मापौगो ग्याङ : कुख्यात ब्यान्ड अफ ब्रदर
१.
‘मापौगो ग्याङ’ अहिलेसम्मकै सबैभन्दा कुख्यात समूह मानिन्छ। ६ वर्षको अवधिमा एक सयभन्दा बढीको ज्यान लिएको थियो यो समूहले। दक्षिण अफ्रिकाको साबी स्यान्ड संरक्षण क्षेत्रको यो सिंहहरूको गुट शासकभन्दा ज्यादा ग्याङस्टारजस्तो थियो।
सिंहहरूको प्रायः निश्चित सत्ता हुन्छ, निश्चित क्षेत्रभित्र सिंहिनीहरू र डमरुहरूको समूह हुन्छ। मापौगो सिंहहरूको समूह भने अलिक फरक थियो। यिनीहरूले ठूलो क्षेत्र ढाकेका थिए। आफ्नो इलाकामा यिनीहरू नियमित गस्ती गर्थे। प्रतिस्पर्धी वा अन्य समूहका सिंह भेटिए तिनीलाई तत्कालै मारिदिन्थे। तिनले डमरु र तिनको वशमा नआउने सिंहिनीहरूलाई बाँकी राख्दैनथे। साबी स्यान्डका सिकारविरोधी अभियानका प्रमुख बिलेम वोटा भन्छन्, ‘मापौगोले मारेका एक सयभन्दा बढी सिंहिनी र डमरुहरू मैले गनेको छु। मापौगेले हाड भाँचेर नराम्ररी घाइते बनाएका १३ सिंहलाई त मैले नै सुट गरेको छु।’
मापौगोहरू एकदमै निर्दयी, जंगली पनि थिए। तिनको प्रवृत्ति राक्षसी थियो। प्रत्यक्षदर्शी विलेम भन्छन्, ‘मापौगोले एक्टेरियर पोर्सन–फाइव नजिकै एउटा सिंहिनीलाई मारे। सायद उसले तिनीहरूसँग आउन मानेकी थिइन। ऊ मरेपछि एउटा मापौगोले त्यस लाससँग संसर्ग गर्यो। त्यसपछि तिनले त्यसलाई खाए।’
यसैगरी मापौगोले ‘पिकानिनी उठा’ प्राइडका सबै सिंह र डमरुहरूलाई मारेका थिए। डमरु बचाउन उत्रिएका सिंहिनीहरूलाई पनि एकएक गरी मारिदिएका थिए। यिनको आतंक २००६ देखि नै सुरु भएको थियो। यिनले ‘साबी स्यान्ड’मा रहेको ‘स्यान्ड रिफर प्राइड’लाई त्यस इलाकाबाट लखेटेका थिए। त्यहाँबाट बाहिरिएका सिंहहरूले नजिकैको बस्तीमा छिरेर घरपालुवा वस्तुहरू खानु परेको थियो। फलस्वरूप २००६ अप्रिलमा पाँचवटा र जनवरी २००९ मा बाँकी सिंहलाई प्रशासनले गोली हान्नु परेको थियो। ६ वर्षसम्म त्यस इलाका र आसपासमा यो ‘ब्यान्ड अफ ब्रदर’ले निरन्तर राज गरिरह्यो। मानौं यिनको पञ्जा फलामले बनेको थियो। यसरी हेर्दा मापौगोहरू एकदमै घृणित देखिन्छन्। तर, यो त सिंहको सत्ताको वास्तविक प्रवृत्ति थियो। वास्तवमा मापौगोहरू अत्यन्त साहसी योद्धा, कुशल लडाकु थिए। यिनीहरूबीच अकल्पनीय एकता थियो। यिनलाई रोक्नसक्ने अरू कसैको तागत थिएन।
२.
