खै त्यो रोमान्टिक सहर ?

खै त्यो रोमान्टिक सहर ?

उपत्यका एकदमै रोमाञ्चकारी सहर थियो। गल्लीबाटै गणेश हिमाल र लाङटाङ हिमाल देखिन्थ्यो। यहीँ पढेँ। पढाएँ पनि। पढ्दा र पढाउन जाँदा हिँडेरै आउने जाने गर्थें। पहिला ल्वाङ सुपारी चपाउँदै हिँडेरै आफन्त साथीभाइ भेट्न गइन्थ्यो। अहिले अव्यवस्थित भीड बढ्यो। सडकमा फुटपाथ नै गतिलो छैन।

जापानको टोकियो सहरमा मात्रै ३० मिलियन जनसंख्या बस्छ। भीड त्यहाँ पनि छ तर व्यवस्थित छ। यहाँ त्यस्तो भएन। बाटोमा हिँड्न सुविधा छैन। जनसंख्याको अनुपातमा यातायातको सुविधा भएन। व्यवस्थित सहरको कल्पना गथ्र्यौं, त्यो पटक्कै भएन।

सहर मैले परिकल्पना गरेजस्तो पटक्कै छैन। अस्तव्यस्तता देख्दा अति नै रिस उठ्छ। सडकमा हिँड्ने त मान्छे नै होइनजस्तो भयो। फुटपाथ व्यवस्थित छैन। ८० वर्षका वृद्धहरू फुटपाथमा लड्छन्। यो सहर बूढा मान्छेका लागि बनेन। फुटपाथबाट तल हिँडू मोटरबाइकले ठोक्काइदेला भन्ने डर, फुटपाथमा हिँडू लडिएला भन्ने डर।

प्राकृतिक रूपमा सुन्दर उपत्यका मानवीय क्रियाकलापका कारण कुरूप बन्यो। हवाईजहाजबाट उपत्यका नियाल्दा उबेलाको रोमान्टिक सहरमा होइन, कुनै मरुभूमिको बिचमा बनेको सहरमा आइरहेको मसहुस हुन्छ। एउटै रूख देखिँदैन। जथाभावी बनेका अस्तव्यस्त घरैघर देखिन्छ। सहरी बस्तीको जुन मेलोडी देखिनुपर्ने हो, त्यो कतै देखिँदैन।

सडक ठूलो पारेर मात्रै सहर राम्रो हुने होइन। म युरोपका धेरै सहरमा पुगेको छु। त्यहाँ पुरानो र सानै बाटो छ तर सुन्दर छ। नेपालमा बाटो ठूलो बनाउनु विकास भनियो। बाटो ठूलो बनाएर धेरैको उठिबास भएको छ। राम्रो बाटोको अर्थ दुईतर्फ गाडी स्वाट्ट स्वाट्ट जाने भन्ने होइन। केटाकेटी, बूढाबूढी सुरक्षित रूपमा हिँड्न सक्ने बाटो हुनुपर्‍यो।

विकासनिमार्ण तीव्र गतिमा भइरहँदा काठमाडौंको मुटुमा बस्ने रैथानेले भने सहर त्याग्दैछन्। रैथाने सहर त्याग्नु राम्रो होइन।

रिङरोड हास्यास्पद बनेको छ। रिङरोडले गाउँलाई नै छुट्ट्याइदिएको छ। यताको बस्तीबाट उता जान सक्दैन। हिजोको सुन्दर चोक र नगर दुई चिरा परेको छ। यताबाट उता पुग्न आधा घन्टा हिँड्नुपर्छ। बाटो विस्तार गर्दा प्राविधिक पक्षमात्रै हेरियो, मानवीय पक्ष हेरिएन। हरेक विकासमा मानवीय पक्ष हेर्नुपर्छ। किनकि विकास भनेको मान्छेकै लागि हो। किन यस्तो भयो ?  यसको पछाडि हाम्रो शिक्षापद्धति जिम्मेवार छ।

