रसुवागढी जोड्ने छोटो बाटो पूरा

रसुवागढी जोड्ने छोटो बाटो पूरा

मैलुङ : नेपाल–चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका पुग्ने छोटो दूरीको सडक खन्ने काम नेपाली सेनाले पूरा गरेको छ। गत २०७२ सालको वैशाखदेखि हालसम्म सेनाले १७ किलोमिटर लामो सडकको सिंगल लेन खन्ने कार्य सकिसकेको छ।

अवको एक महिनामा १७ किमि पूरै डबल लेन निर्माण गर्ने गरी नेपाली सेनाले काम गरिरहेको स्याफ्रुबेसी–मैलुङ सडकमार्ग निर्माण कार्य हाल तीव्र रूपमा भइरहेको छ। चीनले गत सेप्टेम्बर १ देखि रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा मान्यता दिएपछि यसको महत्व झनै बढेर गएको छ।

निर्माणाधीन सो सडक सेनाले अहिले एकै पटक सात स्थानबाट खनिरहेको छ। सो बाटोको निर्माण पूरा भएपछि चीन–नेपाल–भारतको दूरी छोटो हुने डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ।

त्रिशूली र भोटेकोशीको दोभान, सोलेमा दुई स्थान, मैलुङ र बुङचेत दुई स्थान, स्याफ्रबेसीबाट सडक खन्ने कार्य भइरहेको सडक खन्ने कार्यमा संलग्न नेपाली सेनाका इन्जिनियर सेनानी सञ्जय केसीले जानकारी दिए। नौदेखि १३ मिटर चौडाइको सो सडक सञ्चालनका लागि कुनै समस्या नरहेको उनले बताए।

सो सडक खन्न एक सय ५२ नेपाली सेना र ९० सर्वसाधारण दैनिक खटिएका छन्। सो सडकमा हाल टेवा पर्खाल लगाउने, भीर कटिङ गर्ने, घुम्ती मिलाउने काम भइरहेको केसीले जानकारी दिए।

सेनाको अगुवाईमा गत २०७२ साल वैखाशदेखि सडक खन्ने कार्य भइरहेको सो सडक सेना र सर्वसाधारण गरी दुईसय ४२ जना दैनिक खटिरहेका छन्। सो सडक हालसम्म सेनाले १७ किलोमिटर डबल लेन खनिसकेको छ।

वैशाखभित्र समय मिलाएर सो सडक नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख तथा सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए। सो सडक निर्माणपछि रसुवागढी प्रवेश छिटो हुने उनले बताए।

हाल सञ्चालनमा रहेको बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेसी सडक ५४ किलामिटर छ भने मैलुङ–स्याप्रुबेसी सडक निर्माणले सो सडक २५ किलोमिटर दूरी छोटिएको छ। अब यात्रुबाहक, मालबाहक तथा सर्वसाधारणले बेत्रावती–कालिकास्थान–धुञ्चे नुपुगी सो सडकबाट स्याफ्रुबेसी पुग्न सक्नेछन्।

प्राविधिक सेनानी केसीका अनुसार रसुवागढी नाका हाल चीनतर्फ सञ्चालनमा रहेको एकमात्र नाका रहेका कारण सो सडकलाई मैलुङ–स्याफ्रुबेसी सडकलाई नेपाली सेनाले नेपाल र नेपालीको प्रतिष्ठासँग गाँसेर लक्ष्य अनुसार काम सकेको हो। बढीमा ३० फिट चौडाईको सडक खन्ने काम सकिएको छ।

सेनाले २०७२ साल वैशाखदेखि सो सडकमध्ये पहिले सात किमि र गत वर्षदेखि १० किमि निर्माणको जिम्मा पाएको थियो। सो सडक निर्माणका लागि हालसम्म कुल ६८ करोड ६९ लाख रुपैयाँ खर्च भइसकेको छ।

चालू आर्थिक वर्षमा सो सडकको निर्माणमा १८ करोड रुपैयाँ खर्च भएको छ। डबल ट्र्याकको सो सडकको निर्माणमा प्रतिकिमि तीन करोड ५० लाख रुपैयाँ खर्च भएको छ।

सो सडक बेत्रावतीदेखि मैलुङ १२ र मैलुङदेखि स्याफ्रुबेसीसम्म १७ किलोमिटर दूरी छ। अबको दुई हप्तामा बाँकी काम सबै सकेर वैशाखभित्रै सडक हस्तान्तरण गर्ने सेनाको योजना रहेको छ।