आखिर को हुन् त मापौगो ? यिनका सम्पूर्ण कथा ‘ब्रदर इन ब्लड : लायन्स अफ द साबी स्यान्ड’ डकुमेन्ट्रीले भन्छ। यो डकुमेन्ट्री १६ वर्ष लगाएर खिचिएको हो। ड्यानियल हर्टाज निर्देशित यो डकुमेन्ट्री क्राइग गार्डनरले लेखेका हुन्।
सन् २००२ मा साबी स्यान्ड रिजर्भको स्पार्टा भन्ने सत्तामा १० वटा डमरु हुर्कंदै थिए, तीमध्ये पाँचवटा भाले डमरु थिए। मापौगो यिनै पाँच भाले डमरुको नाम हो। मापौगोको अर्थ जुलु भाषामा ‘बदमास’ भन्ने हुन्छ। सुरुमा त सबैको छुट्टाछुट्टै नामकरण गरिएको थिएन। तर पछि आकर्षक अनुहार भएकाले एउटालाई ‘प्रिटी ब्वाइ’ भनियो। लट्टाजस्तो परेकोलाई डे«डलक भनियो। अनौठो पुच्छर भएकोलाई किन्की टेल भनियो। सबैभन्दा चनाखोलाई ‘मिस्टर टी’ भनिएको थियो। र, बाँकी अर्कोलाई रास्ता भनियो।
यी डमरुहरू सानैदेखि क्रियाशील, जिज्ञासु र जागरुक थिए। मापौगोको कुरा गर्नुपर्दा मिस्टर टी र किन्की टेल भने सानैदेखि बढी आत्मीय थिए। तत्कालै नेतृत्व लिइहाल्ने यी दुई अरू दाजुहरूभन्दा बढी साहसी थिए। सिंहको सत्ताको कुरा गर्नुपर्दा यो सिंहिनीहरूमै केन्द्रित हुन्छ। पोथी डमरुहरू हुर्केपछि पनि त्यही सत्तामा आमा, हजुरआमासँग बस्छन् तर हुर्किएका भाले डमरु भने त्यहाँको नेतृत्व लिएका वयस्क सिंहहरूबाट लखेटिन्छन्। र, तिनले छुट्टै सत्ता बनाउनुपर्ने हुन्छ। सिंहको सत्तालाई ‘प्राइड’ भनिन्छ। भाले डमरुको जिन्दगी संघर्षपूर्ण हुने गर्छ। आठवटामा एउटा मात्र भाले डमरु वयस्क हुने तथ्यांकले देखाउँछ, बाँकी सब मारिन्छन्। तर, मापौगोहरू यस कुरामा भाग्यमानी भएर निस्के किनकि तिनीहरू अफ्रिकाकै सबैभन्दा स्वस्थ र बलियो सत्तामा जन्मिएका थिए।
‘स्पार्टा प्राइड’को इतिहास पनि लामो थियो। यसमा सिंहिनीहरूको जमात पनि ठूलो थियो। यिनीहरू बलिया र निपुण सिकारी तथा साहसी लडाकुहरू थिए। यिनले ओगटेको क्षेत्र पनि व्यापक थियो। त्यसमाथि यस प्राइडको नेतृत्व पाँचवटा ‘वाल स्ट्रिट’ गुटका बलिया र ठूला सिंहहरूले लिएका थिए। यो ‘वाल स्ट्रिट’ समूहले आसपासका अरू थुप्रै प्राइड पनि कब्जा गरेका थिए। सामान्यतया सिंहका प्राइडहरू एक, दुई वा तीनवटा सिंहको समूहबाट धानिन्छन्। पाँच शक्तिशाली सिंहबाट शासित ‘स्पार्टा प्राइड’लाई बाहिरबाट अरूले आक्रमण गर्ने सम्भावना नै भएन। फलस्वरूप सबै मापौगोहरू बाँच्न सफल भएका थिए। अझ उनले सबैभन्दा कुशल र बलिया बाबुहरूबाट प्रचुर युद्धकौशल सिक्न पाएका थिए।
जब यी मापौगो दाजुभाइहरू एकदेखि दुई वर्षका थिए, अर्काे चार वर्षको किशोर सिंह ‘स्पार्टा प्राइड’मा भित्रियो। सबैलाई लागेको थियो, ‘वाल स्ट्रिट’ सिंहरूले त्यसलाई मारिदिनेछन्। तर अहँ, नयाँ प्राइडका सिंह र सिंहिनीले उसलाई स्वीकारे। वास्तवमा छिमेकी प्राइडमा जन्मिएर हुर्किएको यो किशोर पनि ‘वाल स्ट्रिट’ सिंहहरूकै छोरो थियो। हुर्किएको सिंहलाई अरूले आक्रमण गरेर मारिदिने हुँदा ऊ बाबुहरूको आश्रयमा आएको थियो। यस किशोरलाई ‘माकुलु’ नाम दिइयो।
