पासाङल्हामुको सम्झनामा सगरमाथामा झन्डा फहराइने
काठमाडौं : पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २५ वर्ष पुगेको अवसरमा सगरमाथा चुचुरोमा शेर्पाको फोटोसहित नेपाली झन्डा फहराइने भएको छ। ‘वुमेन कन्फिडेन्ट अभियान’का आरोही महिला टोलीले चुचुरोमा सम्झनास्वरूप फोटो र झन्डा प्रदर्शन गरेर रजत वर्ष मनाउने भएका हुन्।
यो वसन्त ऋतुमा सगरमाथा आरोहणमा जान लागेका सोलुखुम्बुका ल्हाक्पा याङ्जी, पासाङ ल्हामु र याङ्डी शेर्पा राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाले सगरमाथाको सफल आरोहण गरेको २५ औं वर्षको अवसर पारेर सगरमाथा आरोहणमा जान लागेका हुन्।
पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको सहजीकरणमा आरोहण हुन लागेको हो। आरोहणको सफलतापछि यो टोलीले नेपालको राष्ट्रिय झन्डा, स्वर्गीय पासाङल्हामु शेर्पा र वाम नेता मदनकुमार भण्डारीको तस्बिर तथा प्रतिष्ठानको चिह्न सगरमाथामा प्रदर्शन गर्नेछ। आरोहण टोलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमबीच झन्डा, फोटो र चिह्न हस्तान्तरण गरेकी छन्।
०५० वैशाख १० गते सर्वोच्च शिखरमा पासाङल्हामुले पाइला टेकेकी थिइन्। तेन्जिङ नोर्गे र एड्मण्ड हिल्लारी सन् १९५३ मे २९ मा सगरमाथा चुचुरोमा पहिलो पाइला हालेपछि चोमोलोङ्मा (सगरमाथा) सँग मानवसम्बन्ध जोडिएको थियो। पासाङलाई सरकारले ०५९ वैशाख १० गते राष्ट्रिय विभूति घोषणा गरी नेपाल तारा अलंकारले सम्मान गरेको थियो।
हालसम्म २६ नेपाली महिलाले सगरमाथाको सफल आरोहण गरेका छन् भने यस वर्ष १७ नेपाली महिलाले एकैपटक सगरमाथा आरोहणको तयारी थालेका छन्।
‘पासाङले हामीलाई बाटो देखाएकी छन्, चुचुरोमा पुगेर उनको सम्झनामा देशको झन्डा फहराएर उनको योगदान विश्वलाई सम्झाउनेछौं’, आरोही याङडीले बताइन्। पर्वतीय पर्यटन विकासका लागि योगदान गर्ने लक्ष्यले यस वर्ष वुमेन कन्फिडेन्ट अभियान लिएर आफूहरू आरोहणमा जुटेको आरोही याङडी शेर्पाले बताइन्। पर्वतारोहणमा जाने महिलाका लागि महिला नै पथप्रदर्शक हुँदा सहज हुने भएकाले चुचुरो पुगेर फर्केपछि यसको विकासमा अभियान र सहजीकरण थाल्ने उनको भनाइ छ।
ट्रेकिङगाइडसमेत रहेका आरोही महिला टोली सोमबार आधारशिविरतर्फ बाटो लाग्नेछ। हालसम्म २६ नेपाली महिलाले सगरमाथाको सफल आरोहण गरेका छन् भने यस वर्ष १७ नेपाली महिलाले एकैपटक सगरमाथा आरोहणको तयारी थालेका छन्।