एकता सार्थक बनाऊ

एकता सार्थक बनाऊ

लामो गृहकार्य र पटकपटकको आशंका चिर्दै देशका दुई प्रमुख कम्युनिस्ट पार्टीहरूले पार्टी एकता गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोषणा गरेका छन् । फरक पृष्ठभूमि र फरक वैचारिक विरासतद्वारा निर्मित एमाले र माओवादी केन्द्रबीच भएको एकताले नेपाली राजनीतिलाई नयाँ मोड दिएको छ । संसद्मा पहिलो र तेस्रो शक्तिका रूपमा रहेका पार्टीहरू एक हुँदै बलियो कम्युनिस्ट पार्टी मात्रै बनेको छैन, गठबन्धन सरकार बहुमतसहितको बलियो सरकारमा परिणत भएको छ । 

सात दशकअघि सुरु भएको कम्युनिस्ट आन्दोलनको सन्दर्भमा त यो एकता ऐतिहासिक कोसेढुंगा सावित भएको छ । राजनीति नयाँ चरणमा प्रवेश गरेसँगै नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृत्वको सरकारको अग्निपरीक्षा सुरु भएको छ । खासगरी आर्थिक विकास, समृद्धि र सुशासन दिने जुन प्रतिबद्धतासहित दुई ठूला कम्युनिस्ट पार्टी एक भएका छन्, त्यो प्रतिबद्धताले पूर्णता÷पाउने नपाउने कुरामा यो ऐतिहासिकताको औचित्य पुष्टि हुनेछ । त्यस अर्थमा सरकार र नेपाल कम्युनिस्ट पार्टीको वास्तविक परीक्षा प्रारम्भ भएको छ ।

गत असोजमा चुनावी प्रयोजनसहित बनेको वाम गठबन्धन र पार्टी एकतासमेत गर्ने घोषणाले देशको वामपन्थी जनमतलाई उत्साही र आकर्षित गरेको थियो । दुवै पार्टीले विकास, समृद्धि र समाजवादको नारासँगै कम्युनिस्ट एकतालाई पनि चुनावी एजेन्डाका रूपमा अघि सारेका थिए ।

 निर्वाचनमा वाम गठबन्धनले दुवै सदनमा बलियो बहुमत हासिल मात्रै गरेन, सातवटा प्रदेशमध्ये ६ वटामा गठबन्धनकै तर्फबाट सरकारसमेत गठन गर्न सफल भयो । आरम्भमा चुनावी तालमेलको आवश्यकताले दुई दललाई एक ठाउँमा उभ्याएको भए पनि राजनीतिक नेतृत्वले लिएको एकताको निर्णय चुनावी मतबाट समेत अनुमोदन भएपछि एकता तत्कालीन आवश्यकताबाट ऐतिहासिक अपरिहार्यतामा परिणत भयो ।

२००६ सालमा स्थापित नेकपाले एक दशकको अवधिपछि लगातार पटकपटक विभाजनहरू बेहोर्दै आएको थियो । झन्डै सत्तरी वर्षको इतिहासमा केही एकताका शृंखला पनि नचलेका होइनन्, तर यसपटकको कम्युनिस्ट सम्मीलनले राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिकै ध्यानाकर्षण गर्न सफल भएको छ ।

 संविधानसभाबाट नयाँ संविधान निर्माणपछि भएको पहिलो आमनिर्वाचनसँगै मुलुकले राजनीतिक स्थिरता, आर्थिक समृद्धि र सामाजिक विकासमा गति लिने अपेक्षा बढेको हो । लामो समय राजनीतिक क्षेत्रमा देखिएको अस्थिरता, अन्योल र संक्रमणले मात्रै होइन, प्रमुख दलहरूभित्रको विग्रह र टुटफुटले पनि देशको समग्र विकासमा अवरोध पुर्‍याइरहेको थियो । नेकपाले लोकतान्त्रिक मूल्य, मान्यता र बहुदलीय प्रतिस्पर्धामा आधारित रहेर प्रतिपक्षी दललाई समेत साथ लिई मुलुकलाई राजनीतिक स्थिरता र आर्थिक समृद्धिको दिशामा लैजाने दायित्व लिन सकोस् भन्ने आम अपेक्षा छ । आम अपेक्षामा खरो उत्रन सके मात्रै यो एकताले सार्थकता पाउनेछ ।

दुई भिन्न विचारधारा, भिन्न राजनीतिक अभ्यास र भिन्न संगठनात्मक संरचनामा अभ्यस्त दलहरूबीचको एकता अभ्यास कम्ती जटिल र चुनौतीपूर्ण हुने छैन । एकता गर्ने औपचारिक घोषणा भएसँगै बेलाबेला दुवै पूर्व समूहभित्र आशंका, अन्योल र नेता-कार्यकर्ताबीचको आपसी असुरक्षा भाव सतहमा देखिने गरेको हो । वैचारिक बेमेलहरूसँगै नेता-कार्यकर्ताहरूको व्यवस्थापन तथा जिम्मेवारी बाँडफाँट पनि नेकपाका प्रमुख चुनौतीका रूपमा देखिन सक्छ ।

 राष्ट्रिय राजनीतिमा आफैंले बाँडेको स्थिरता र समृद्धिको सपनालाई व्यवहारतः साकार पार्नु, छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सन्तुलनमा राख्न सक्नु र प्रतिपक्षी दललाई विश्वासमा लिनु पनि त्यत्तिकै चुनौतीपूर्ण काम हुनेछ । वाम गठबन्धन एउटा चुनावका लागि मात्रै थिएन र एकता नेताहरूको सत्ता सुखका लागि मात्रै होइन भन्ने सन्देश दिनका लागि जति कठिन कोसिसहरूपछि नेकपा जन्म भएको छ, त्योभन्दा कैयौं गुना कठिन बाटाहरू यसले छिचोल्नुपर्नेछ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.