यसको अर्थ जुलु भाषामा ‘ठूलो’ भन्ने हुन्छ किनकि अन्य पाँच मापौगोभन्दा यो हुर्किसकेको थियो। सुरुआती कालमा ‘माकुलु’ नै मापौगो गुटको लिडर भयो। किशोर अवस्थामा नै मापौगोहरू साहसी र शक्तिशाली देखिन्थे। त्यसमा पनि मिस्टर टी र किन्की टेल सबैभन्दा आँटी थिए। मिस्टर टी लिडरजस्तो देखिन्थ्यो। किन्की टेल जहिले पनि उसको पछाडि ब्याकअपमा तैनाथ हुन्थ्यो। एक वर्षको हुँदादेखि नै मिस्टर टीले आफ्नो पारा देखाउन थालिसकेको थियो। जब उसका बाबुआमाहरूले ठूल्ठूला सिकार मार्थे, ऊ खानलाई बीचमै छिथ्र्याे, मानौं त्यो सिकार उसैले ढालेको हो।
जब यी मापौगोहरू यौवनकालमा प्रवेश गरे, ‘वाल स्ट्रिट’ सिंहहरूले यिनलाई प्राइडबाट निकालिदिए। अब यिनले आफ्नै दुनियाँ बनाउनुपर्ने भयो। ‘माकुलु’ले पनि यिनलाई साथ दियो। यसरी ६ जनाको संयुक्त समूह ‘ब्यान्ड अफ ब्रदर’ बनेको थियो। यसैलाई मापौगो ग्याङ भनियो।
प्राइडबाट निस्किएका सिंह प्रायः मारिन्थे। यो कुरामा मापौगोहरू जानकार थिए। तिनले आफ्ना बाआमाका पुराना अनुभवबाट यो बुझेका थिए। त्यसैले आफ्नो अस्तित्व संकटमा पर्न नदिन तिनीहरू अझ सशक्तसँग एकजुट भए। सुरुमा तिनले ससाना जनावर मार्न सिके। तिनले अरू सिंहले छोडेको रहलपहल पनि खानु पर्यो। कुनै सिंहिनी एक्लै भेटे भने पनि मारेर खाइदिए। यद्यपि महिना दिनमै मापौगोहरू दक्ष सिकारी बनेर निस्किए। अब त तिनले अर्ना, जिराफ र हिप्पोलाई नै ढाल्न थालिसकेका थिए। मिस्टर टी एकदमै रिसाहा थियो। ऊ र किन्की टेलले नै त्यस समूहलाई अर्काे स्तरमा पुर्याएका थिए। सिकारको घाँटीमा आक्रमण गर्ने पनि मिस्टर टी नै हुन्थ्यो। अरूले वरिपरिबाट सिकारलाई घेरेर लडाउँथे। अब यिनलाई आफ्नै सत्ता चाहिएको थियो।
२००६ मा माकुलुको नेतृत्वमा मापौगोहरू साबी स्यान्ड रिजर्भको उत्तरी भूभागतिर हानिए। त्यहाँ चार सिंहको नेतृत्वमा रहेको ठूलै प्राइड थियो। मापौगोलाई थाहा थियो, सत्ता जबर्जस्ती कब्जा गर्नुपर्छ। साधारणतया सिंहहरू चुपचाप र होसियार हुँदै अर्काको इलाकामा प्रवेश गर्छन्। तर, अहँ मापौगोहरूले यसो गरेनन्। तिनीहरू त ठूलो गर्जनसहित होहल्ला गर्दै त्यस इलाकामा प्रवेश गरे। तिनले तत्कालै एउटा सिंहलाई मारिदिए भने बाँकी तीन सिंह ज्यान जोगाएर भागे। यो पहिलो जितपछि मापौगो कहिल्यै रोकिएनन्। एक वर्षभित्र तिनले आफ्नो बाटोमा भेटेका सबै सिंहलाई मारिदिए। धेरै सिंह त ६ जनाको बटालियन देखेर पहिल्यै सुइँकुच्चा ठोक्थे।
सबैभन्दा बीभत्स दृश्य त ओथावा प्राइडमा देखियो। यो प्राइडमा तीन सिंहिनी र एघार डमरु थिए। मापौगोहरू जब त्यहाँ पुगे, आफ्ना डमरु बचाउन यी सिंहिनीहरूले प्रतिकार गरे। तिनको केही पनि जोर चल्ने कुुरै भएन। मापौगोहरूले सबै डमरुलाई खोजीखोजी मारिदिए। केही समयपछि डमरुविहीन सिंहिनीहरूले आत्मसमर्पण गर्दै मापौगोहरूलाई समागम गर्न दिए। त्यसपछि फेरि साबी इलाकाका सबै डमरुहरू मापौगोहरूले खोजीखोजी मारेर खाइदिए।
