प्रदेश सांसद्लाई २६/२६ लाख

प्रदेश सांसद्लाई २६/२६ लाख

पोखरा : प्रदेश ४ सरकारले प्रत्येक सांसदलाई सडक स्तरोन्नतिमा खर्च गर्ने गरी २६/२६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसद्मा आफूहरूको रोजाइमा खर्च गर्न पाउने गरी सांसदले विकास बजेट माग गरिरहेका बेला यहाँको सरकारले त्यस्तो व्यवस्था गरेको हो । ३६ वटा प्रदेश निर्वाचन क्षेत्रका सांसदलाई प्रदेश राजधानीसँग वा स्थानीय तह केन्द्रसँग जोडिने सडकको स्तरोन्नतिमा खर्च गर्न दिने गरी बजेटमा ९ करोड ३६ लाख रुपैयाँ राखेको छ । त्यस्तो व्यवस्थासहितको बजेट प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बुधबार सार्वजनिक गरेका हुन् ।

एक अर्ब दुई करोड पाँच लाख रुपैयाँको बजेटमा सबैभन्दा ठूलो शीर्षक नै सांसदका लागि छुट्याइएको छ । ५४ करोड एक लाख २५ हजार र चालुतर्फ ४८ करोड तीन लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ । सांसदहरूले योजना छनोट गरी खर्च गर्न पाउने गरी छुट्याइएको बजेट पुँजीगततर्फको १७ प्रतिशत हो । बजेटले पर्यटन, कृषि र ऊर्जा र पूर्वाधारलाई महत्व दिएको छ । नेपाल सरकारले वित्तीय समानीकरण अनुदानअन्तर्गत यसअघि नै पठाएको एक अर्ब दुई करोड पाँच लाख रुपैयाँलाई स्रोत मानेर प्रदेश सरकारले बजेट ल्याएको हो । राजस्वका कुनै पनि स्रोत नभएको हुँदा बजेटको सिंगो स्रोत त्यही अनुदान भएको छ ।

सांसदका लागि छुट्याइएको बजेट प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई अख्तियारी जाने र त्यसैमार्फत खर्च हुने अर्थ मन्त्रालयका सचिव विष्णु ढकालले बताए । ‘सांसदलाई अपनत्व होस् भनेर उहाँहरूले नै योजना छनोट गर्ने र अनुगमन पनि गर्ने गरी बजेट छुट्याइएको हो’, उनले भने, ‘केन्द्रको जस्तो निर्वाचन क्षेत्र विकास कोषभन्दा फरक मोडालिटी हो ।’

बजेटमाथिको छलफलमा बोल्दै बिहीबार प्रदेशसभामा सत्ता र प्रतिपक्ष दलका सांसदले आफूहरूले सडक स्तरोन्नतिको लागि बजेट खर्च गर्न पाउने व्यवस्थाको स्वागत गरे । बिहीबार अर्थमन्त्रीले विनियोजन विधेयक टेबुल गरेका थिए । पर्यटनलाई प्राथमिकता दिँदै बजेटले प्रदेशका तीन सय गाउँलाई नमुना पर्यटकीय गाउँ बनाउने लक्ष्य राखेको छ । प्रादेशिक संरचनाको प्रबन्ध मिलाउने, प्रदेशमा लगानीमैत्री वातावरणको सिर्जना गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, गरिबी निवारण गर्ने, भौगोलिक तथा सामाजिक सन्तुलनसहितको प्रादेशिक विकास गर्ने पाँच वटा उद्देश्य बजेटले राखेको छ ।

‘पर्यटन क्षेत्रको विकास र विस्तार, ऊर्जा क्षेत्रको विकास र प्रवद्र्धन, कृषि क्षेत्रको व्यावसायीकरण र औद्योगिकीकरण, औद्योगिक क्षेत्रको विकास र विस्तार, भौतिक पूर्वाधारको निर्माणलाई प्राथमिकताको रूपमा लिइएको छ’, उनले भने । सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी देश पर्यटन वर्ष र २०२२ लाई पोखरा पर्यटन वर्ष मनाउने गरी बजेट विनियोजन भएको छ । ढोरपाटन, मनाङ, चुमनुब्री उपत्यका, कपुचे ताल र देवचुली–वरचुली महाभारत शृंखलालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गुरुयोजना निर्माणको व्यवस्था बजेटमा गरिएको छ ।

ऊर्जातर्फ उज्यालो प्रदेश अभियानलाई सार्थक बनाउन स्थानीय तह, विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग समन्वय गरी अबको दुई वर्षभित्र बिजुली बत्ती नपुगेको क्षेत्रमा विद्युतीकरण गर्न एक करोड रुपैयाँ बजेटले प्रस्ताव गरेको छ । संघ र स्थानीय तहसँगको सहकार्यमा प्रदेशका एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्रामको स्थापना गर्न सम्भावना अध्ययन गरी एक करोड रुपैयाँ बजेट विनियोजना गरिएको छ । ‘कालीगण्डकी र मस्र्याङ्दी करिडोरमा नेपाल सरकारसँगको समन्वयमा आर्थिक करिडोर र विशेष औद्योगिक क्षेत्र स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि २० लाख रुपैयाँ बजेट विनियोजना गरेको छु’, मन्त्री गुरुङले भने ।

आधुनिक र कलात्मक सहिद पार्क, बहुसांस्कृतिक ग्राम, ११ ठाउँमा केबलकार, फेवातालदेखि बेगानाताल र रूपाताल जोड्ने मोनोरेललगायत सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन भएको छ । उनले राजस्वको स्रोतसमेत नभएको हुँदा सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन भएको बताए । मुटु, मिर्गाैला र कलेजो उपचारका लागि विशिष्टीकृत अस्पताल निर्माण गर्ने, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने र अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यान निर्माण गर्नेलगायत विषयको सम्भाव्यताका लागि बजेट छुट्टिएको छ । सरकारले तीन उद्देश्य तीन कोषको अवधारणा पनि ल्याएको छ ।

प्रदेश विपद् व्यवस्थापनको कोष स्थापना गरी एक करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री गुरुङले जानकारी दिए । आकस्मिक कोष स्थापना गरी रकम जम्मा गर्न एक करोड रुपैयाँ व्यवस्था गरिएको उनले सुनाए । युवालक्षित चुनौती कोष स्थापना गर्न एक करोड रुपैयाँ बजेट विनियोजना भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.