सन्दीप सनसनी

सन्दीप सनसनी

ब्याटिङ क्रिजको दुई ‘इन्ड’मा अन्तर्राष्ट्रिय क्रिकेटका दुई धुरन्धर ब्याट्सम्यान विराट कोहली र एबी डी भिल्लियर्स। यी दुई ब्याट्सम्यानका लागि बलिङ गर्न तयार थिए, नेपाली युवा स्पिनर सन्दीप लामिछाने।

यही दृश्य हेर्नका लागि त नेपाली क्रिकेट समर्थक वर्षाैंदेखिको प्रतीक्षामा थिए। नेपाली क्रिकेट समर्थकले कल्पना मात्रै गरेको यो संयोजन यत्ति चाँडै सम्भव होला भनेर सायदै कसैले सोचेको थियो। त्यसैले १७ वर्षीय नेपाली युवा स्पिनर सन्दीप गत जनवरीमा आईपीएलको अक्सनमा पर्दा मात्रै हैन, उनलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा अनुबन्ध गर्दा नेपालीको खुसीले क्षितिज पार गरेको थियो।

यद्यपि आईपीएल सुरु भएको झन्डै दुई महिनासम्म पनि सन्दीपले प्लेइङ ११ मा अवसर नपाउँदा नेपाली समर्थक निराश थिए। शनिबार फेरि त्यस्तै क्षण आयो, जुन सन्दीप अक्सनमा पर्दा र दिल्लीसँग अनुबन्ध बन्दा महसुस भएको थियो।

शनिबार राति हुने खेलमा सन्दीप दिल्ली डेयरडेभिल्सबाट रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दै थिए। त्यससँगै सन्दीप आईपीएलको अक्सनमा पर्ने र अनुबन्ध जित्ने मात्रै हैन, आईपीएल खेल्ने पनि पहिलो नेपाली खेलाडी बन्ने पक्का थियो। अनि आईपीएल खेल्ने विदेशी खेलाडीमध्ये उनी सर्वाधिक कम उमेरका दोस्रा खेलाडी बन्ने पनि निश्चित थियो।

उनीभन्दा पहिले किङ्स इलाभेन पन्जाबबाट अफगानी स्पिनर मुजिब उर रहमानले १७ वर्ष ११ दिनको उमेरमा आईपीएल डेब्यु गरेका छन्। सन्दीपले १७ वर्ष दुई सय ८३ दिनको उमेरमा डेब्यु गरेका छन्।

टस हारेपछि पहिले ब्याटिङ गरेको दिल्ली एक सय ८१ रनमा रोकियो। दिल्ली जब ब्याटिङका लागि निस्कियो, त्यसको दृश्य अझ नेपालीले चाहेकै जस्तो बन्यो। टोलीमा टे«न्ट बोल्ट र अमित मि श्राजस्ता सशक्त बलर हुँदाहुँदै पनि कप्तान श्रेयस आयरले सन्दीपको हातमा नयाँ बल थमाइदिए। कप्तानको त्यो निर्णयले खुसीसँगै एकैपटक संशय पनि उब्जायो, कतै सन्दीपले चुटाइ खाने त हैनन् ? तर हैन। त्यस्तो भएन।

सन्दीपले सोचेभन्दा निकै उत्कृष्ट प्रदर्शन गरे। पहिलो ओभरमा उनले विकेट त लिएनन् तर ६ रनमात्रै खर्चिए। त्यसपछि तेस्रो ओभरमा व्यक्तिगत दोस्रो ओभर बलिङको अवसर पाएका सन्दीपले यसपटक कमालै गरे। उनले सुरुआती दुई बल भारतीय राष्ट्रिय टोलीका समेत कप्तान रहेका विराट कोहलीका लागि गरे। त्यसमा उनले मात्रै एक रन दिए। तेस्रो बलमा पार्थिप पटेलले चौका प्रहार गरे। त्यसपछिको पहिलो बलमै सन्दीपले पार्थिपलाई एलबीडब्ल्यू धरापमा पारे। यससँगै सन्दीप आईपीएलमा विकेट लिने पनि पहिलो नेपाली खेलाडी बने।

त्यसपछि खेलको सातौं ओभर र १२औं ओभरमा बलिङ गरेका सन्दीपले उत्कृष्ट प्रदर्शन गरे। सन्दीपले आफ्नो कोटाको चार ओभरमा मात्र २५ रन खर्चेर एक विकेट लिए। उनले ६.२५ को इकोनोमीमा बलिङ गरेका थिए। खुसीको कुरा, उनको यो ‘बलिङ फिगर’ खेलमा अन्य खेलाडीको भन्दा मात्रै हैन, टीट्वेन्टी क्रिकेटमै किफायती रह्यो।