अब त सब मापौगोको जगजगी थियो। कुनै सिंहिनीलाई यौनेच्छा जाग्यो र ऊ कुनचाहिँ मापौगोसँग समागम गर्ने भन्ने अलमलमा परेको खण्डमा पनि मापौगोहरूको रिसको पारो तातिहाल्थ्यो, त्यसलाई तुरुन्तै मारेर खाइहाल्थे। मिस्टर टी त ‘बिकनी किलर’ नै थियो। एउटा भिडियोमा देख्न सकिन्छ, उसले एउटा सिंहिनीसँग समागम गर्छ र १५ मिनेटसम्म न्याकेर उसैलाई मार्छ। मरेपछि फेरि त्यसैलाई खाइदिन्छ।
साबी स्यान्डकोले इको सिस्टममै परिवर्तन ल्याइदिएको छ। यिनले २००८ सम्ममा त पाँचवटा अलगअलग सत्ता कब्जा गरेर एउटै बनाइदिएका थिए। ७० हजार हेक्टरसम्म तिनको इलाका फैलिएको थियो। एउटै प्राइडले यति धेरै भूभाग ओगटेको यो पहिलो घटना थियो। यिनीहरू साँच्चिकै जंगलका राजा थिए। आफ्नो जन्मभूमिभन्दा धेरै परसम्म तिनको राज्य पुगेको थियो। तिनको नियन्त्रणमा अब आठवटा सत्ता थिए। तर, मिस्टर टी र किन्की टेललाई चित्त बुझिरहेको थिएन किनकि समूहको नाइकेमा अझै माकुलु थियो। तसर्थ मिस्टर टी (सैतान) र किन्की टेल (साका) रिजर्भको पश्चिमउत्तरतिर सरेर बसे। यसरी दुईतीन वर्ष समूह छुट्टिएर बसेको थियो।
३.
स्यान्ड रिभरको दक्षिणपट्टि डे«डलक, रास्ता, माकुलु र प्रिटी ब्वाइ बसे भने उत्तरतिर लोन्डोलोजीमा मिस्टर टी र किन्की टेल थिए। २०१० जुन ५ मा साबी स्यान्डको लोन्डोलोजीमा क्षेत्रमा चारपाँच वर्षका किशोर माजिंगिलाने प्राइडका पाँचवटा सिंह देखिए। दुई दिनसम्म तिनीहरू आफूले मारेको अर्ना खाइरहेका थिए। त्यसभन्दा अघि तिनीहरू विरलै त्यता आउने गर्थे। तर, जुन ७ मा तिनलाई फरक देखिएको थियो। तिनीहरू बलिया देखिन्थे। आक्रामक देखिन्थे।
८ जुन, २०१० बिहानको २ः३० मा यी पाँच माजिंगिलानेहरू बेस्सरी गर्जिए। उनीहरूको स्वर प्रस्टसँग फुटेको, यो पहिलो पल्ट थियो। खुला घाँसे मैदानमा तिनको स्वर धेरै परपर सुनियो। त्यो रातभर तिनीहरू यताउता गरिरहेका थिए। पश्चिमतिर रहेका दुइटा भयंकर मापौगो : किन्की टेल र मिस्टर टी मजिंगिलाने भएतिर लागे। तिनले बिहानको तिनको गर्जन सुनेका थिए र चुनौती स्वीकारेका थिए। त्यसको जवाफ दिन चाहन्थे। तिनीहरू हल्का दौडिँदै थिए र आफ्नो मिसनमा केन्द्रित देखिन्थे।
एउटा बाक्लो झाडीमा एउटा माजिंगिलाने एक्लै बसिरहेको थियो। उसले किन्की टेल र मिस्टर टी आएको थाहा पाएर लुक्न खोज्यो। यति बेलासम्म मापौगोसले उसलाई देखेका थिएनन् तर नजिकै भएको भेउ पाइसकेका थिए। किन्की टेल सुँघ्दै माजिंगिलानेको छेउमा पुग्यो। सिंहहरूको गर्जन चारैतिर सुनियो। दुईवटा सबैभन्दा बलिया र साहसी मापौगोसँग कलिलो एक्लो माजिंगिलानेको केही जोड चलेन, यद्यपि उसले