भ्रष्टाचारीलाई छोड्दिनँ
लामो समय प्रवासमा रहेर राजनीति गरेका माओवादी नेता त्रिलोचन भट्ट प्रदेश ७ को मुख्यमन्त्री चुनिएका छन्। ७ नम्बर प्रदेशको समृद्धिका लागि जल, जडिबुटी र पर्यटन महत्वपूर्ण हुने ठान्ने उनी आफ्नो प्रदेशबाट भारत र तेस्रो मुलुकका लागि हुने युवा पलायन रोक्ने योजना सुनाउँछन्। शिवराज भट्टले मुख्यमन्त्री भट्टसँग गरेको कुराकानी :
तपाईंको प्राथमिकता के हो, प्रदेश ७ को समृद्धिका लागि ?
हामीले लामो समय राजनीतिक लडाइँ गर्यौं। मुलुक राजनीतिक रूपमा अधिकारसम्पन्न भएको छ भने जनताका प्रतिनिधिले लेखेको संविधान हामीले पाएका छौं। अब समृद्धि र विकासका लागि अघि बढ्नुपर्छ। प्रदेशको जग बलियो बनाएर विकास र समृद्धिको दिशामा अघि बढ्नु मेरो प्राथमिकता हो।
प्रदेशको समृद्धिका आधार केके हुन् ?
समृद्धिका धेरै आधारहरू छन्। जलविद्युत् पहिलो प्रमुख आधार हो। प्रदेश ७ मा मात्रै ३० हजार मेगावाट जलविद्युत् उत्पादन क्षमता छ। महाकाली नदीमा बन्ने पञ्चेश्वर परियोजना तथा कर्णाली नदी र सेती नदीबाट मात्रै पनि हाम्रो कायापलट हुन सक्छ।
अब कसैको मुख ताकेर बस्ने होइन, संघीय सरकारसँग मिलेर जनताको सहभागितामा आफूले बनाउन सक्ने योजना अघि बढाउने हो। अहिले ३० मेगावाटको चमेलिया राष्ट्रिय प्रसारणमा जोडिएको छ। त्यो नेपाल सरकारले बनाएको आयोजना हो। चमेलियामा मात्रै धेरै त्यस्ता अपार चमेलियाहरूको सम्भावना छ।
हामीलाई विदेशीले पश्चिम सेतीको सपना देखायो तर अहिले आएर त्यो तातो न छारो भएको छ। अब हामीले आफ्नो सामथ्र्यमा जलविद्युत् आयोजना बनाउनुपर्छ। पश्चिम सेती अहिले चर्चामा आउन छोडेको छ।
मेरो प्रयास पश्चिम सेती हाम्रै लगानीमा बनाउनेमा रहनेछ। अझ ससाना धेरै नदी छन्। बूढीगंगा र कालंगाको जलको पनि भरपूर प्रयोग गर्नुपर्छ। बहुमूल्य यार्सागुम्बा हामीसँगै छ। हामी ती कीरा हुन् भन्दै सिंगै बेचिरहेका छौं। प्रदेश नम्बर ७ जडिबुटीको भण्डार हो, तर अहिले त्यो जडिबुटी चीन र भारतमा कौडीको भाउमा निकासी भइरहेको छ। अब जडिबुटी प्रशोधन गरेर त्यसलाई ‘भ्याल्यु एड’ गर्नुपर्छ।
हाम्रोमा कृषिका सम्भावना यति प्रचुर छन् कि त्यसका लागि किसानमुखी नीति बनाउन आवश्यक छ। डडेल्धुरामा बेमौसमी आलुले त्यहाँको अर्थतन्त्र धानेको छ। त्यो आलुको उत्पादन सातवटै पहाडी जिल्लामा लैजानुपर्छ। त्यसो हुँदा किसानका लागि माटो परीक्षण गरेर उनीहरूलाई फाइदा हुने गरी कृषि नीति ल्याउनेछु। नदीका फाँटहरूमा मात्रै अन्न फलेका छन्, अब फलफूल र तरकारी फलाउनुपर्छ। किसानलाई अनुदानको व्यवस्था गर्ने सोचमा छु।
नेताहरूले त भन्ने मात्रै त हुन् नि, गरेको त खासै देखिँदैन नि ?
म भन्ने पनि हो तर त्योभन्दा बढी गर्ने पनि हो। मैले आफ्नै बारीमा तरकारी खेती गरिरहेको छु। अन्न उत्पादनमा भन्दा तरकारीमा बढी फाइदा हुन्छ भन्ने मलाई थाहा छ। हुन त मलाई संविधानसभाका दुवै निर्वाचन हारेर निराश भएर तरकारीतिर लाग्यो पनि भने। कृषि पेसा पढेलेखेकाले गर्ने हो, यसमा सम्भावना छ भने कुरा म जनतालाई देखाउँछु।
भारतमा हुँदा चौकीदारीसम्म गर्नुभयो, अहिले पनि त्यहाँ धेरै नेपाली युवा चौकीदारीमा छन्। तिनका लागि के योजना छ ?