सन्दीपले डेब्यु खेलकै यो प्रदर्शनबाट अन्तर्राष्ट्रिय क्रिकेट समुदायमाझ नेपालमा पनि क्रिकेट ट्यालेन्ट रहेको ठूलो सन्देश मात्रै फैलाएनन्, प्रतियोगिताको ४४औं र दिल्लीको ११औं खेलसम्म पनि उनलाई अवसर नदिनु गल्ती भएको जवाफ पनि दिए।

‘सन्दीपसँग विश्वका कुनै पनि स्पिनरको भन्दा कम क्षमता छैन। उनले पहिलो खेलबाटै त्यसको प्रमाणित पनि गरिसकेका छन्। उनको क्षमताको सम्मानका लागि पनि उनलाई अझ बढी अवसर दिन जरुरी छ।’

नेपाली क्रिकेटमा उदाएको पछिल्लो झन्डै चार वर्षकै अवधिमा सन्दीप नेपाली यू–१९, सिनियर राष्ट्रिय टोली हुँदै आईपीएलसम्म पुगेका छन्। यो अवधिमा यू–१९ विश्वकपमा आयरल्यान्डविरुद्धको खेलमा ह्याट्रिक विकेट लिएका थिए। त्यस्तै सिनियर राष्ट्रिय टोलीबाट गत फेब्रुअरीमा नामिबियामा भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुईमा सशक्त प्रदर्शन गर्दै प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी चुनिएका थिए, सन्दीप। उनले आफ्नो जादुयी प्रदर्शनलाई आईपीएलको डेब्यु खेलमा पनि निरन्तरता दिएका छन्।

सन्दीप आईपीएलजस्तो विश्वकै चर्चित अन्तर्राष्ट्रिय फ्रान्चाई क्रिकेट प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्ने खेलाडी हुन्, जसले आफ्नो डेब्यु खेलको प्रदर्शनबाट आगामी दिनमा अन्य नेपाली खेलाडीका लागि पनि बाटो प्रशस्त गरेका छन्। १७ वर्षकै कलिलो उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो अवसर पाएका सन्दीपले आगामी दिनमा अझ सशक्त प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

उनी यो सिजन वेस्ट इन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल)का लागि समेत छनोट भएका छन्। उनलाई सेन्ट किट्स एन्ड नेभिस प्याट्रिवट्सले पाँच सय डलरमा अनुबन्ध गरेको छ। आईपीएलको यो प्रदर्शनसँगै सीपीएलमा उनीमाथिको अपेक्षा अझ बढेको छ। यही प्रदर्शनले आगामी सिजन आईपीएलमा सन्दीपसँगै अन्य नेपाली खेलाडी पनि देख्न पाइने सम्भावना रहन्छ।

मोदीको भाषण र सन्दीपको डेब्यु

नेपालको दुईदिने भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत शनिबार स्वदेश फर्कनुअघि काठमाडौंमा आफ्नो भाषणमा सन्दीपको नाम लिएका थिए। भारतकै प्रधानमन्त्रीले नाम लिएपछि सन्दीपले त्यही रात हुने बैंगलोरविरुद्धको खेलमा डेब्युको अवसर पाउने अड्कलबाजी चलेको थियो। संयोगवश भयो पनि त्यस्तै।

दिल्ली डेयरडेभिल्सको स्वामित्व जीएमआर ग्रुपसँग छ। जीएमआर भारतीय सरकारको पहलमा नेपालको जलविद्युत् आयोजनामा लगानी गरिरहेको कम्पनी हो। त्यसैले भारतीय प्रधानमन्त्री मोदीले सन्दीपको नाम लिएपछि बैंगलोरविरुद्धको खेलमा उनको डेब्युको चर्चाले सामाजिक सञ्जाल भरिएको थियो।

यद्यपि बैंगलोरविरुद्धको उनको त्यो प्रदर्शनले ती सबै अड्कलबाजीलाई नकारेको छ। सन्दीप प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शनका लागि तयार खेलाडी थिए। त्यही अवसर पाउँदा उनले सशक्त प्रदर्शन गरे। डेब्यु खेलमा जुन प्रदर्शन गरेका छन्, त्यसले सन्दीपलाई उनको पूर्ण क्षमता प्रदर्शनका लागि अझ धेरै अवसर आवश्यक रहेको उनका पहिलो प्रशिक्षक राजु खड्का बताउँछन्।

‘सन्दीपको विषयमा कसले के भन्यो भन्दा पनि उनको क्षमता कति हो भन्ने कुरा बुझ्न जरुरी छ’, नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहेका खड्का भन्छन्, ‘सन्दीपसँग विश्वका कुनै पनि स्पिनरको भन्दा कम क्षमता छैन। उनले पहिलो खेलबाटै त्यसलाई प्रमाणित गरिसकेका छन्। उनको क्षमताको सम्मानका लागि पनि उनलाई अझ बढी अवसर दिन जरुरी छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.