सक्नेसम्म प्रतिकार गरेको थियो। उसको हड्डी टुटेको र पीडाले घ्यारघ्यार गरेको भिडियोमा प्रस्ट सुनिन्छ। यो दृश्य एकदमै भयावह र कारुणिक देखिन्छ। उसका पछिल्ला दुवै साँप्रा भाँचिएका थिए भने कम्मरपछि क्षतविक्षत भएको देखिन्थ्यो। पेट पनि छ्यालब्याल भएको थियो। किन्की टेल र मिस्टर टीलाई पनि थुप्रै ठाउँमा चोट लागेको थियो। ठाउँठाउँबाट रगत बगिरहेको थियो। उनीहरू पनि थकित देखिन्थे। यी दुई मापौगो नजिकैको रूखको छहारीमा आराम गर्न जान्छन्, निरीह माजिंगिलाने विस्तारै अन्तिम सास लिन्छ।
त्यसै रात त्यो घटनास्थल नजिकै अरू चार माजिंगिलाने पल्टेर आराम गरिरहेका देखिन्छन्। तिनले सम्पूर्ण घटनाको लगभग छनक पाइसकेजस्तो देखिन्छ। तत्कालै यी चार माजिंगिलाने बेस्सरी गर्जन्छन्। जवाफमा दुई मापौगो पनि उत्तिकै जोडले गर्जन्छन्।
साहसी सिंह किन्की टेल कत्ति पनि नहच्की विस्तारै अघि बढ्छ, त्यसपछि गति बढाउँछ। जित्नेमा ऊ पूरा विस्वस्त देखिन्छ। अघिल्लो दिनको लडाइँबाट चोट बेहोरेको भए पनि उसलाई त्यसको कत्ति पनि प्रवाह हुँदैन। बरु ऊ साँच्चिकै जुझारु योद्धा देखिन्छ। चार माजिंगिलानेले जब किन्की टेललाई देख्छन्, तिनीहरू पछाडि फर्कन्छन् र बेस्सरी भाग्छन्। किन्कीले तिनलाई पछ्याउँछ। किन्की पछिपछि चार माजिंगिलाने अघिअघि। किन्कीको साहस अदम्य देखिन्छ। यत्तिकैमा दुई माजिंगिलाने हराउँछन्। अब किन्कीले दुई माजिंगिलानेलाई खेदिरहेको हुन्छ। दुई माजिंगिलाने खोइ त ? एक्कासि हराएका दुई माजिंगिलानेहरू देखा पर्छन्। तर यसपटक अगाडि होइन। किन्कीको पछाडि तिनीहरू आउँछन्। यो रणनीति थियो। अब दृश्यमा दुई माजिंगिलानेलाई किन्कीले खेदिरहेको र दुई माजिंगिलानेले उसलाई खेदिरहेको जस्तो देखिन्थ्यो। चारपाँच वर्षका माजिंगिलानेको चातुर्य देख्दा यस्तो लाग्थ्यो, अबको सत्ता तिनकै हुनेछ।
अब आफ्ना भाइहरू किन्की नजिकै पछाडि आएको छनक अघिल्ला दुई माजिंगिलानेले थाहा पाए, तिनीहरू रोकिए र पछाडि फर्किए। किन्की किन डराउँथ्यो ? ऊ आफ्ना शक्तिशाली पञ्जा लिएर तिनीमाथि झम्टियो। पछिल्ला दुई माजिंगिलानेले उसलाई पछाडिबाट आक्रमण गरिहाले। किन्की टेलको केही लागेन। चार भर्खरका किशोर माजिंगिलानेले उसलाई जमिनमा पछारे र चोटैचोट पारिदिए। उसको घाँटीमा पनि डरलाग्दो घाउ लगाइदिए। उसको पीडाको गर्जन प्रस्टसँग सुनिन्थ्यो।
यो घम्साघम्सीको १५ मिनेटपछि मिस्टर टीको ‘हिरोइक इन्ट्री’ त भयो तर त्यसले केही काम गरेन। ऊ छक्क पर्यो, उसलाई त लागेको थियो किन्की पक्कै पनि लडाइँमा हावी भइरहेको छ। तर, यसको ठीक उल्टो चार माजिंगिलानेले किन्कीलाई गाँजिरहेका थिए। कत्ति पनि विलम्ब नगरी मिस्टर टीले पछाडिबाट किन्कीलाई लुछिरहेका माजिंगिलानेलाई आक्रमण गर्यो। अर्काे माजिंगिलाने पनि मिस्टर टीसँग जाइलाग्यो। दुईजनाले किन्कीलाई छोडेनन् भने दुईजना मिस्टर टी सँग हाबी भए।