 सहरमा वर्ग
उपत्यकामा धनीहरू बस्ने विभिन्न क्षेत्र छन्। महाराजगन्ज, बूढानीलकण्ठ, भैंसेपाटी, सानेपाजस्ता स्थानमा तुलनात्मक रूपमा धनीहरू बस्छन् जस्तो लाग्छ। हाउजिङहरू खुलेका छन्। तर, महत्वपूर्ण पक्ष विकासनिर्माण तीव्र गतिमा भइरहँदा काठमाडौंको मुटुमा बस्ने रैथानेले भने काठमाडौं त्याग्दैछन्। धेरै मानिसले काठमाडौंको मुटु त्यागेका छन्।

उनीहरू सहर छाडेर काँठ क्षेत्रमा बस्न थालेका छन्। कुनै समय अमेरिकामा पनि त्यस्तो भयो। मुख्य सहर छाडेर मानिस ग्रामीण इलाकामा बस्न पुगे। तर, युवाहरूको भने प्रसंग फरक छ। अमेरिकाका युवाहरूले त्यस्ता क्षेत्रमा थिएटर, मुभी हल, बुक स्टोर, रेस्टुराँ, क्लब केही पनि पाएनन्। त्यसपछि उनीहरू फेरि सहर फर्किए। सहरमा पुराना घर किनेर नयाँ आर्किटेक्ट प्रयोग गरी मोर्डन स्टाइलमा घर बनाई बस्न थाले।

अहिले हाम्रो सहर पहिलो स्टेजमा छ। सहरको मध्य भागबाट केही धनी मानिस काँठ एरियामा सर्दै छन्। सहरको घर उनीहरूले भाडामा दिएका छन्। रैथानेहरू सहरभित्रै नबस्दा भूकम्पले भत्काएको कति मठमन्दिरको पुनर्निर्माण नै भएन। किनकि रैथानेहरू ‘आँगन देव' भन्दै हरेक बिहान आँगनको पूजा गर्थे। उनीहरू नै हिँडेपछि कसले पूजा गर्ने ? इन्द्रचोकबाट भित्र जाँदा त्यसरी त्यागेका घरहरू देखिन्छ। मल्लकालमा इन्द्रचोक काठमाडौंको मुख्य सहर थियो। अहिले रैथानेले छाडेर गएको गल्ली बन्यो। त्यस्ता घरहरूमा बाहिरका मानिस भाडामा बस्न पुगे। बाहिरबाट आएका हुनाले उनीहरूको अपनत्व छैन।

रैथानेहरू सहरबाट भागेर बाहिर जानु राम्रो होइन। सहरभित्रै बस्ने वातावरण बन्नुपर्छ। पुराना सहरहरू जस्तै भेनिसबाट रैथानेहरू भागेका छैनन्। रोमबाट भागेनन्। युरोपका पुराना सहरबाट भागेका छैनन्। सहरबाट रैथानेहरू बाहिरिनु राम्रो होइन। तर, खुसीको कुरा पाटनमा त्यस्तो घटना भएको छैन। पाटनमा ‘रेनासा'जस्तो भएको छ। एक किसिमको पुनर्जागरण जस्तो देखिन्छ। पुराना घरमा क्याफेहरू सञ्चालन भएका छन्।

नगरवासीको राजनीतिक यात्रा

राजनीतिक र सामाजिक परिघटनामा सहरका रैथानेहरूले कौसीबाट हेर्ने चलन छ। दोलाई ओढेर कौसीबाट हेर्दै ‘खै त नागरिक समाज ?        नागरिक समाज त खत्तम' भन्नेहरू पनि छन्। यहाँका रैथानेहरूमा यो प्रवृत्ति देखिन्छ। तल पसल छ। जग्गा छ, घर भाडा आउँछ। चलेकै छ भन्ने मनोविज्ञान छ। बाहिरबाट आएकाहरूमा अग्रभागमा भिड्ने मनोविज्ञान हुन्छ। यस्तो प्रवृत्ति चितवनमा देखिन्छ। त्यहाँ सबैजना बाहिरबाट आएका छन्। रैथानेको जीवन केही मात्रामा सहजतामा चलेको हुन्छ। बाहिरियाहरू जहिल्यै संघर्षरत हुन्छन्। त्यसैले बाहिरियाहरूले प्रगति पनि गर्छन्। रैथानेपनले जहिल्यै सुरक्षा खोज्छ।

