१ लाख शिशु जन्मँदा २ सय ३९ सुत्केरीको मृत्यु

१ लाख शिशु जन्मँदा २ सय ३९ सुत्केरीको मृत्यु

काठमाडौं : सुत्केरीले अकालमा ज्यान गुमाउने अवस्थामा उल्लेखनीय सुधार गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा पुरस्कृत भए पनि मातृमृत्युदर न्यूनीकरण अभियानले चार वर्षयता अपेक्षाकृत सफलता पाउन सकेको छैन । चार वर्षअघि मातृमृत्युदर घटाउने अभियान प्रसंशनीय ढंगले अघि बढेको थियो । त्यसपछि अभियान अपेक्षाकृत सफल नभएकोमा स्वास्थ्य अधिकारी नै असन्तुष्ट छन् ।

सरकारले सुरक्षित मातृत्वलाई उच्च प्राथमिकतामा राखे पनि केही वर्षयता अपेक्षाअनुरूप सफल हुन नसकेको स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद        श्रेष्ठले बताए । सन् १९९० मा प्रति एक लाख जीवित जन्ममा मातृमृत्युदर ५ सय ३९ थियो । सन् २०१५ सम्ममा दुई तिहाइ मातृमृत्युदर घटाउने लक्ष्य सहस्राब्दी विकासमा राखिए पनि सोअनुरूप सफलता हासिल भएन । उनका अनुसार सन् २०१५ मा प्रति १ लाख जीवित जन्ममा मातृमृत्युदर १ सय ७० मा झर्नु पथ्र्यो ।

सुरक्षित मातृत्व सेवामा सरकारले धेरै काम गरे पनि अझै प्रति १ लाख जीवित जन्ममा २ सय ३९ जना आमाको मृत्यु हुने गरेको स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखा निर्देशक डा.तारानाथ पोखरेल भन्छन्, ‘अझै पनि धेरै गर्भवती घरमै सुत्केरी हुने गरेका छन् ।’ झण्डै ४१ प्रतिशत गर्भवती घरमै सुत्केरी हुने गरेको सरकारी तथ्यांक छ ।

बाल विवाहका कारण किशोरी आमा बन्नु पर्ने बाध्यता र दुर्गम भेगमा शल्यक्रिया सहितको प्रसूति सेवा दिनुपर्ने डा.पोखरेल बताउँछन् । सुरक्षित मातृत्व सेवामा पहुँच सुनिश्चित गर्न सरकारले ८ हजार ७ सय हाराहारी दक्ष प्रसूतिकर्मी उत्पादन गरेको छ । सरकारले देशभर २ हजार बर्थिङ सेन्टरसमेत स्थापना गरिएको छ । ७२ जिल्लामा शल्यक्रिया सहितको प्रसूति सेवा विस्तार गरिसकेको छ । प्रसवपश्चात रक्तस्राव रोकथामका लागि मातृ सुरक्षा चक्की वितरण, आर्थिक अभावमा प्रसूति सेवाबाट वञ्चित हुन नपरोस् भनेर स्थानीय तहमा बजेट व्यवस्था गरिएको छ । दुर्गम भेगबाट प्रसूति व्यथा जटिल भएपछि १९ जना आमालाई हवाईजहाजबाट निःशुल्क ल्याई ठूला अस्पतालमा उपचार गरिएको छ । संविधानको धारा ३८ (२)ले प्रत्येक महिलाको सुरक्षित मातृत्व अधिकारलाई मौलिक हकमा सुनिश्चित गरेको छ ।

स्वास्थ्य मन्त्रालयको नेतृत्वमा प्रस्तावित प्रजनन स्वास्थ्य विधेयकको तयारी अन्तिम चरणमा छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालका अनुसार अब बस्ने संसद् बैठकमा प्रजनन स्वास्थ्य विधेयक पेस गरिनेछ । बहुक्षेत्रीय सहकार्य र प्रतिबद्धता भए मातृमृत्युदर न्यूनीकरण गर्न सकिने स्वास्थ्यकर्मी बताउँछन् । परिवार स्वास्थ्य महाशाखा निर्देशक डा. पोखरेल भन्छन्, ‘सुरक्षित मातृत्वको अधिकार स्थापित गर्न स्वास्थ्य क्षेत्र एक्लैको प्रयासले मात्र सम्भव छैन ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.