विमानस्थलमा ‘रिफ्युलर’ को चर्को अभाव

विमानस्थलमा ‘रिफ्युलर’ को चर्को अभाव

 काठमाडौं : विमानस्थलमा जहाजमा इन्धन भर्ने ‘रिफ्युलर’ को अभावका कारण मुलुकभरका आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। समयमा तेल दिन नसक्दा एउटा जहाजले तेल भर्न आधा घण्टादेखि एक घण्टासम्म पालो कुर्नुपर्छ। पछिल्ला केही वर्षयता हवाई इन्धनको खपत दर वृद्धिको तुलनामा आयल निगमले रिफ्युलर नथप्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानको समय तालिका प्रभावित भएको छ।

जहाज र हेलिकोप्टरको उडानको चापअनुसार अहिले देशभरका नौ वटा विमानस्थलमा १८ रिफ्युलर आवश्यक भइसकेको छ। नेपालमा हवाई इन्धनको खपतदर उच्च गतिमा वृद्धि भइरहे पनि निगमले २०६९ सालदेखि नयाँ रिफ्युलर भित्र्याएको छैन। यसको प्रत्येक्ष प्रभाव राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जहाजले व्यहोर्नुपरेको छ।

निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले विमानस्थलमा रिफ्युलरको चर्को अभाव भएको स्वीकार गरे। उनले भने, ‘हवाई जहाजको चापअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य आठ वटा विमानस्थलमा कम्तीमा २० वटा रिफ्युलर आवश्यक छ। कम संख्यामा भएको रिफ्युलेटरका कारण एउटा जहाजलाई मागअनुसारको इन्धन भर्दा अर्को जहाजले कम्तीमा आधा घण्टादेखि एक घण्टा कुर्नुपर्छ।’

हवाई इन्धनको खपत दर वृद्धिको तुलनामा आयल निगमले रिफ्युलर नथप्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानको समय तालिका प्रभावित भएको छ।

रिफ्युलर गाडी एक प्रकारको बारुण यन्त्रजस्तै देखिने इन्धन बोक्ने सवारीसाधन हो। यसले हवाई इन्धनलाई शुद्धीकरण गरी जहाजमा इन्धन भर्ने काम गर्छ। ‘रेफ्युलरको अभाव हुँदा हामी अहिले नै राष्ट्रियदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा समयमा इन्धन दिन नसक्ने मुलुकको रुपमा बदनामी कमाउन थालेका छौंं,’ कार्यकारी निर्देशक भट्टराईले भने,‘चर्को समस्या समाधान गर्न केही साताअघि २७ किलोलिटर क्षमताको चार वटा रिफ्युलर खरिद गर्न टेण्डर आह्वान गरिसकेका छौं। अहिलेसम्म दुईवटाले प्रस्ताव गरेका छन्। आवश्यक प्रकृया पूरा गरी भित्र्याउने तयारी छ।’

निगमले आईओसीसँग मौज्दातका रूपमा केही थान रिफ्युलेटर भए उपलब्ध गराइदिन पहल सुरु गरेको छ। यस्तै भारतले अहिले एक सय तीनबटा आफ्ना विमानस्थलका लागि रिफ्युलेटर खरिद गर्ने प्रक्रिया सुरु गरेको छ। ‘खरिद हुने उक्त संख्याबाट पनि नेपालका लागि केही थान उपलब्ध गराइदिन पहल गरिरहेका छौं, यसवाहेक वैदेशिक सहयोगमा कुनै मुलुकले तत्कालै उपलब्ध गराउन सम्भव छ भने आवश्यक पहल गरिदिन अर्थ मन्त्रालयसँग पनि आग्रह गरिरहेका छौं’, भट्टराईले भने।

 त्रिभुवन विमानस्थलस्थित निगमको डिपो प्रमुख मनोज ठाकुरका अनुसार रिफ्युलर निर्माण गर्न करिब ९० प्रतिशत पार्टपुर्जा अमेरिकाबाट आयात गरी भारतमा रिफ्युलर निर्माण गर्ने काम हुन्छ। सार्वजनिक खरिद ऐन र निगमको आर्थिक तथा प्रशासनिक विनियावलीअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी टेन्डरमार्फत एउटा रिफ्युलर निर्माण गरी नेपालमा भित्र्याउन कम्तीमा एक वर्षको समय कुर्नुपर्छ।

