तल्लो मोदी अन्तिम चरणमा
कुस्मा ः पर्वतको कुस्मा नगरपालिका वडा नं ८ चुवा स्थित मोदीखोलामा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
सात वर्षदेखि निर्माणाधीन आयोजनाका झण्डै ९८ प्रतिशत काम पूरा भएको हो। सो आयोजनाले आगामी असारभित्रै उत्पादन दिने तयारीका साथ निर्माण कार्य तीव्र बनाएको जनाएको छ। यस वर्ष निर्माणको काममा कुनै अवरोध नभई धमाधम हुन सकेकाले असारभित्रै उत्पादन गर्ने तयारी गरिएको आयोजना प्रमुख पवनकुमार यादवले जानकारी दिए। ‘अब दुई प्रतिशत मात्रै काम बाँकी छ’, यादवले भने, ‘अबको काम सबै प्राविधिक विषयसँग सम्बन्धित भएकाले असारभित्रै उत्पादन थाल्न सकिनेमा विश्वस्त छौं।’
चालु वर्ष अवरोधबिना निर्माणको काम अघि बढेकाले लक्षित प्रगतिमा पुग्न सफल भएको उनले बताए। ०७२ को भूकम्पले हल्लिएको जमिनका कारण बर्सातमा सुरुङभित्र पहिरो जाने, भासिने, भित्रै बाढी पस्नेजस्ता समस्याले गत वर्ष काममा अवरोध भएको थियो।
आयोजनाका अनुसार मुख्य काममध्ये चार किलोमिटरभन्दा बढी सुरुङमध्ये करिब तीन हजार नौ सय मिटर कंक्रिटिङ पूरा भएको छ। त्यस्तै हेड वक्र्सतर्फको काम पनि अन्तिम चरणमा पुगेको छ। ड्याम क्षेत्रमा वर्षाको बाढी व्यवस्थापनको केही काम बाँकी रहे पनि पावर हाउसतर्फ पठाउने ‘वाटर रन वे’ को काम सकिएको उनले जानकारी दिए। पावर हाउसमा टर्बाइन तथा अन्य संरचना फिटिङ गर्ने काम धमाधम भएको आयोजनाले जनाएको छ।
आयोजना प्रमुख यादवले कन्ट्रयाक्ट र सबकन्ट्रयाक्ट कम्पनीले समयमै तोकिएको काम पूरा गरेको बताए। गत वर्ष भने तीन निर्वाचन र वर्षाले पनि केही समय निर्माणमा ढिलाइ भएको हो। ‘गत फागुनमै उत्पादन दिने लक्ष्य थियो’, प्रमुख यादवले भने, ‘बाढीपहिरो, चाडबाड र चुनावले केही ढिलाइ भएको हो।’
निर्माण अवधि बढेसँगै आयोजनाको लागत पनि थपिने उनले बताए। तीन अर्ब ६० करोड रुपैयाँको लागत अनुमानमा सुरु गरेको आयोजनाले निर्धारित अवधिमा काम नसकेपछि लागत पनि बढेको जनाएको छ। आयोजनाले ०६८ भदौमा विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरिसकेको छ। वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने सो अयोजनाको लक्ष्य छ।
पावर हाउसमा टर्बाइन तथा अन्य संरचना फिटिङ गर्ने काम धमाधम भइरहेको छ।
आयोजनाको इन्जिनियरिङलगायत कन्स्ट्रक्सनको काम मनाङ ट्रेड लिंक र साउथ एसियन इन्फ्रास्ट्रक्चरले गर्दै आइरहेका छन्। मनाङले बाँधलगायत आउटलेट, साउथ एसियनले सुरुङ र इन्जिनियरिङसहित पूर्वाधारको काम गरिरहेको छ। आयोजनामा नेपाल इन्भेस्टमेन्टसहित ११ वाणिज्य बैंकले लगानी गरेका छन्। आयोजनामा ७५ प्रतिशत कर्जा र २५ प्रतिशत स्वपुँजी रहेको आयोजना पक्षले जनाएको छ।
कुस्मा नगरपालिका र मोदी गाउँपालिका आयोजनाका प्रभावित क्षेत्र हुन्। मोदीको तिलाहारबाट चार हजार दुई सय मिटर लामो सुरुङ हँुदै कुस्माको चुवास्थित परादीमा आयोजनाको पावर हाउस बनाइएको छ। आयोजनाले ०६९ साउनमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि प्राकृतिक र मानवीय समस्याले अवरोध भएको आयोजना जनसम्पर्क अधिकृत सुरेन्द्र बेलबासेले बताए।
प्रतिक्रिया दिनुहोस !