समाजमा स्थिरताका लागि सबैभन्दा राम्रो मध्यम वर्गको आकार बढ्नुलाई मानिन्छ। मध्यमवर्गीय आकार समाजमा जति बढ्यो समाजमा त्यति नै स्थिरता हुन्छ। सबै ठीकै छ भन्ने मनोविज्ञान मध्यम वर्गमा हुन्छ। नयाँ परिवर्तनमा जान चाहँदैन। सहरका रैथाने राजनीतिक आन्दोलनको अग्रभागमा ननिस्कनुको कारण मध्यमवर्गीय मनोविज्ञान हुनसक्छ।

म स्कुल पढ्दा सुन साहूको छोरा, घिउ साहूको छोरा, तरकारी बेच्नेको छोरा, ट्याक्सी ड्राइभरको छोरा, सरकारी कर्मचारीको छोरा सबै सँगै पढ्थ्यौं। सँगै खेल्यौं, झगडा गथ्र्यौं। मिल्थ्यौं। सँगसँगै हुर्कियौं। सम्पूर्ण समाजसँगै हामी हुर्कियौं।

मेरो विचारमा सहरमा मध्यम वर्गभन्दा तल्लो वर्ग बढी छ। सहरको गरिबी झनै डरलाग्दो गरिबी हो। गाउँको गरिबी एक किसिमको हुन्छ। सहरको गरिबी डरलाग्दो हुन्छ। सहरमा पहिलाको तुलनामा मध्यम वर्गभन्दा निम्न वर्ग बढेको छ कि ? जस्तो लाग्छ। माथिल्लो वर्ग एकदमै कम छ। मध्यम वर्गतिर जान कोसिस गरिरहेका मानिस काठमाडौंमा धेरै छन्। नेपालमा २२ प्रतिशत जति मध्यम छ भनिन्छ। वल्र्ड बैंकका अनुसार मध्यम वर्गमध्ये ५० प्रतिशत जुनसुकै बेला तल्लो वर्गमा झर्न सक्छ। मध्यम वर्गको चरित्र आफ्नो वर्ग र जीवनशैलीमा गोलमाल गर्न चाहँदैन। मध्यम वर्ग धेरै भएको भए देश स्थिर हुन्थ्यो।

बिग्रँदो शिक्षा पद्धति

आजको नातिनातिना पुस्ता स्कुल बस चढेर बोर्डिङ स्कुल जान्छ। आफ्नै वर्गका एकै खालका साथीहरूसँग मिसिन्छ। उनीहरू स्कुल छुट्टी भएर घरमा आउँछन् र कम्प्युटरमा गेम खेल्न थाल्छन्। यसरी त समाजका अन्य वर्गसँग सम्बन्ध नै भएन। म दशकौंदेखि कराइरहेको विषय नै यही हो। यो बूढो किन कराइरा'छ भन्छन् मान्छेहरू। म स्कुल पढ्दा सुन साहूको छोरा, घिउ साहूको छोरा, तरकारी बेच्नेको छोरा, ट्याक्सी ड्राइभरको छोरा, सरकारी कर्मचारीको छोरा सबै सँगै पढ्थ्यौं। सँगै खेल्यौं, झगडा गथ्र्यौं। मिल्थ्यौं। सँगसँगै हुर्कियौं। सम्पूर्ण समाजसँगै हामी हुर्कियौं।

फिनल्यान्ड, डेनमार्क, नर्वे, सिंगापुर जस्ता देशमा किन सार्वजनिक विद्यालयलाई जोड दिइन्छ ? यसले सोसाइटीलाई विल्ड गर्न मद्दत गर्छ। केटाकेटीदेखि नै हामीले विभाजन गरिरहेका छौं। वर्ग छुट्याइरहेका छौं। समाजको खण्डीकरण भयो। केटाकेटीदेखि नै खण्डीकरण भयो। समाजलाई खण्डीकरण गर्ने महत्वपूर्ण साधनका रूपमा शिक्षा प्रयोग भयो।