‘यसरी हेर्दा अहिले २७ किलोलिटरको रिफ्युलर खरिद गर्न टेन्डर आह्वान भएपनि उक्त संख्याको रिफ्युलर भित्र्याउन झण्डै एक वर्ष कुर्नुपर्ने भयो’, डिपो प्रमुख ठाकुरले भने,‘जहाजको इन्धन मागलाई हेर्दा हामीसँग एक वर्षको कुर्ने समय छैन। तत्कालैको समस्या समाधान गर्न कुनै प्रक्रियाबाट भए पनि कम्तीमा आठ वटा रिफ्युलर नभित्र्याइएको छैन।’

उनका अनुसार सञ्चालनमा रहेका कतिपय रिफ्युलर पनि समय समयमा बिग्रिँदा जहाजलाई इन्धन दिनै नसक्ने अवस्था सिर्जना हुने गरेको छ। रिफ्युलरमा दुई प्रकारको समस्या समय समयमा आउने गरेको छ।

निगमले रिफ्युलर खरिद गर्ने प्रक्रिया पनि अघि नबढाएको होइन। रिफ्युलर खरिद गर्न टेन्डर आह्वान गर्दा प्रस्तावकले मिलेमतो गरी बजार मूल्यभन्दा झण्डै ३० प्रतिशत बढी रकमसहितको प्रस्ताव गर्दा कति पटक त्यस्ता टेन्डर नै रद्द भएको छ। फेरि टेन्डर प्रक्रिया अघि बढाएको खण्डमा अप्ठयारो पर्दा निर्णय गर्ने कर्मचारी नै कारबाहीमा पर्न सक्ने भन्दै व्यवस्थापन पक्ष डराएर रिफ्युलर खरिद गर्न चासो देखाएका छैनन्।

भद्रपुर विमानस्थलमा तत्कालै १६ किलोलिटर (१६ हजार लिटर) को एक, विराटनगर विमानस्थलमा सोही परिमाणमा एक, काठमाडौं विमानस्थलमा २७ किलोलिटर (२७ हजार लिटर) को चार, १६ किलोलिटरको चार र ११ किलोलिटरको दुई, पोखरा विमानस्थलमा १६ किलोलिटरको एक, भैरहवा विमान स्थलमा १६ किलोलिटरकै एक, नेपालगन्जमा १६ किलोलिटरको दुई , सुर्खेतमा १६ किलोलिटरको एक, धनगढीमा १६ किलोलिटरको एक र मन्थलीमा पनि १६ किलोलिटरकै एक गरी १८ वटा रिफ्युलर तत्कालै आवश्यक छ।

अहिले भद्रपुर विमानस्थलमा ११ किलोलिटर (११ हजार लिटर)को एक र १२ किलोलिटर (१२ हजार लिटर) को एक गरी दुईवटा सञ्चालनमा छन्।

विराटनगरमा ११ र १२ किलोलिटरको दुई वटा सञ्चालनमा छन्। यस्तै काठमाडौं अन्तर्राष्ट्रिय विमान स्थलमा सन् २००८ मा खरिद भएको २७ किलोलिटर क्षमताको दुई र २००९ मा खरिद भएको १६ किलोलिटरको चार र इन्धनको मागको चाप थेग्न नसकेपछि सुर्खेत विमानस्थलबाट झिकाइएको ११ किलोलिटरको एक गरी सातावटा सञ्चालनमा छ। यस्तै पोखरामा ११ र १२ किलोलिटरको दुई, भैरहवामा ११ र १२ किलोलिटरकै दुई, नेपालगन्जमा १२ किलोलिटर क्षमताको दुई, सुर्खेतमा १२ किलोलिटरको एक, धनगढीमा ११ र ६ किलोलिटरको दुई र मन्थलीमा ११ किलोलिटरको एक रिफ्युलटर सञ्चालनमा छन्।