परिस्थिति बुझेर मिस्टर टी ज्यान जोगाउँदै भाग्यो। दुईजनाले उसलाई परसम्म लखेटे। कत्ति पनि दया नराखी किन्कीलाई लुछ्न थाले। तिनले किन्कीलाई आक्रमण गरिरहे। दृश्यमा देख्न सकिन्छ, उसका तीन खुट्टा लुथ्रुक्क परेका छन्। ढाड र पेटमा ठूलो भ्वाङ देखिन्छ। तीन माजिंगिलानेले जिउँदो किन्कीलाई पछाडिबाट खान थाल्छन्। त्यतिबेला बाँकी एकले टाउको र घाँटीमा निरन्तर आक्रमण गरिरहेको हुन्छ। यसको २० मिनेटपछि मात्र उसको ज्यान जान्छ।
यी सिंहहरूले यताउता पिसाब फेरेर यो ठाउँ तिनको भएको दाबी गर्छन्। केही घन्टामै तिनले किन्कीको ७५ प्रतिशत जीउ खाइसक्छन्। रातभर मिस्टर टी गर्जिरहन्छ। चार माजिंगिलानेले पनि गर्जनमै प्रतिउत्तर दिइरहन्छन्। भोलिपल्ट उज्यालोमा किन्कीको छरिएको जगरसहितको टाउको र शरीरका रहलपहल अंगहरू रक्ताम्मे मैदानमा लडिरहेको देखिन्छ। यसरी ‘ब्यान्ड अफ ब्रदर’को सबैभन्दा साहसी र कान्छो सदस्यको अवसान हुन्छ। यसको मरणले एकपटक फेरि मानिसलाई सिंहको प्रवृत्तिप्रति रुचि बढाइदिएको थियो।
मिस्टर टीले लोन्डोलोजीको तासाला प्राइडमा शरण लिएको थियो। त्यहाँ तीन सिंहिनी र आठवटा सानाठूला डमरु थिए। माजिंगिलानेहरूमा नयाँ साहस जागिसकेको थियो। त्यसैले फेरि २८ र २९ अगस्टमा तालासा प्राइडमा हमला गरे। सिंहिनी र डमरुहरू तितरबितर भए। दुइटा डमरु मारिए। मिस्टर टी हल्का घाइते भएको थियो। ऊ बाँकी चार मापौगो भएतिर पश्चिमतिर लाग्यो। त्यसको केही दिनपछाडि पाँचै मापौगोहरू साबी स्यान्डको मध्य भागतिर फर्के। तिनीहरू माजिंगिलानेसँग बदला लिन चाहन्थे। तर, यो लडाइँ पनि मापौगोहरूको पक्षमा निस्किएन। नराम्ररी घाइते भएको रास्ताले लडाइँमै ज्यान गुमाउनु पर्यो भने प्रिटी ब्वाइ पनि नराम्ररी घाइते भएको थियो। यो घटनाको प्रस्ट भिडियो भने छैन तर आवाज भने रेकर्ड भएको छ।
यो हारपछि मापौगोहरू कहिल्यै माजिंगिलानेसँग जाइ लागेनन्। अब बाँकी चार मापौगोहरूले सानो इलाकामा जिमहुंगे प्राइड सम्हालेर बस्यो। एक दिन डे«डलक आफ्नो पुरानो इलाकातिर फर्किएको थियो। ऊ कहिल्यै फेरि पछाडि फर्कन पाएन। उसको लास पनि भेटिएन। उसलाई गोहीले खाएको अनुमान गरियो। पछि २०१५ मा थाहा भयो— उसको सिकार गरिएको थियो।
यी सिंहमध्ये मिस्टर टीलाई सैतान भनिन्छ। ऊ किन्की टेलसँग पार्कको उत्तरतिर बस्दा उसका ‘ब्यान्ड अफ ब्रदर’ले जिमहुंगे प्राइड पनि थपेको थियो। तीन वर्षमा तिनका थुप्रै डमरु भइसकेका थिए। जब मिस्टर टी किन्की टेलको मृत्युपछि पश्चिमतिर फर्कियो, उसले जिमहुंगे प्राइडका सबै डमरु मारिदियो। किनकि उसले चिनेन कि तिनीहरू सबै उसकै मापौगोहरूका सन्तान हुन्। सबैभन्दा धेरै डमरु र सिंहिनीहरू मिस्टर टीले नै मारेको थियो। अब समूहमा माकुलु, प्रिटी ब्वाइ र मिस्टर टी मात्र रहे।