शिक्षा भनेको सक्नेले सोल्टी होटलमा गएर लन्च खाने, नसक्नेले फुटपाथमा बसेर मम खाने भनेजस्तो होइन। सबैले एउटै गुणस्तरको शिक्षा पाउनुपर्छ भन्ने हो। अहिले जोडजोडले समाजवाद भनेको सुनिन्छ तर हाम्रो शिक्षानीति समाजवादी छैन। सिरहाको दलित बस्तीमा जन्मिएकी बालिकाले प्राथमिक शिक्षा पूरा गर्न पाउने अवसर ४० प्रतिशत मात्रै छ भने काठमाडौंमा जन्मिएकी बालिकाको ९० प्रतिशत छ। नेपालको शिक्षाप्रणाली एउटा फलामको बलियो डुंगा जस्तो र अर्को काठको जीर्ण डुंगा जस्तो भयो। निकै भेदभावपूर्ण छ। त्यो हुनुभएन। जब समाज असमान हुन्छ, त्यहाँ भद्रगोल र कलह हुन्छ। राम्रो समाज बनाउन राम्रो सार्वजनिक शिक्षा आवश्यक हुन्छ। सार्वजनिक शिक्षा राम्रो भयो भने कमजोर आर्थिक स्थिति भएका विद्यार्थी पनि धनीका छोराछोरीसँग प्रतिस्पर्धामा उत्रिन सक्छन्।

 सहरमा नयाँ पुस्ता

सहरमा अहिले १२ कक्षा पास गर्नेबित्तिकै अस्ट्रेलिया र क्यानडाको सपना देख्ने पुस्ता हुर्किंदै छ। उच्च शिक्षा लिनु खराब होइन तर १२ पास गर्नेबित्तिकै देशबाहिर जानु ठीक भएन। सानै उमेरमा विदेश जाँदा उसको फर्किने सम्भावना कम हुन्छ। हामीले स्कुल कलेज तहबाटै विद्यार्थीलाई नेपालप्रति उत्साहित नै गराउन सकेनौं। उत्साहित गराउने र नेपालमा भविष्य छ भनेर देखाउने त कुरै छाडौं, नेपाल नै चिनाउन सकेनौं। सामाजिक शिक्षा पनि अंग्रेजीमा पढाउने ? आफ्नो भाषा, संस्कृति, परिवार, समाज बुझ्न पनि विदेशी भाषामा पढ्नुपर्ने ? केटाकेटीले स्वतःस्फूर्त आफ्नो विचार राख्नसक्ने भाषामा हुनुपर्‍यो।

शिक्षा पद्धतिमा दुईवटा पाठ्यक्रम छन्। एउटा, सरकारले दिएको पाठ्यक्रम। अर्को, लुकेको पाठ्यक्रम। सरकारले दिएको पाठ्यक्रमले भन्छ, ‘नेपाल सुन्दर छ। आफ्नो राष्ट्रका लागि काम गर्नुपर्छ। हाम्रो भाषा सुन्दर छ।' नदेखिएको पाठ्यक्रम स्कुलको व्यवहारबाट देखिन्छ। त्यसले भन्छ, ‘नेपाल राम्रो छैन। नेपालभन्दा विदेश नै राम्रो। नेपाली भाषा नभए पनि हुन्छ, अंग्रेजी भाषा बलियो पार है बलियो पार।' स्वरूपमा देखिने सरकारी पाठ्यक्रमभन्दा नदेखिने लुकेको पाठ्यक्रम डरलाग्दो हुन्छ।

शिक्षामा भइरहेको अनियन्त्रित व्यवसायीकरण र व्यापारीकरणलाई सरकारले रोक्नुपर्छ। राज्यले यसलाई रोकेन भने कुनै बिन्दुमा पुगेर समाजमा विद्रोह हुनसक्छ।

(शिक्षाविद् माथेमासँग राजु स्याङ्तानले गरेको कुराकानीमा आधारित)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.