म सुदूरपश्चिमबाट युवा पलायन रोक्ने योजना बनाउँछु। एकै वर्षमा पलायन रोक्छु त म भन्दिनँ तर पहिले प्रदेश नम्बर ७ मा सम्भावना देखाउनेछु। अधिकांश भारत जाने युवा उता गएर पनि गाईफार्ममा काम गर्छन्, आलु गोड्छन्, स्याउ र सुन्तला बारीमा चौकीदारी गर्छन्। त्यो सम्भावना प्रदेश नम्बर ७ मा पनि छ। त्यही काम यता गरे देश बन्छ। सीप सिकेका युवाको श्रमलाई स्वदेशमै प्रयोग गर्ने वातावरण बनाउनेछु।
देश भ्रष्टाचारको दलदलमा रहेको बेला तपाईंका योजना कसरी कार्यान्वयन होलान् ?
देशको विकासको वाधक भ्रष्टाचार हो। म मजदुरी गरेर आएको व्यक्ति भएकाले मलाई मजदुरका पीडा थाहा छ। अब ती मजदुरले तिरेको करमा रजाइँ गर्न पाइन्न। भ्रष्टाचारमा शून्य सहनशीलता मेरो प्राथमिकतामा रहनेछ। मेरो पहिलो कारबाहीमा भ्रष्टाचारी पर्नेछन्।
तपाईंको आश्वासन कसरी पत्याउने ?
म गरेर देखाइदिन्छु। म भ्रष्टाचार गर्दिनँ। मैले प्रण गरिसकें– म जस्तो रूपमा संसद्मा गएको छु, पाँच वर्षपछि त्यस्तै फर्किनेछु। मसँग मेरो अहिले भएको सम्पत्तिबाहेक केही हुने छैन।
प्रदेश राजधानी तराईमा भयो, पहाडका जनतालाई कसरी सम्बोधन गर्नुहुन्छ ?
प्रदेश नम्बर ७ मा ७ वटै पहाडी जिल्ला छन्। यो अहिले अस्थायी राजधानी हो। पछि स्थायी राजधानी जहाँ पनि हुन सक्छ। तर तराई र पहाडलाई जोड्नका लागि हामीले लामो समयदेखि चर्चा गरेका तर निर्माण हुन नसकेका द्रूत मार्गहरू बनाउनुपर्छ। धनगढी, खुटिया, दिपायल द्रूतमार्ग ९२ किलोमिटर छ। अहिले दिपायलबाट धनगढी पुग्न मोटरमा कम्तीमा पनि सात घन्टा लाग्छ, यो बाटो बनेमा तीन घन्टामा दिपायलबाट धनगढी पुगिन्छ।
देशको विकासको वाधक भ्रष्टाचार हो। म मजदुरी गरेर आएको व्यक्ति भएकाले मलाई मजदुरका पीडा थाहा छ। अब ती मजदुरले तिरेको करमा रजाइँ गर्न पाइन्न।
सेती लोकमार्ग छ, त्यसले पनि अहिलको सडकभन्दा धेरै जिल्लालाई आधा दूरीमा पार्छ, उता महाकाली करिडोर छ, त्यसले पहाड र तराईको दूरी घटाउँछ। अब कहिलेसम्म ट्र्याक खोल्ने र कालोपत्रे गरिसक्ने भनेर ती द्रूत मार्गको निर्माणका लागि एउटा कार्ययोजना बनाउनुपर्छ। पहाडको समृद्धिपछि मात्रै हाम्रो प्रदेश समृद्ध हुन्छ।
पर्यटनबारे तपाईंका योजना के छन् ?
प्रदेश नम्बर ७ मा पर्यटन विकासका दुई आधार छन्। पहिलो, यहाँ पर्यापर्यटनको अपार सम्भावना छ। खप्तड, रामारोसन, शुक्लाफाँटा, टीकापुर अपि साइपालमा पर्यापर्यटनका सम्भावना खोजिनुपर्छ। निजी क्षेत्रसँग मिलेर त्यसका लागि प्रदेश सरकारले आवश्यक नीति बनाउनेछ। अर्को भनेको धार्मिक पर्यटन हो। हाम्रोमा भगवती, उग्रतारा, शैलेश्वरी, त्रिपुरासन्दरी, निङ्लाशैनी, बडीमालिकालगायतका देवी छन्। अझ बझाङको चीनसँगको नाका खोल्न सकियो र हामीले उरै भञ्ज्याङ भएर ताक्लाकोट जोड्न सक्यौं भने यो प्रदेशमा भारतीय मानसरोवर जाने पर्यटकसमेत आउनेछन्।
अहिलको मानसरोवरको यात्रा भारतीय यात्रीका लागि एकदमै महँगो छ। भारतका विभिन्न स्थानबाट काठमाडौं, नेपालगन्ज, सिमीकोट हुँदै ताक्लाकोट यात्रा गर्दा भारतीय यात्रुको दुईदेखि अढाई लाखसम्म भारु खर्च हुन्छ। हामीले बझाङको नाका व्यवस्थित पार्न सक्यौं भने २२ करोडको जनसंख्या रहेको उत्तर प्रदेशको पर्यटकलाई नै हामीले धान्न सक्दैनौं। प्रदेश सरकारले यसमा ध्यान दिनेछ।
उद्योग खोल्नका लागि केके काम गर्ने योजना छ ?
प्रदेश नम्बर ७ मा केही खाद्य उद्योगबाहेक अरू उद्योग नै छैनन्। म अब प्रदेश उद्योग खोल्नका लागि निःशुल्क जग्गा, विद्युत् आपूर्ति र लगानीकर्ताको लगानी सुरक्षाको ग्यारेन्टीको व्यवस्था गर्नेछु। यसो गर्दा लगानीकर्ता आकर्षित हुनेछन् र प्रदेश नम्बर ७ का युवाले विदेश भौंतारिनुपर्ने छैन।