डोम बस्तीमा छैन धारा र शौचालय

डोम बस्तीमा छैन धारा र शौचालय

 

गौर : वृन्दावन नगरपालिका-६ मा पर्छ, धमौरा टोल। टोलछेउ २५ घर डोम समुदायको बसोबास छ। गौर-चन्द्रपुर सडकखण्डनजिकै रहेको सार्वजनिक बाटो किनारमा बस्दै आएका यो बस्तीमा खानेपानीको धारा र शौचालय छैन।बस्तीनजिकै एउटा सार्वजनिक धारा भए पनि अन्य जातिले पानी प्रयोग गरेपछि मात्र उनीहरूको पालो आउँछ। कहिलेकाहीं पालो कुर्दाकुर्दै दिन बित्छ। अन्य जातिले डोम समुदायले सहज रूपमा पानी भर्न पाउँदैनन्।

धमौरा टोलमा १० वर्षयता सरसफाइ अभियान चल्दै आएको छ। विभिन्न गैरसरकारी संस्थाले सरसफाइ कार्यक्रम सम्पन्न गरिसकेका छन्। तर, डोम समुदायका घरमा शौचालय बनाउन र खानेपानी व्यवस्थातर्फ कुनै निकायको ध्यान गएको छैन।

बस्तीनजिकै बाटोछेउको खुला स्थानमा एउटा सार्वजनिक धारा छ। धारामा डोम समुदायका महिलालाई नुहाउन समस्या छ। बाटोछेउ र पुरुषहरू आउजाउ गर्ने भएकाले महिलालाई नुहाउन र धारामा जान समस्या हुँदै आएको स्थानीय अनिता मलिक डोमले बताइन्। अन्य जातिले धारा प्रयोग गरिसकेपछि मात्र उनीहरूको पालो आउँछ। धारामा नुहाउन तथा सरसफाइ गर्न पानी पाउन डोम समुदायलाई मुस्किल पर्ने गरेको छ।

धारा र सार्वजनिक शौचालयको माग उनीहरूले वर्षौंदेखि गर्दै आएका छन्। तर, उनीहरूको पीडा कसैले सुनेको छैन। बस्तीमा धारा र शौचालय नहुँदा महिलाले बढी समस्या भोग्दै आएको स्थानीय सीतादेवी मलिक डोमले गुनासो गरिन्। सार्वजनिक धारामा बिहानदेखि बेलुकासम्म पुरुष नुहाउन र पानी लिन आउने भएकाले महिलाहरूले त्यहाँ जान लाज मान्ने गरेको सीतादेवीले बताइन्।

राति धारा खाली हुने हुँदा पानी लिन र नुहाउन महिलाहरू रात पर्खेर बस्न बाध्य हुँदै आएको अर्की स्थानीय मेघियादेवी मलिक डोमको भनाइ छ।

बस्तीमा शौचालय नहुँदा शौचका लागि महिलाहरू रातको समय कुर्न बाध्य छन्। टोलका अधिकांश महिला दिउँसो शौच आउँछ कि भन्ने चिन्तामा बस्छन्। ‘शौचालय छैन, बनाउने जमिन पनि छैन’, स्थानीय महिला रेचीदेवी मलिक डोमले भनिन्, ‘राति मात्रै दिसा गर्न बाध्य छौं।’

स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा भोट माग्न आउँदा खानेपानी धारा र शौचालय बनाइदिने आश्वासन पाए पनि त्यसपछि कसैले चासो नदिएको उनीहरूको गुनासो छ। यहाँको समस्या समाधान गर्न योजना बनाएको रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद देवप्रसाद तिमल्सिनाले बताए। नगरपालिकाका जनप्रतिनिधिलाई तत्काल खानेपानी र शौचालय व्यवस्था गर्न निर्देशन दिएको उनको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.