‘कोटा’मा सजिएको भगमन्तीको सपना

‘कोटा’मा सजिएको भगमन्तीको सपना

दुई वर्षअघिको प्रसंग हो। म आफ्नो गाउँ सप्तरीको गोइँठी गएको थिएँ। त्यसदिन बाल्यकालमा आफू पढेको स्कुल हेर्न मन लाग्यो।

बालसखा कपिलेश्वर सरदार (कपिल) सँग ती पुराना दिनहरू सम्झिँदै स्कुलतर्फ लाग्यौं। त्यही पुराना बाटा नाप्दै, वरिपरिका त्यही खेत खलिहानहरू चहार्दै, पुराना दिनहरू सम्झिँदै, गफिँदै हामी स्कुल पुग्यौं। समय लगभग बिहानको ९ बजेको हुँदो हो। महिना सायद जेठको थियो। गर्मी महिनामा मधेसका स्कुलमा बिहानी सत्रमा मात्र पढाइ हुन्छ। गोइँठी स्कुलमा पनि बिहानैदेखि पढाइ भइरहेको थियो।

स्कुल नजिक पुगेपछि बाल्यकालका ती दिनहरूको झलझली सम्झना आयो। त्यतिबेलाका स्कुल भवन, सँगै पढ्ने साथीहरू, पढाउने शिक्षकहरूको अनुहार एकसाथ झझल्को आयो। हाम्रो पालामा पोखरीको दक्षिण डिलमा स्कुल भवनको नाममा झ्याल, ढोकाबिनाको केवल एउटा फुसको घर थियो। कुनै पर्खाल थिएन। न त कुनै बेन्च वा डेस्क नै थियो। केवल खम्बामा अडेको थियो, फुसको चौखडी घर। चारैतिरबाट छाप्रो हालिएकोलाई चौखडी घर भन्ने चलन छ, हाम्रो गाउँमा।

म ती पुराना दिनहरू सम्झेर त्यही पुराना रूखमुनि टोलाइरहेको थिएँ। कपिल नयाँ भवनमा सञ्चालित स्कुलतिर लाग्यो। हाम्रो पालामा रहेको चौरमा अहिले पक्की भवन बनेका छन्। माथि जस्ताले छाएको छ। कक्षा कोठामा बेन्च, डेस्क राखिएको छ। बच्चाहरू पनि टन्नै छन्। थुप्रै बच्चाहरू एकसाथ पढिरहेको आवाज परैसम्म सुनिन्छ। त्यो सामूहिक आवाजले मलाई झन्झन् पुराना दिनहरूतर्फ डोर्‍याउँदै लगेको छ।

रूखमुनि म उभिएको छेउमा एक बच्चा सिलेबरको बाटीमा खाना खाँदैथियो। खानाको नाममा भात र दाल मात्र थियो। फूल वा स्टिलको भाँडाकुँडाभन्दा निकै सस्तोमा पाइने सिलेबरका भाँडाकुँडा गाउँघरमा बढी चल्छन्। अलिक ठूलो साइजको कचौरालाई गाउँमा बाटी भनिन्छ। आजकल प्लास्टिकको रंगीचंगी भाँडाकुँडा पनि त्यसरी नै चलेको छ।

त्यो बच्चा अलिक फोहोरी देखिन्थ्यो। उसको छेउमै रातो रंगको सारी लाएकी एक महिला बसेकी थिइन्। म चैं जिन्स र कुर्तामा थिएँ। लुगा, अनुहार केहीले पनि म स्थानीय जस्तो देखिएको थिइन। बाहिरिया जस्तो लागेकोले होला, ती महिला हल्का घुम्टोले मुख छोपेकी थिइन्। बाहिरको मानिस देखेपछि मधेसको ग्रामीण समाजमा महिलाहरूले अहिले पनि घुम्टो लिने चलन छ। अपरिचित मानिससँग सकेसम्म नबोल्ने। सायद त्यसकारण पनि होला, त्यहाँ हामी तीनै जनाको मुख बन्द थियो। बच्चा भात खानमा व्यस्त। म उभिएर पुराना दिनहरू सम्झिँदै थिएँ। ती महिला त्यतिकै चुपचाप थिइन्। मेरो अनुमान थियो, चौरीमा गाईभैंसी चराउने कुनै चरवाह बच्चा हो, जसको आमाले खाना ल्याइदिएकी छिन्।

