भत्काइने सडकमा ६० लाख विनियोजन

भत्काइने सडकमा ६० लाख विनियोजन

धरान : धरान उपमहानगरपालिकाले विराटनगर-धरान ६ लेन सडकमा पर्ने सडक मर्मतका लागि ६० लाख रुपैयाँ विनियोजन गरेको छ।केन्द्र सरकारले भारतको सिमाना रानीदेखि चीन जोड्न किमाथांकासम्मको सडक निर्माण गरिरहेको छ। तर, उपमहानगरले भने धरान क्षेत्रमा भत्काइने सडककै लागि भनेर रकम विनियोजन गरेको हो।

उपमहानगर प्रमुख तारा सुब्बाले आफ्नो क्षेत्राधिकारबाहिर गएर भत्काउने सडकलाई रकम विनियोजन गरेको भन्दै जनस्तरमा समेत टीकाटिप्पणी सुरु भएको छ।

विराटनगर-धरान ४९ किलोमिटर ६ लेन सडकअन्तर्गत पर्ने करिब डेढ किमि सडकमा बजेट विनियोजन गरी निर्माणको काम अघि बढाइको छ। अवैध रूपमा बजेट खर्च गरी सडक डिभिजन कार्यालयको क्षेत्राधिकारमाथि हस्तक्षेप गरिएपछि धरानमा उपमहानगरले नै निर्माणमा अवरोध सिर्जना गरेको छ। सडक डिभिजन कार्यालयको क्षेत्राधिकारभित्र पर्ने सडकलाई बजेट छुट्याइएर खर्च गरेपछि प्रमुख सुब्बामाथि नीतिगत भ्रष्टाचारको आरोप लागेको छ। सडक डिभिजन कार्यालय विराटनगरको क्षेत्राधिकारभित्र पर्ने धरानको भानुचोकदेखि लक्ष्मीचोकसम्म सडकको दायाँ बायाँ ढल, सडकपेटी निर्माण गरी गार्डेनका लागि रेलिङ बनाउन बजेट छुट्याइएको हो।

कांग्रेस धरानका सभापति तिलक राईले प्रमुख सुब्बाले सर्दु जलाधार, सडक निर्माणलगायत विभिन्न विषयमा आफूखुसी निर्णय गरी विवादास्पद काम गरेको आरोप लगाएका छन्। उनले भने, ‘सडक डिभिजन कार्यालयको क्षेत्राधिकारभित्र पर्ने सडकलाई बजेट विनियोजन गरी काम गर्नु नीतिगत भ्रष्टाचार हो।’

धरान-१७ का कमल रायमाझीले धरानका भित्री सडकहरू कालोपत्रे गर्न छाडेर केन्द्र सरकारको क्षेत्राधिकारभित्र पर्ने सडकलाई उपमहानगरले बजेट खर्च गर्नु अनुचित भएको बताए। भने, ‘नगरभित्रका सडकलाई प्राथमिकता दिइनुपर्नेमा केन्द्र सरकारले हेर्ने सडकलाई बजेट दिइनु अचम्मलाग्दो विषय भएको छ।’

सडक डिभिजन कार्यालय विराटनगरले ६ लेन सडकको काम सुनसरीको तरहरासम्म गरिरहेको छ। क्षेत्राधिकार नै नभएको सडकलाई बजेट छुट्याएर काम गर्नु अर्काको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको बताउँदै सडक डिभिजन विराटनगरका इन्जिनियर सुमोद पोखरेलले भने, ‘सडकको क्षेत्राधिकारभित्र रहेको सडकमा धरान उपमहानगरले बिनाअनुमति काम अघि बढाउनु गैरकानुनी हो।’

धरान उपमहानगरले लक्ष्मी चोकदेखि तल धरान उच्च माविमाथिको मागमा सडकको दायाँबायाँ ड्रेन र बगंैचा बनाउन सडक अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेको छ। त्यस्तै छाताचोकदेखि भानुचोकसम्मको पुरानो रेलिङ हटाएर नयाँ रेलिङका लागि बजेट छुट्याएर काम अघि बढाएको छ। इन्जिनियर पोखरेलले धरान उपमहानगरले ६ लेन सडकमा पर्ने सडक क्षेत्रमा नयाँ भौतिक संरचना निर्माण गरे निर्माणमा अवरोध गरेको पनि बताए। धरानका प्रमुख प्रशासकीय अधिकृत सुदेव पोखरेलले उपमहानगरले आफू आउनुअगावै निर्णय गरेकाले आफ्नो कार्यकालमा सडक निर्माणको कार्यान्वयन मात्र भएको बताए।

धरान उपप्रमुख मञ्जु भण्डारीले सडक विभागले काम नगरेपछि उपमहानगरले बजेट विनियोजन गरी सडक निर्माणको काम अघि बढाएको बताइन्। भनिन्, ‘विकासको काम त हामीले रोक्नु भएन नि।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.