झरीले १२ करोडको इँटा नष्ट
मलंगवा : सर्लाहीमा झरी परेपछि गलेर करिब ४ करोड इँटा नष्ट भएको छ । आइतबार राति र सोमबार बिहान परेको झरीले इँटा नष्ट पारेको सर्लाही इँट्टा उद्योग व्यवसायी संघले जनाएको छ ।
संघका अनुसार इँटा गल्दा १२ करोड रुपैयाँबराबरको क्षति भएको छ । हरिवन-९ र ४ स्थित होम र तुलसी इँटा उद्योगका ७ लाख, मलंगवाका शक्ति, किशन र अर्जुन इँटा उद्योगको १८ लाख इँट्टा गलेर नष्ट भएको शक्ति इँटा उद्योगका सञ्चालक रामानन्द चौधरीले जानकारी दिए । हरिवन-४ का मदन बरालको पनि ४ लाख इँटा गलेर नष्ट भएको छ ।
इँटाको माग बढी भएकाले काँचो इँटा बनाउने काम भइरहेको थियो । भूकम्पबाट क्षति भएका घरको पुनर्निर्माण र स्थानीय तहमा भौतिक संरचनाको काम भइरहेकाले इँटाको माग बढी थियो । पकाउने तयारी अवस्थामा रहेको इँटा गल्दा लगानी डुबेको संघका सचिव भगवान मैनालीले बताए । ‘झरी बढी पर्दा हामीले इँटा जोगाउन सकेनौं’, उनले भने, ‘झरीसँगै हावाहुरी आउँदा प्लास्टिकले छोप्न पनि सकिएन ।’ काँचो इँटाको बिमासमेत गर्न नमिल्दा लागत डुबेको उनको भनाइ छ ।
इँटा बनाउन ऋण लिएका व्यवसायीलाई झनै समस्या भएको शक्ति इँटा उद्योगका सञ्चालक चौधरीले बताए । ‘यी इँटा पाकेको भए लगानी उठ्थ्यो तर अब त जग्गा बेचेरै ऋण तिर्नुपर्छ’, उनले भने, ‘मजदुरको पैसा, कोइलाको पैसा बाँकी नै छ । इँटा बेचेर पैसा तिर्छु भने सोचमा रहेका व्यवसायीको अब उपाय छैन ।’