करिब चार/चार मिनेटमा त्यो बच्चाले सिलेबर बाटीको आधा जति भात खाइसकेर हात धोयो। पानी पियो। र, कुद्दै स्कुल तिर लाग्यो। त्यति बेलासम्म पनि मलाई कुनै अनौठो लागेको थिएन। तीन/चार मिनेटमै अर्को बच्चा आइपुग्यो। यो बच्चाअघिको भन्दा अलिक उमेरदार थियो। केही चुईंचाईं नबोली त्यही सिलेबरको बाटीमा बाँकी रहेको भात धमाधम खान थाल्यो। यो दृश्यले मलाई झस्कायो। ए यो त चरवाह होइन रहेछ कि क्या हो ? मनमा चासो जाग्यो।

‘यो तपाईंको बच्चा हो ?’ मैले ती महिलालाई मैथिलीमा सोधें।

‘हो।’

‘अनि अघिको ?’ मेरो दोस्रो प्रश्न थियो।

‘त्यो पनि मेरै हो। मेरा दुवै छोरा यही स्कुलमा पढछन्।’

हाम्रो पालामा कसैको घरबाट खाजा आउँदैनथ्यो। बिहानै घरबाटै खाएर आइन्थ्यो। ११ बजेतिर स्कुल छुट्टी भएपछि फेरि घर गएर खाना खाने चलन थियो। गाउँको स्कुलमा कुनै बच्चाको आमाले खाजा लिएर आएको मैले देखेको थिइन। त्यो दृश्य मलाई अनौठो लागेको थियो। एक ग्रामीण आमामा आएको जागरण देखेर म आश्चर्यचकित थिएँ।

त्यो दृश्यले मलाई ४० वर्षअघिका दिनहरूको सम्झना दिलायो। जतिबेला म गोइँठी स्कुलमा पढ्दै थिएँ, हाम्रो गाउँमा केटाकेटीको पढाइबारे अपवादबाहेक बुबाआमा त्यति गम्भीर थिएनन्। प्रायः अभिभावकहरूको भनाइ हुन्थ्यो, ‘जति पढे पनि नोकरी हुँदैन। यही खेतीपाती गर्नुपर्छ। धेरै पढेर के गर्ने ? सामान्य लेखपढ गर्न सिके पुगिहाल्छ नि।’

त्यसकारण ती महिलाको मेहनत मलाई मेरै गाउँमा अनौठो लागेको थियो। बाल्यकालमा हाम्रो बाआमाले दाजुभाइको पढाइबारे जति चिन्ता लिनुहुन्थ्यो, प्रायः हाम्रा छिमेकीका काका, काकीहरूले त्यति सजग हुनुहुन्थेन।

बाल्यकालमा म कुनै अब्बल विद्यार्थी थिइन् तर बा आमाको इच्छा थियो, छोराहरू जसरी पनि धेरै पढुन्। बाबाले जहिले पनि चिदानन्द महत्मान दाजुको उदाहरण दिइरहनु हुन्थ्यो। चिदानन्द दाजु हाम्रो गाउँभरिकै जेहेनदार विद्यार्थीमा गनिन्थे। साह्रै मेहनती। एकैपटकमा एसएलसी पास गरेको। २०३७/३८ सालतिर एकै पटकमा एससलसी पास गर्नु भनेको धेरै ठूलो कुरा मानिन्थ्यो हाम्रो गाउँमा। काठमाडांैमा आईएस्सी पढ्न गएको। गाउँभरि उहाँको चर्चा थियो।

आमा चैं जहिले पनि आफ्नै भाइको कुरा गरिराख्नुहुन्थ्यो। २०२५ सालतिर नै सप्तरीको कञ्चनपुर स्कुलबाट एसएलसी उत्तीर्ण गर्नुभएको मेरो मामा महेश्वर साह बीएस्सी एजीको छात्रवृत्ति पाएर भारतको राजस्थानमा पढ्नुभयो। उहाँ बीएस्सी एजीको लागि जुन कलेजमा भर्ना हुनुभयो, त्यसै कलेजबाट पीएचडी सकेर मात्र निस्कनुभएको थियो अरे। आज आएर सम्झिन्छु, बा आमाको दिमागमा चितानन्द दाजु र महेश्वर मामाको तस्बिर नघुमेको भए सायद हामी दाजुभाइको पढाइमा त्यति जतन गर्नु हुन्थेन कि ?       

