तटबन्ध निर्माण गुणस्तरहीन

तटबन्ध निर्माण गुणस्तरहीन

महेन्द्रनगर : कञ्चनपुरमा पर्ने महाकाली नदीमा भइरहेको तटबन्ध निर्माण गुणस्तरहीन भइरहेको पाइएको छ। ठेकेदारले तटबन्ध निर्माण गुणस्तरहीन रूपमा अघि बढाइरहेको स्थानीयको आरोप छ। जिल्ला समन्वय समिति र जनताको तटबन्ध कार्यालयले समेत अनुगमन क्रममा ठेकेदारले तटबन्ध निर्माणमा गुणस्तरहीन काम गरिरहेको भेटिएको हो। तटबन्धका लागि आवश्यक पर्ने तारजाली र त्यहाँ प्रयोग गरिने ढुंगा मापदण्डभन्दा फरक प्रयोग भइरहेको भेटिएको हो।

‘ठेकेदारले तारजालीमा ठूलो साइजको ढुंगा प्रयोग नगरी स–सानो साइजको मात्रै ढुंगा प्रयोग गरिरहेको पाइएको छ’, जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङले भने, ‘ठेकेदारले सम्झौतामा उल्लेख भएअनुसार मापदण्ड पूरा गरेरै काम गर्नुपर्छ।’ उनले सम्बन्धित कार्यालयले मापदण्डअनुसार काम भए÷नभएको हेर्नुपर्ने बताए।

प्राविधिकका अनुसार सानो साइजका ढुंगा जालीमा भरेर बनाइने स्लोप, स्पर, नोज र लन्चिङ पानीको बहाव बढेर आउनेबित्तिकै बगाएर लैजान सक्ने सम्भावना हुनाले त्यति गुणस्तरीय मानिँदैन। महाकाली नदीमा तटबन्धका लागि हातले नै बुनेको जाली प्रयोग गर्ने सम्झौतामा उल्लेख भए पनि त्यसो नभएको प्राविधिक बताउँछन्।

‘हामीले सुरुदेखि नै तटबन्ध निर्माणमा कमजोरी भइरहेको गुनासो गर्दै आएका हौं’, स्थानीय दलबहादुर सार्कीले भने, ‘अहिले भइरहेको तटबन्ध निर्माणमा स–साना साइजका ढुंगा प्रयोग भइरहेको छ।’

उनले सानो साइजको ढुंगा हालेर बनाइएको तटबन्ध बढी पानी आए बग्ने सम्भावना रहेको बताए। स्थानीयको विरोधपछि केही स्थानमा आवश्यक साइजको ढुंगा प्रयोग भए पनि पुनः सानै साइजको ढुंगा प्रयोग भइरहेको स्थानीय बताउँछन्।

‘बेस निर्माण नै बलियो देखिएन’, स्थानीय पदमराज भट्टले भने। निर्माण कम्पनीले भने गुणस्तर रूपमै काम भइरहेको जनाएको छ। कुमार÷राजेन्द्र जेभीको ठेक्कामा प्रतिनिधिका रूपमा काम गरिरहेको जोशी निर्माण सेवाका प्रमुख गणेशदत्त जोशीले महाकालीमा उपलब्ध ढुंगा नै प्रयोग गरेर काम भइरहेको बताए।

‘महाकालीमा अहिले ठूला साइजका ढुंगा नै छैनन्, हामीले पाएसम्म ठूलै ढुंगा प्रयोग गरेका छौं’, उनले भने, ‘भित्र–भित्र केही सानो साइजको ढुंगा राखेका छौं त्यसले तटबन्धलाई कुनै असर गर्दैन।’

जनताको तटबन्ध कार्यालयका प्रमुख प्रचण्डदेव विष्टले कमजोरी भएको ठाउँमा सुधार गरेर पुनर्निर्माण गर्न ठेकेदारलाई निर्देशन दिइसकिएको बताए।

‘हामीले समेत अनुगमन गरेर जुन–जुन ठाउँमा गुणस्तरहीन काम भएको छ, त्यहाँ सच्याउन भनिसक्यौं’, उनले भने, ‘सम्झौतामा उल्लेख मापदण्डअनुरूप नै ठेकेदारले काम गर्नुपर्छ नत्र बिल पास हुँदैन’। उनले महाकालीको तीनवटै स्थानमा भइरहेको तटबन्ध निर्माण ठेकेदारले उधारोमै गर्नुपरेको बताए।

‘अहिलेसम्म काम गरेको रकम दिन सकिएको छैन’, उनले भने। उनका अनुसार विभागमा पटक–पटक जानकारी पठाइसकिएको छ तर अहिलेसम्म रकम निकासा आएको छैन। तटबन्ध निर्माणका लागि दिइएको म्याद वैशाख मसान्तमा सकिएको छ। तर, ठेकेदारले म्याद थपको निवेदन दिएका छन्।

महाकाली नदीअन्तर्गत महाकाली नगरपालिका (दोधारा–चाँदनी) बस्ती जोगाउन दुई दशकअघि निर्माण गरिएको तटबन्ध जीर्ण बनेपछि गुरुयोजना बनाएर त्यसको पुनर्निर्माण सुरु गरिएको हो। तटबन्ध पुनर्निर्माण सक्न जनताको तटबन्ध कार्यक्रमले १२ वर्षे गुरुयोजना बनाएर काम अघि बढाइरहेको छ।

गत वर्ष महाकाली नदीमा आएको बाढीले साविकको दोधारा–चाँदनी झोलुंगे पुलको उत्तर र दक्षिणतर्फको भागमा बढी क्षति पु¥याएपछि उक्त तटबन्ध पुनर्निर्माण सुरु भएको हो। पहिलो चरणअन्तर्गत बढी क्षति भएको झोलुंगे पुलदेखि उत्तर र दक्षिणी क्षेत्रमा गरी २ हजार १ सय ५० मिटर तटबन्ध मर्मत भइरहेको हो। २६ करोड लागतमा उक्त तटबन्धमा पहिलो चरणमा काम सुरु भएको हो।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.