अन्तर्राष्ट्रिय विमान स्थलमा सबैभन्दा सास्ती

निगमका अनुसार अहिले रिफ्युलरको सबैभन्दा बढी अभाव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको छ। यो विमानस्थलबाट सबै प्रकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय जहाजसहित हेलिकोप्टरसमेत उडान भर्ने र अवतरण गराउने भएकाले रिफ्युलरको चर्को अभाव सिर्जना भएको हो। त्रिभुवन विमानस्थलमा चार वटा २७ किलोलिटर, चार वटा १६ किलोलिटर र ११ किलोलिटर क्षमताको एक गरी कूल सात वटा मात्रै रिफ्युलर सञ्चालनमा छन्।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार जहाजको चापका कारण अहिले यो विमानस्थला तत्कालै २७ किलोलिटरको थप चार, १६ किलोलिटरको चार र ११ किलोलिटरको दुई गरी थप १० थान रिफ्युलर आवश्यक छ। ‘सञ्चालनमा रहेका कतिपय रिफ्युलर पनि समय समयमा बिग्रेर कामै नगर्ने अवस्थामा पुगेका छन्’, गोइतले भने,‘यस्तो अवस्थामा सीमित रिफ्युलरबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जहाजका साथै हेलिकोप्टरमा पनि इन्धन भर्नुपर्छ।’

इन्धन भर्न लाग्ने अत्याधिक समयका कारण निगमले दैनिक जसो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीबाट अपमानजनक गुनासो समेत सुन्नुपरेको छ। सञ्चालनमा रहेका सात रिफ्युलरमध्ये १६ किलोलिटरको दुई आन्तरिक उडानतर्फको जहाज र ११ किलोलिटरको हेलिकप्टरमा इन्धन भर्न नियमित रुपमा प्रयोग हुँदैआएको छ। बाँकी २७ किलोलिटरको दुई र १६ किलोलिटरको दुई गरी चारवटा रिफ्युलरको सहयोगमा मात्रै अन्तर्राष्ट्रिय जहाजमा इन्धन भर्न प्रयोग हुन्छ।

बिहान ५ः३० बजेदेखि नै हुने लुक्लाको करिब ४० उडानका कारण पनि त्यो बेला अन्य क्षमताको रिफ्युलर पनि उतै प्रयोग गर्नुपर्ने अवस्था आएको डिपो प्रमुख ठाकुरले जानकारी दिए। टर्किस र कोरियन जहाजले एकैपटकमा ६०÷६० हजार लिटर इन्धनको डेलिभरी लिंदा त्यो बेलामा भने एउटा जहाजमा २७ किलोलिटर क्षमताभएको एक थान रिफ्युलरले करिब तीनपटक गरी इन्धन भर्न सफल हुन्छ।

२७ किलोलिटर क्षमताको रिफ्युलरले एक पटकमा २७ हजार लिटर मात्रै इन्धन बोक्छ। यसरी हवाई इन्धनको डिपोबाट तीनपटक इन्धन रिफ्युलरमा भरेर त्यही रिफ्युलरको इन्धन जहाजमा भर्नुपर्छ। डिपोबाट रिफ्युलरमा इन्धन भर्न कम्तिमा ४५ मिनेट समय लाग्छ। ‘२७ किलोलिटरको थप चारवटा रिफ्युलर भएको भए एकै पटकमा दुईवटा जहाजमा इन्धन भर्न सकिन्थ्यो, यसले गर्दा समयको निक्कै बचत हुन्थ्यो,’ ठाकुरले भने।

उनका अनुसार कुनै वेला ९ वटा अन्तर्राष्ट्रिय जहाज एकैपटक इन्धन भर्न लाइनमा लाग्ने गर्छ। त्यसै गरी आपतकालिन अवस्थामा परिचालन हुने थप हेलिकोप्टरको संख्याका कारण झनै ठूलो आपत् आइपर्छ। यस्तो वेलामा निगमलाई इन्धन दिनै नसक्ने अवस्था सिर्जना हुन्छ। यस्तै अन्तर्राष्ट्रिय जहाज पालो नपाएर आकाशमै कुर्नुपर्ने अवस्थामा आवश्यकताभन्दा थप परिमाणमा त्रिभुवन विमानस्थलमै इन्धन भर्ने गरेका छन्। कुनै बेला दैनिक डेढ लाख लिटर खपत हुने त्रिभुवन विमान स्थलमा अहिले साढे सात लाख लिटर हवाई इन्धन खपत हुन थालेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.