मान्छेको दिमाग कल्पनाको पनि एउटा दायरा हुँदो रहेछ। ऊ आफ्नो वरिपरिको अवस्थासँग जहिले पनि आफूलाई दाँज्दो रहेछ। आपूm त्यस्तो हुन सकिएन भने आफ्नो सन्तानबारे अनेक सपना बुन्न थाल्दो रहेछ। मेरा आमाबुबा पनि त्यसरी नै सपना बुनेका थिए जस्तो लाग्छ।

मलाई ती महिलाको मेहनत देखेर आफ्नै आमाको ती पुराना दिनहरू याद आयो। मेरो आमाको दिमागमा त छोराहरूलाई आफ्नो भाइजस्तो बनाउने सपना थियो तर यिनको दिमागमा के छ ? बुझ्न मन लाग्यो।

एकै पटक कसरी सोध्नु ? यसो सोध्ने वातावरण बनाउनतिर लागेँ।

‘हाम्रो पालामा त यसरी घरबाट खाजा ल्याउने चलन थिएन। कतिजनाको घरबाट यसरी खाजा लिएर आउँछन् ?’ वातावरण बनाउने सिलसिलामा मैले सोधेँ।

‘थोरै, दुईचार जना मात्र आउँछन्। म पनि सधैँ आउँदिन। बिहान घरमा खाजा पकाउन सकिएन। बच्चाहरू भोकै स्कुल आएका थिए। अहिले खाना पकाएर ल्याइदिएको हुँ।’ महिलाले भनिन्।

त्यतिञ्जेल मलाई लागिरहेको थियो, यो महिला देव टोलकी हुनुपर्छ।

हाम्रो गाउँ गोइँठी मा देव जातिको एउटा टोल छ। ठेट भाषामा त्यस बस्तीलाई व्यास टोल पनि भनिन्छ। उच्च जातिका भएकोले होला, देवहरू पढाइलेखाइमा अलिक बढी जागरुक छन्। मजस्तै हाम्रो गाउँमा धेरैलाई अक्षर चिनाउने हाम्रो पहिलो गुरु हलधर देव र चक्रधर देव थिए। निम्न माध्यमिक वा माध्यमिक तहमा पुगेपछि अंगे्रजी पढाउने कमलेश्वरी देव, गाउँभरि लेखापढी गर्ने घनश्याम देव, कुनै औपचारिक कोर्स नपढेका तर गाउँभरिका डाक्टर थिए मदनदेव र मोहनदेव। अर्थात् हाम्रा पालामा गाउँमा लेखपढ गर्ने/गराउने कार्यमा देवहरूको राम्रो प्रभुत्व थियो। अथवा भनौं, देवहरूको जीवनयापनको माध्यम उतिबेला पनि कलम र कागज नै थियो।

ग्रामीण समाजमा टोलको नाम जातिको बसोबासको आधारमा हुँदा रहेछन्। प्रायः एक जातका मानिसहरू एकै ठाउँमा झुप्प बसेका हुन्छन्। यदि अर्को जातका मानिसको पनि घर छ भने सकेसम्म पानी चल्ने वा समान तहका जातिको मात्र। सकेसम्म पानी नचल्ने जातका मानिसहरूको बस्ती नै छुट्टै हुने चलन छ, मधेसको ग्रामीण समाजमा।

गाउँको स्कुलमा कुनै बच्चाको आमाले खाजा लिएर आएको मैले देखेको थिइनँ। त्यो दृश्य मलाई अनौठो लागेको थियो। एक ग्रामीण आमामा आएको जागरण देखेर म आश्चर्यचकित थिएँ।

मेरो गाउँ गोइँठी मा पनि अनेक टोल छन्। जस्तो हाम्रो तेलीहरूको बस्तीलाई तेलियाही भनिन्थ्यो भने यादवहरूको बस्तीलाई गुवारबाही। कोइरीहरूको बस्तीलाई कोरियामी भनिन्थ्यो भने खत्वेहरूको बस्तीलाई खत्वे टोल। त्यसरी नै बाँतरहरूको बस्तीलाई बतराही, मुसरहहरूको टोललाई मुसहरी, डोमहरूको बस्तीलाई डोमराही भनिन्थ्यो। बोलीचालीमा यी शब्दहरू केही हदसम्म अहिले पनि चलनमै छ। अचेल त वडा नम्बरको हिसाबले बस्तीहरूको नामकरण भएको छ।

