सीमापारी निपा भाइरस, वारी चिन्ता

सीमापारी निपा भाइरस, वारी चिन्ता

काठमाडौं ः प्राणघातक निपा भाइरसबाट दक्षिण भारतमा मृत्यु हुनेको संख्या बढिरहेका बेला यहाँ पनि भाइरस सर्ने त्रास बढेको छ। नेपाल–भारत सीमा खुला भएकाले निपा भाइरस यहाँ पनि फैलन सक्ने जोखिम बढेको हो।

चमेरो र बंगुरबाट सर्ने निपा भाइरस भारतको केरल राज्यमा देखा परेपछि यहाँ पनि जोखिम बढेको हो। उपचारमा खटिएकी एक जना नर्ससहित केरलमा हालसम्म १२ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.केदार सेञ्चुरीका अनुसार निपा भाइरस विशेषगरी चमेरोबाट सरेको पाइएको छ। उनका अनुसार चमेराले खाएका फलफूलमा ¥याल मिसिन्छ र त्यस्ता फलफूल मानिसले खाएपछि निपा सर्ने जोखिम बढ्छ। चमेरोको वासस्थान, मलमूत्र त्यागेका ठाउँ निपा संक्रमित हुने र पानी, फलफूल लगायतबाट मानिसमा सर्ने जोखिम हुन्छ।

मलेसिया, बंगलादेश हुँदै निपा भाइरसको संक्रमण दक्षिण भारतमा पुगेको हो। डा. सेञ्चुरीले भने, ‘चमेरो र बंगुरबाट निपा मान्छेमा सर्छ। निपा संक्रमितले हाच्छ्यूँ गर्दा, खोक्दा अरू मानिसमा सर्छ। निपा जहाँ फैलिएको छ, त्यहाँको सानो बस्तीमा मात्र सीमित छ। महामारीका रूपमा अन्यत्र फैलिएको पाइएको छैन।’

केरलमा नेपाली कामदार कार्यरत रहेको र भाइरसबाट संक्रमित भएर फर्के अरूमा सर्ने जोखिम बढ्ने उल्लेख गर्दै उनले भने, ‘नेपालमा निपा भित्रिने सम्भावना तत्काल देखिएको छैन।’

संक्रमणपछि शरीरमा निपाका लक्षण देखिन दुई साता लाग्छ। निपा संक्रमितको मृत्युदर ७० प्रतिशतभन्दा धेरै छ। निपा संक्रमणमा ज्वरो आउने, बान्ता हुने, मस्तिष्कमा असर गर्ने, हातखुट्टा लुलो हुने र अन्त्यमा शिथिल भई बेहोस हुन सक्छ। अहिलेसम्म यसको उपचार गर्ने कुनै एन्टिबायोटिक्स वा भ्याक्सिन छैन, लाक्षणिक उपचार मात्र छ। आईसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्छ।

निपाबाट जोगिन फलफूल खाँदा ध्यान दिने, रुखबाट झरेको फलफूल नखाने, विशेषखालका मास्क लगाउने, संक्रमित नजिक नजाने उनको सुझाव छ। यहाँ भाइरस भित्रिनबाट जोगिन सतर्कता अपनाइएको र नमुना जाँच गर्न प्रयोगशाला नभएकाले देशबाहिर पठाउन छलफल भइरहेको उनले जानकारी दिए। निपाबारे जनचेतना फैलाउन थालिएको उल्लेख गर्दै उनले भने, ‘आत्तिइहाल्नु पर्ने अवस्था छैन। नेपालमा भाइरस आउन सक्ने सम्भावना अहिलेसम्म न्यून छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.