बाँकी तीन पाका मापौगो सिंहहरू आफ्नै सुरमा निष्क्रिय हुँदै गइरहेका थिए। तर, एक दिन दक्षिणतिरका चार युवा सेलाटी सिंहहरू त्यता आए। पहिला त सेलाटीहरूले मापौगोको गर्जन सुनेर नै तिनको सामना गर्न हच्किए। जिमहुग्वे प्राइडका सिंहिनीहरू आफैंले सेलाटीहरूलाई मापौगोसँग जुध्न उक्साए। मापौगोहरू नभएको बेला जब सेलाटीहरू गर्जेको यिनले सुने, ती आफैं सेलारी सिंहसँग गए र समागम गरे। यसपछि दुवै समूहबीच भिडन्त भयो तर दुवैको हारजित भएन। यसपछि दुवै समूहले त्यो ठाउँ छाडे। पछि यी चार युवा सेलाटीले मिस्टर टीलाई एक्लै भेट्टाए र मारिदिए। तर, यो आक्रमण मापौगो र माजिंगिलाने जस्तो बीभत्स भने थिएन। मिस्टर टी आक्रमणको एक घन्टापछि मरेको थियो।
माकुलु र प्रिटी ब्वाइ : लेजेन्ड टोलीका यी दुई भेट्रान मात्र अब बाँकी थिए। आफ्नो चौथो सदस्यको मृत्युपछि यी दुई सँगसँगै घुमन्ते जिन्दगी बिताए। एउटा युगको अन्त्य भइसकेको थियो। उनीहरू सम्भावित हमलाबाट बच्दै साबी स्यान्ड रिजर्भ र क्रुगेर नेसनल पार्कसम्म केही महिना ओहोरदोहोर गरे। जब एकपटक प्रिटी ब्वाइ एक्लै देखा परेको थियो, सबैले माकुलुलाई मारिएको आशंका गरेका थिए तर माकुलु फेरि मृत्युलाई जितेर फर्कियो।
२०१२ को अक्टोबर रिजर्भको पश्चिमी भागमा यी दुवैले अर्ना खेदाइरहेको दृश्य क्यामरामा कैद भएको थियो। प्रिटी ब्वाइ एकदमै दुब्लो र कमजोर देखिन्थ्यो। अब पनि खान नपाए ऊ भोकैले मर्लाजस्तो थियो। त्यसपछि फेरि जनवरी २०१३ मा माकुलु एक्लै भेटिएको थियो। सायद प्रिटी ब्वाइ भोकैले मरेको थियो। त्यसैगरी माकुलुको मृत्युको पनि आधिकारिक जानकारी आएन। अब मापौगोको लेगेसी सिंहहरूको इतिहासकै सबैभन्दा रोचक र भयावह कथा बनिसकेको थियो। साबी स्यान्ड रिजर्भमा माजिंगिलानेको नयाँ सत्ताले राज गरिसकेको थियो।
४.
सिंहहरू कसरी सत्तामा बलियोसँग टिक्छन् र कसरी सत्ता गुमाउँछन् ? मापौगोकै उदाहरण लिएर सिंह विशेषज्ञ पिटर तथा अन्यले पनि सिंहहरूको प्रवृत्तिलाई उजागर गरेका छन्। दक्षिणी अफ्रिकातिर फर्काैं। अन्तभन्दा दक्षिणी अफ्रिकामा ठूलो संख्यामा सत्ता साझेदार सिंह हुन्छन्। उदाहरणका लागि मापौगोका बुवाहरूको स्पार्टा प्राइड पाँचजनाको सत्ता साझेदारीमा चलेको थियो। माजिंगिलानेहरू पनि सुरुमा पाँच नै थिए। एउटा मरेर चार हुन पुगेका थिए।
अहिलेसम्मकै ठूलो सत्ता मापौगोको थियो। यिनीहरू ६ जना थिए। ६ जनाको यो समूहको कसैले रौं पनि हल्लाउन सकेन। साझेदारीमा पनि प्रायः रगतको सम्बन्ध भएमा टिम मजबुत बन्थ्यो। त्यसैले पनि मापौगो एकढिक्का थिए। तर, पनि ‘कोलिसन’भित्र एउटा मुख्य नेता हुने गर्छ। मुख्य नेताले नै रोजेर खाने र छानीछानी सिंहिनीहरूसँग समागम गर्न पाउँछ। उमेरमा चार वर्ष जेठो भएकोले माकुलु नै मापौगोको नेता थियो। तर, सबैभन्दा आक्रामक भने पाँचौं मिस्टर टी र छैटौं किन्की टेल थिए।