हाम्रो गाउँमा जातका आधारमा टोल र त्यसकै आधारमा मानिसको लवाइखबाइ, रहनसहन अर्थात् वर्ग पनि छुटिन्छ। जस्तो यादव र तेलीहरू खेतीपाती र दोकानदारी भएका अलि सम्पन्न बस्ती मानिन्थ्यो भने व्यास (देव) हरू सफासुग्घर र लेखपढमा अगाडि थिए। मेहताहरू निकै मेहनती, तरकारीखेतीमा पोख्त मानिन्थे। बाँतर, मुसहर, खत्वेजस्ता दलितहरूको बस्तीलाई निकै गरिबहरूको टोल, फोहोर र लेखपढमा निकै पछाडि मानिन्थ्यो। यसरी मेरो गाउँमा जातसँगै पेसा र वर्ग पनि सजिलै छुटिन्थ्यो।

बच्चाको पढाइमा विशेष जागरुक देखेको कारण मैले ती महिलालाई देव टोलको ठानेर सोधेँ, ‘तपाईंको घर देव टोलमा छ ?       ’

होइन, मुसहरी टोलमा। महिलाले जवाफ दिइन्।

म झनै आश्चर्यचकित भएँ ! म फेरि बाल्यकालका ती दिनहरू सम्झिन थालेँ। आपूm गोइँठी स्कुलमा पढ्दा त्यहाँ ३ कक्षासम्म मात्र पढाइ हुन्थ्यो। हाम्रो पालामा आकलझुक्कल मात्र मुसहरी टोलका केटाकेटीहरू स्कुल आउँथे। त्यतिबेला पनि मुसहरी टोल एक वडा नै थियो, हाम्रो गाउँको। लगभग एक सय घर परिवारको बस्ती। तर मेरो कक्षामा मुसहरी टोलका डम्बर सदा र श्रीचन सदा जम्मा दुईजना मात्र पढ्थे। थाहा छैन, डम्बर कहाँ छन् तर श्रीचनले चैं गाविस कार्यालयमा पियनको काम गर्दा रहेछन्।

हाम्रो पालामा आक्कलझुक्कल मात्र मुसहरी टोलका विद्यार्थीहरू स्कुल आउने अवस्थाबाट आज कसरी यति जागरण आयो होला ? मनमा अनेक प्रश्न उठ्न थाल्यो।

‘तपाईंजस्तै तपाईंको टोलका कतिजना अभिभावकहरूले बच्चालाई यसरी स्कुलमा पढाउँछन् ?’ मैले सोंधे।

‘घरैपिच्छे बच्चाहरू छन्। धेरै घरबाट आउँछन् तर सँधै आउँदैनन्। कहिले आउँछन्, कहिले आउँदैनन्।’ ती महिलाले भनिन्।

मलाई फेरि बाल्यकालमा आमाले सुनाउनुभएका प्रसंगहरू याद आयो। साथीहरूसँग घुमफिरमा भुल्दा, ठूलाबडालाई छक्याएर गफिन खोज्दा आमाले पटकपटक मामाको प्रसंग झिकेर सम्झाउने प्रयास गर्नु हुँदाका क्षणहरू सम्झिन पुगेँ। मलाई लाग्यो, यो महिलाको पनि केही न केही प्रेरणाको स्रोत हुनुपर्छ, जसले यिनलाई आफ्नो बच्चाहरूलाई जतन गरेर पढाउनुपर्छ बनाएका छन्।

‘तपाईंले बच्चाहरूको पढाइमा यसरी ख्याल राख्नुपर्छ भन्ने कुरा कहाँबाट सिक्नुभयो ? कसैले सिकायो कि आफैं ?’

मेरो माइतीमा बच्चाहरू बस चढेर स्कुल गएको देखेकी छु। त्यताको कुनै कुनै स्कुलमा पैसा पनि दिन्छन्। यता त बस छैन। पैसा कहिले दिन्छन्, कहिले दिँदैनन्। तै पनि म आफ्नो बच्चालाई सधैं स्कुल पठाउँछु।

‘कहाँ हो, तपाईंको माइती ?       ’

‘सुनसरीको हरिपुर।’

तुलनात्मक रूपमा सप्तरीभन्दा सुनसरी जिल्लाका दलितहरूको आर्थिक र सामाजिक अवस्था राम्रो रहेको मानिन्छ। चेतनाको स्तर पनि राम्रो छ।

