प्रधानमन्त्रीलाई गाली गरिएपछि प्रदेश संसदमा तनाव
जनकपुरधाम: प्रदेश २ को आइतबारको ११ औं प्रदेश सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी अपमानजनक भाषा प्रयोग गरिएपछि नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले नियमापत्ति जनाएका छन् ।
प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा माओवादी केन्द्रका सांसद जगत यादवले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई लक्षित गरी सुरुमै अपमानजनक टिप्पणी गरेका थिए ।
यादवले ‘ओलीको बोली’ भन्ने थेगो प्रयोग गरी पटक पटक विभिन्न विषय उठाएका थिए । सांसद यादवले बोलेका कुरामा आपत्ति जनाउँदै एमालेका सांसद किशोरी साहले यादवलाई संदनमा बोल्दा मर्यादाको खयाल राख्न सुझाव दिए ।
राजपाका सांसद मनीष सुमनले आफ्नो वत्तव्यको क्रममा संघीयता विरोधी ओली नै केन्द्रीय सत्तामा आशिन भएकोले अहिलेको अवस्था मधेसको हकमा निकै प्रतिकुल भएको टिप्पणी गरेपछि उनी बोलिरहेकै क्रममा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले टेबल ठोक्दै नियमापत्ति जनाए ।
मण्डलले सदनमा पटक पटक आफ्ना नेताको अपमान हुँदा पनि सभामुखले केही नभनेको भन्दै आक्रोश व्यक्त गरे । मण्डलले भने, ‘यस्ता आपत्ति र अपमानजनक शब्दहरु रेकर्डिङबाट हटाउनुस् ।’
मण्डलले नियमापत्ति जनाएपछि एमालेका सबै प्रदेशसभा सदस्यहरुले उठेर विरोध जनाएका थिए । सभामुख सरोजकुमार यादवले सुमनलाई समय सकियो भन्दै बस्न लगाएपछि एमाले सांसदहरु शान्त भएका थिए ।