एउटै समूहभित्र पनि झगडा पर्ने गर्छ। एउटा भिडियोमा देख्न सक्नुहुन्छ कि एउटा सिंहिनीका लागि मिस्टर टी माकुलु र प्रिटी ब्वाइसँग लडाइँ गर्न पुग्छ। तर, आफ्नो ‘कोलिसन’ भित्रको लडाइँ मार्ने र मर्नेमा केन्द्रित हुँदैन। यो त ‘सिनियारिटी’ देखाउन मात्र हुन्छ। विपक्षी गुटका सिंहलाई भने मार्ने वा अंगभंग पार्ने नै नियत हुन्छ।
युद्धमा व्यक्तिगत जित हुन्न। त्यहाँ त सामूहिक (फौजी) जित हुन्छ। त्यसैले पनि ‘कोलिसन’ भित्रका सिंहहरू एक्लै निस्कँदैनन्। एक्लै भएकाले नै एउटा माजिंगिलाने, मिस्टर टी र किन्की टेल मारिएका थिए। त्यसो त सिंगै ‘कोलिसन’मा हमला गर्न नसके एक्लाएक्लै पारेर हमला गरिन्छ। माजिंगिलानेहरूले पहिला किन्की टेलसँग भागेजस्तो गरेका थिए र उसलाई एक्लाएर आक्रमण गरेका थिए। जब मिस्टर टी घटनास्थल पुग्यो, उसको भाइ उठ्नै नसक्ने भइसकेको थियो। १० मिनेटपहिला मिस्टर टी त्यहाँ पुगेको भए दुवैजना कम्तीमा ज्यान जोगाएर भागेर आफ्ना चार दाजुभाइसँग फर्कन पाउँथे।
किन्की टेलको मरण नै मापौगोको पतनको प्रमुख कारण बन्यो। किनकि समूहकै सबैभन्दा कान्छो सदस्य आफ्नो शक्ति र शासनको चरम बिन्दुमा पुगेको थियो। माकुलु पाको भइसकेको थियो। रास्ताको पनि शक्ति खस्केको थियो। किन्की त्यति बेला मिस्टर टी भन्दा बलियो देखिन्छ, किनकि यसभन्दा पहिला लडाइँमा मिस्टर टी अगाडि हुन्थ्यो भने किन्की ‘ब्याक अप’मा बस्थ्यो। तर, माजिंगिलाने विरुद्ध किन्की टेल एक्लै खनिएको थियो। ऊ बाँचेको भए ‘कोलिसन’को शासन निश्चय नै लम्बिने थियो।
अझै पनि चार सिंह त बाँकी रहेका थिए र एउटा जिमहुग्वे प्राइड अझै बाँकी थियो। तर, यो अन्तिम सत्ता गुमाउनुमा ‘बिकनी किलर’ (मैले दिएको उपमा) मिस्टर टीको पाशविक ‘जेनोसाइड’ नै प्रमुख कारण थियो। जब ऊ जिमहुग्वेमा दाजुहरूसँग फर्कियो, उसले आफ्नो अनुपस्थितिमा आफ्ना दाजुहरूबाटै जन्मिएका सबै डमरु मारिदियो। फलस्वरूप विरक्तिएको ड्रेडलक त्यहाँबाट बाहिरिएको थियो। रुष्ट आफ्नै सिंहिनीहरूले पछि सेलाटी सिंहहरूलाई साथ दिएका थिए भने मिस्टर टी मारिएको थियो। यसरी मापौगोको पतन भएको थियो।
कुख्यात मापौगोलाई हराउनेहरू चतुर माजिंगिलाने ‘डार्क म्यान’, ‘स्का नोज’, ‘हिप स्कार’ र ‘गोल्डेन म्याने’ थिए। २०१० बाट सत्ता सुरु गरेका यिनले पाँचवटा सम्म सत्ता कब्जा गरेका थिए। २०१८ मा आइपुग्दा तिनीहरूसँग लोन्डोलोजी मात्र बाँकी थियो— यिन वृद्ध ‘डार्क म्याने’ र ‘स्कार नोज’ मात्र बाँकी थिए। उनको लोन्डोलोजी पनि यही मार्चमा वर्गिंघम सिंहहरूले खोसिदिए। त्यहाँबाट बाहिरिएका यीमध्ये ‘स्कार नोज’को यही अप्रिल १३ मा मृत्यु भयो। त्यसपछि मैले साबी स्यान्डका अधिकारीसँग सम्पर्क राखेँ र ‘डार्क म्याने’को बारेमा सोधेँ— मे ३ मा जवाफ आयो— ‘ही ह्याज् नट बिन सिन सिन्स लास्ट थ्री विक्स, सो मे बी ही पास्ड अबे !’