नेपाल–चीनको व्यापार व्यवसाय अभिवृद्धि गर्ने उद्देश्यले सडकमार्ग निर्माणमा नेपाली सेना प्राविधिकसहित खटिएको छ। १८ थान कम्प्रेसर मेसिन, १८ थान ड्रिलिङ मेसिन र ४० थान ज्याक ह्यामर सडक निर्माणमा प्रयोग गरिएका छन्।

सडकका लागि यन्त्र उपकरण र विष्फोटक पदार्थ ढुवानीका लागि मात्र सेनाले आफ्नो हेलिकोप्टर ३० फ्लाइट गरेको थियो। पहिले १७ किलोमिटरमध्ये सरकारले सेनालाई चार र थप तीन किमि गरी सात किलोमिटर सडक खन्न दिएको थियो।

स्याफ्रुबेसी–मैलुङ सडक निर्माण कार्यदलका अनुसार पहिलो चरणमा कडा चट्टान फुटाली बाटो खोल्ने र दोस्रो चरणमा दोहोरो लेन सडक निर्माण गरेर नेपाली सेना अगाडि बढेको थियो। त्रिशूली नदीको देब्रे किनारामा निर्मित सो सडकमा सेनाले एक सय ३० फिट लम्बाई र २० टन क्षमताको बेलिब्रिजसमेत निर्माण गरिसकेको छ।

हाल नेपाल–चीनबीचको व्यापारिक कारोबार उत्तरी नाका रसुवागढीबाट सञ्चालन भएपछि सडक व्यवस्थित गर्न सरकारले घोषणा गरेको स्याफ्रु–मैलुङ सडक निर्माणमा सेनाले गरेको कार्य प्रशंसनीय रहेको रसुवाका सांसद मोहन आचार्यले बताए। यो सडकबाट नेपाल र नेपालीको भविष्य उज्जवल हुने उनको दाबी छ।

पृथ्वी राजमार्गको गल्छी–देवीघाट–स्याफ्रुबेसी–रसुवागढी सडकखण्डलाई छोटो बनाउने सडकको निर्माणपछि बेत्रावतीबाट राम्चे, धुन्चे नगई सिँधै स्याफ्रुबेसी पुग्न सकिन्छ।

नेपाली सेनाले डबल लेनको ट्र्याक खोल्ने कामको जिम्मा लिएर सडकको ट्र्याक खन्ने काम गरेको हो। सो सडक खनिसकेपछि यसअघि बेत्रावतीबाट धुन्चे हुँदै स्याफ्रुबेसी पुग्न ५४ किलोमिटरको यात्रा गर्नुपथ्र्यो।

अब बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडक बनेपछि २९ किलोमिटरमा यात्रा सकिन्छ। छोटो मोटरबाटोले नुवाकोट र रसुवाको आर्थिक गतिविधिलाई विस्तार गर्न मद्दत पुग्ने नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताए। मुलुक आर्थिक समृद्धिको बाटोमा अगाडि बढिसकेको र यो सडकले जनताको जीवनस्तरमा ठूलो सुधार आउने उनले बताए।

बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडक बनेपछि गाउँको कृषि उत्पादनलाई सहरमा पुस्याउन सहज हुने र आर्थिक उपार्जन राम्रो गर्न सकिने नुवाकोट उद्योग वाणिज्य संघका महासचिव दीपक कायस्थले बताए। यो सडक निर्माणपछि रसुवागढी हुँदै चीनसँगको व्यापारमा सहज हुनेछ।

राष्ट्रिय प्राथमिकता प्राप्त गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै नाका जोड्ने सडकको ट्र्याक शनिबारदेखि खुलेको हो।तीन वर्षदेखि लगातार नेपाली सेनाले पाएको कार्यादेशबमोजिम निर्धारित समयमा नै काम भएको र अब दुई चार ठाउँमा टेवा पर्खाल र धुञ्चेदेखि तलको त्रिशूली नदी छेउको एकसय मिटर दूरीमा सतह मिलाउने काम भइरहेको सेनानी केसीले बताए।

सो सडक निर्माणमा चार जनाको मृत्यु र तीन जना घाइते भएको जनाइएको छ। नेपाल–चीनबीच व्यापार व्यवसाय अभिवृद्धि गर्न सहज हुने उक्त राजमार्ग गल्छीदेखि रसुवागढीसम्म पहिलेभन्दा २५ किमि छोटो हुने गल्छी–बेत्रावती–धुञ्चे–रसुवागढी एक सय ६ किमि र गल्छी–बेत्रावती–मैलुङ–रसुवागढी ८१ किमी निर्माणमा संलग्न प्राविधिकले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.