उनी भन्दै गइन्, ‘सुनेको छु कि सरकारले मुसहरको बच्चालाई जागिरको लागि कोटा दिएको छ रे ! पहिला पो जति पढे नि नोकरी हुँदैनथियो, अब त कोटाबाट मुसहर बच्चाले पनि नोकरी पाउन सक्छन्। त्यसकारण जति सक्छु, त्यति पढाउने विचारमा छु।’

ती महिलाले विद्यार्थीलाई स्कुलमा दिने पैसा भनेको सायद दलित विद्यार्थीलाई दिइने छात्रवृत्ति भनेको हुनुपर्छ। मुसहरको बच्चालाई सरकारले कोटा दिएको उसको भनाइ सरकारी सेवामा दलितलाई दिइएको आरक्षण बुझेको हुनुपर्छ जस्तो लाग्यो। र सम्भवतः त्यही छात्रवृत्ति र आरक्षणले ती महिलामा आफ्नो बच्चा पढाउनुपर्छ भन्ने सोचको विकास गराएको हुनुपर्छ।

काठमाडौंमा जबजब आरक्षणको विरोध सुन्छु, ती मुसहर महिला, उनका बच्चाहरूको अनुहार र उनले भनेकी ‘कोटा’ एकैपटक मेरो मानसपटल ताजा भएर आउँछ।

जुन दिन मैले गोइँठी स्कुलको चौरमा यो दृश्य देखेको थिएँ, त्यसदिन यो विषयमा कुनै दिन लेखौंला भनेर सोचेको थिइनँ। त्यसकारण मैले ती महिलाको नाम सोध्नु आवश्यक ठानेको थिइनँ। नाम न सोध्नुको पछाडि सामाजिक चलन पनि एउटा कारण थियो। ग्रामीण मधेसी समाजमा पुरुषले प्रायः महिलाको नाम सोध्ने चलन हुँदैन। आफूभन्दा कम उमेरका बुहारी पर्ने महिलाको त नाम झन् उच्चारणै पनि गर्नु हुँदैन। मैले उमेर छुट्याउनेतिर लागिन, केवल सामाजिक संवेदनशीलतालाई बुझेर मात्र नाम सोधेको थिइनँ। साथमा क्यामरा पनि थिएन, त्यसैले तस्बिर पनि लिइएन।

काठमाडौं आएर साथीहरूसँग कुरा गर्दा यो त स्टोरी बन्छ भन्न थाले। हालै गाउँ जाँदा पत्तो लगाएर ती महिलाको फोटो खिचेँ। नाम सोधेँ। गाउँको चलनअनुसार हल्का घुम्टोमा लजाउँदै उनले भनिन्, ‘मेरो नाम भगमन्ती सदा हो।’

मधेसी समाजको पिँधमा रहेको मुसहर जातिमा आएको यो चेतना अनौठो हो। यसको सकारात्मक र दीर्घकालीन प्रभाव पर्ने निश्चित छ। गोइँठीबाट फर्केर आएपछि मुसहरबारे खोजबिन गर्दा थप कुरा थाहा भयो। सन् २०११ को जनगणनामा नेपालभरिमा मुसहरको कुल जनसंख्या दुई लाख ३४ हजार चार सय ९० रहेको छ। तराईको धेरै जिल्लामा मुसहरको उपस्थिति छ तर सबैभन्दा बढी सप्तरी र सिरहामा रहेको छ। सरकारी तथ्यांकअनुसार यी दुई जिल्ला गरेर लगभग ८० हजारको संख्यामा मुसहरको जनसंख्या छ।

सन् २०११ को जनगणनाअनुसार नेपालको औसत साक्षरता दर ६६ प्रतिशत हुँदा पहाडी दलितको साक्षरता दर ७२.४ प्रतिशत थियो। तराई दलितको साक्षरता दर ४९.१ प्रतिशत हुँदा मुसहर जातिको साक्षरता दर केवल २१.८ प्रतिशत रहेको छ। यो दर सन् २००१ मा झनै कम (केबल ७.३ प्रतिशत) रहेको थियो। अध्येता मधु गिरीका अनुसार ९७ प्रतिशत मुसहरहरू भूमिहीन छन्। ८० प्रतिशतभन्दा बढी मुसहर विद्यार्थीहरू २५ दिनमा केवल १० दिन मात्र स्कुल जाने गर्छन्। भगमन्ती सदाका सन्तानहरू मुसहर जातिको त्यो अवस्थामा सुधार ल्याउन सफल बनुन्। शुभकामना छ, भगमन्तीलाई।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.