनको अवलोकन गरी विवाद देखिएका स्थानमा पुनः निर्वाचन गराउने जिम्मेवारी दिनेछ ।
यसैगरी प्रदेश र केन्द्रको निर्वाचन पनि मनिटरिङ कमिटीले अवलोकन गर्नेछ । त्यसअघि निर्वाचन क्यानको विशेष साधारणसभा बोलाएर पछिल्लो सहमतिसहितको विधान र मनिटरिङ कमिटीलाई अनुमोदन गर्नु पर्नेछ ।