काबेली करिडोर : दोस्रो पटक समय थप्दा पनि सकिएन काम

काबेली करिडोर : दोस्रो पटक समय थप्दा पनि सकिएन काम

फिदिम : काबेली करिडोर १३२ केभीए विद्युत् प्रसारण लाइन निर्माणका लागि दोस्रोपटक थपिएको समयमा पनि ७५ प्रतिशत मात्र काम भएको छ। दोस्रोपटक थपिएको समयमा करिडोर निर्माणको सम्पूर्ण काम सम्पन्न गर्न विद्युत् प्राधिकरणले निर्देशन दिए पनि निर्माण कम्पनीले कामलाई तीव्रता दिन नसक्दा अझै २५ प्रतिशत काम बाँकी रहेको हो।करिडोर निर्माणको काम पूरा नहुँदा पाँचथर, इलाम र ताप्लेङका निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित भएका छन्।

करिडोर निर्माणका लागि दोस्रो पटक थपिएको समय वैशाख १० गते सकिएको हो। पूर्वी पहाडका पाँचथर, इलाम र ताप्लेजुङमा उत्पादित बिजुलीलाई मुलुकको विद्युत् प्राणालिमा जोड्ने उद्दश्यले करिडोरको निर्माण थालिएको थियो। १० वर्ष अघिदेखि निर्माण प्रक्रिया अघि बढाइको आयोजनाको काम सुरुवाती चरणदेखि नै सुस्त गतिमा थियो।

झापाको दमकदेखि पाँचथरको अमरपुरसम्मको ९० किलोमिटर लामो प्रसारण लाइन निर्माणको काममा ढिलाइ भएको हो। नेपाल विद्युत् प्राधिकरणले २०६३ सालदेखि कोरिडोर निर्माण प्रक्रिया अघि बढाएको थियो। प्रक्रिया सुरु भएको तीन वर्ष ढिलो गरी दुई वटा भारतीय निर्माण कम्पनी जगुवर एन्ड एस्टर प्रालिले प्रसारण लाइन निर्माणको जिम्मा पाएको थियो। प्रसारण लाइन निर्माणको काममा समस्या आउँदा दोस्रो पटक थपिएको समयमा पनि ७५ प्रतिशत मात्र कम पूरा भएको काबेली करिडोरका प्रमुख दिपेन्द्रराज द्विवेदीले जानकारी दिए।

करिडोरका चारै वटा सवस्टेसन निर्माणको काम पूरा भएको छ। झापाको दमक, इलामको गोदक, पाँचथरको फिदिमस्थित थापाटार र अमरपुरको दुवीचौरमा सवस्टेसन निर्माणको काम सपन्न भएको हो। ‘चारवटै सवस्टेसन निर्माणको काम एक वर्षअघि नै सम्पन्न भएको छ’, द्विवेदीले भने ‘प्रसारण लाइन विस्तारमै ठूलो समस्या आएकाले करिडोर निर्माणको काममा ढिलाइ भएको हो।’ इलामको सोयाकदेखि पाँचथरको अमरपुरसम्मको प्रसारण लाइन विस्तारमा ढिलाइ भएको हो। ९० किलोमिटर प्रसारणलाइन विस्तारका लागि दुई सय ६० वटा टावर राख्नुपर्ने हुन्छ। यसमध्ये दुई सय ३२ वटा टावर राखिसकिएको छ। अब २८ वटाटावर राख्न बाँकी छ। टावर राख्नुपर्ने मध्ये १३ वटाटावर राख्ने ठाँउको विवाद नटुंगिएकाले काम रोकिएको बताइएको छ।

इलामको सिद्धिथुम्कामा ११ र चमैतामा दुई वटा टावर राख्ने विषयमा विवाद भएको द्विवेदीले बताए। ‘अहिलेसम्म विवाद टुंगिएको छैन’, उनले भने, ‘इलाम प्रशासनले समेत विवाद मिलाउन चासो नदिँदा आयोजनाको काम रोकिएको हो।’ प्रशासनको असहयोगका कारण विवाद समाधान गर्न नसकिएको आयोजना पक्षको आरोप छ।

