व्यापारी छिमेकी
आप बहुत चलाख हुनुहुन्छ
किन्न–बेच्न सिपालु हुनुहुन्छ
जति जति किन्नु भएको छ
मेरो देशको
उति नै ज्यादा मेरो देशमा बेचिहाल्नु भएको छ
मगर अलग–अलग कुराहरू
किन्दा पुराका पूरा प्रकृति निर्मित किन्नुहुन्छ
बेच्दा पूराका पूरा कारखाना निर्मित बेच्नुहुन्छ
जस्तो कि
किन्दा मेरो देशको शोषक मान्छेहरू किनिहाल्नुहुन्छ
बेच्दा
सुर्ती र तमाखु बेचिहाल्नुहुन्छ
किन्दा
गोर्खा भर्ती केन्द्रमा
मेरो देशका युवाहरू छानीछानी किनिहाल्नुहुन्छ
बेच्दा
बेचैन बसेका तिनैका श्रीमतीहरूलाई भनेझैं
शृंगार सामग्री बेचिहाल्नुहुन्छ
किन्दा
आफ्नो सहरको रंगीन दुनियाँका लागि
मेरो देशका युवतीहरू
चोरीचोरी किन्नुहुन्छ
बेच्दा
मेरो देशको जडीबुटी तस्करसँग सस्तोमा किनेर
महँगो औषधि बेचिहाल्नुहुन्छ
किन्दा
मेरो देशको नदीनाला कौडीको भाउमा किनिहाल्नुहुन्छ
बेच्दा हामीलाई
टुकी बाल्न अर्बौको मट्टीतेल बेचिहाल्नुहुन्छ
किन्दा
चोरबाटो हुँदै
मेरो देशको काठ, ढुंगा, बालुवा लगिहाल्नुहुन्छ
बेच्दा
बेकारका बिस्कुट हामीलाई बेचिहाल्नुहुन्छ
मेरो व्यापारी छिमेकी
आप बहुत चलाख हुनुहुन्छ
किन्न–बेच्न सिपालु हुनुहुन्छ ।