झापाको दमकदेखि इलामसम्मको ९४ वटाटावर र पाँचथरको थापाटारदेखि अमरपुरको दुवीचौरसम्म २८ वटा टावर राख्ने काम सकिएको छ। प्रसारण लाइनको विचमा पर्ने पाँचथर इलाम खण्डमा काम नभएपछि थपिएको समयमा पनि करिडोरको काम नसकिएको हो। इलामको गोदकदेखि झापासम्म प्रसारण लाइन सञ्चालनमा आएको छ।

करिडोर निर्माणको काम पूरा नहुँदा पाँचथर, इलाम र ताप्लेङका निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित भएका छन्।

गोदक र पाँचथरको थापाटारबीचको दूरीमा अपेक्षित काम हुन नसक्दा समस्या आएको हो। ‘समस्या धेरै छन्’, द्विवेदीले भने, ‘तत्काल समाधान हुने परिस्थिति बन्ला जस्तो छैन। विवाद टुंगो नलागी फेरि म्याद थप्ने या नथप्ने भन्ने केही टुंगो छैन।’ इलामको प्रशासन र प्रसारण लाइन निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको असहयोगका कारण काम नसकिएको द्विवेदीको भनाइ छ। इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सेनाले आफू भर्खर मात्र सरुवा भएर इलाम आएकाले विवादको विषयमा आफूलाई जानकारी नभएको अन्नपूर्णलाई बताए।

‘भर्खरै सरुवा भएर आएको छु’, तिमल्सेनाले भने, ‘करिडोरको काम के हुँदैछ। विवाद के हो भन्ने मलाई जानकारी छैन, अब बुझ्नेछु।’ इलामको चमैता र सिद्धिथुम्कामा टावर राख्ने विषयमा स्थानीयसँग मुआब्जा विवाद भएको थियो। मुआब्जा विवाद नटुंगिएकै कारण काम अहिलेसम्म रोकिएको छ। विवाद नभएको स्थानमा पनि निर्माण कम्पनीले टावर राख्न चासो दिएको छैन। काम गरेबापतको भुक्तानी पाउन नसक्दा निर्माणका लागि पर्याप्त कामदार खटाउन नसकिएको निर्माण कम्पनीका मधु बाबुले बताए।

सवस्टेसन निर्माणको काम भने एक वर्ष पहिले नै सम्पन्न भएको छ। २६ करोडको लागतमा निर्माण गरिएको दमक सवस्टेसनको काम मुठभरी एन्ड जोसी निर्माण कम्पनीले गरेको हो। इलामको गोदक, फिदिमको थापाटार र अमरपुरको दुवीचौरमा रहेको सवस्टेसन निर्माणको काम एबीबी इन्डिया लिमिटेडले गरेको हो। ५६ करोडको लागतमा तीन वटा सवस्टेसनको निर्माण सम्पन्न भएको हो। विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकारणको तीन अर्ब ५९ करोडको लागतमा करिडोर निर्माणको काम अघि बढाइएको हो। ८० प्रतिशत विश्व बैंकको लगानीमध्ये १५ प्रतिशत अनुदान र ६५ प्रतिशत ऋण लगानी काम सञ्चालन भएको हो। यसमध्ये एक अर्ब ३० करोडमा प्रसारणलाइन निर्माणका लागि ठेक्का लागेको थियो।

निर्धारित समयमा करिडोरको काम सम्पन्न नहुँदा पाँचथर र ताप्लेजुङमा निर्माणाधीन जलविद्युत् आयोजना निर्माणको काम पनि प्रभावित भएको छ। विश्व बैंकको सहयोगमा विद्युत् प्राधिकरणले प्राथमिकतामा राखेर अघि सारेको करिडरको काम सुरुवाती समय देखिने सुस्त भएकाले जलविद्युत् आयोजना निर्माणको काम प्रभावित भएको हो। करिडोरको काम समयमा नसकिँदा यस क्षेत्रमा उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न समस्या हुने भएकाले जलविद्युत् आयोजनाको काम पनि सुस्त भएको जलविद्यु्त् लगानीकर्ताले बताएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.