तरकारीमा सिन्डिकेट : ४३४ जना कारवाहीको सूची

तरकारीमा सिन्डिकेट : ४३४ जना कारवाहीको सूची

काठमाडौं : कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको निर्देशनमा कालिमाटी तरकारी व्यवस्थापन बोर्डले सम्झौताविपरीत काम गर्नेमाथि कारवाही गर्न ४ सय ३४ जना तरकारी व्यवसायीको सूची तयार पारेको छ।बोर्डले तरकारीमा तीनदेखि चार तहको सिन्डिकेट बनाएर चर्को मूल्यमा तरकारी बेच्दै आएका बिचौलिया, व्यवसायी र अत्यधिक मूल्यमा भाडा लगाउने सटर व्यवसायीमाथि कारवाही गर्न सूची तयार पारेको हो।

कृषिमन्त्री चक्रपाणी खनालका सञ्चार संयोजक बोमलाल गिरीले बिचौलिया र व्यवसायीको सिन्डिकेटलाई तह लगाउन बुधबार नै व्यवस्थापन बोर्डमा मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीलाई अध्यक्षमा सरुवा गरिएको छ। सुवेदीले जिम्मेवारी सम्हालेलगत्तै कृषिमन्त्री खनालको निर्देशनमा कालिमाटी बजारमा बेथिति हटाउन गृहकार्य अघि बढाएका छन्।

गत सोमबार कालिमाटी बजारमा कृषिमन्त्री खनालले गरेको स्थलगत निरीक्षण क्रममा तरकारी बेचबिखनमा ठूलो सिन्डिकेट रहेको पत्ता लागेको थियो। सिन्डिकेटको जालो तोड्न मन्त्री खनालले गृहकार्य गरी प्रक्रिया अघि बढाएका हुन्। अनुगमनमा एक जना व्यवसायी १५ वर्षदेखि एउटै स्टलमा अड्डा जमाएर बसेको फेला परेको थियो। एउटा स्टलको मासिक भाडा ८-१० हजार रुपैयाँ कालिमाटी बजारलाई तिर्ने व्यवसायीले त्यही स्टल भाडामा लगाएर मासिक २ लाख रुपैयाँसम्म कमाउने गरेको पनि खुलासा भएको थियो।

बोर्डले तयार पारेको सूचीमा कालिमाटी बजारका ३ सय ३८, कालिमाटीको खुद्रातर्फ ८० र बालाजु तरकारी बजारका १६ जना छन्। बोर्डले कालिमाटी बजारको बहुउद्देश्यीय भवनतर्फ २१ र ४६ टहराभित्रका ३ सय १ व्यवसायीमध्ये २ सय ६१, फिस सेडभित्र कार्यरत थोकतर्फ ११ मध्ये ८, सहकारी समूहतर्फ १५ मध्ये १४, माछातर्फ २५ मध्ये २३ जना व्यवसायीलाई सूचीमा राखेको छ।

बोर्डले सिन्डिकेट बनाएर चर्को मूल्यमा तरकारी बेच्दै आएका बिचौलिया, व्यवसायी र अत्यधिक मूल्यमा भाडा लगाउने सटर व्यवसायीमाथि कारवाही गर्न सूची तयार पारेको हो।

२४ टहराभित्रका ३० मध्ये २४ र ३८ टहराभित्रका ४३ मध्ये ८ व्यवसायी पनि बोर्डको सूचीमा छन्। ‘मन्त्रीज्यूको निर्देशनमा बोर्डले निगरानी गरी पहिलो पटक यति धेरै व्यवसायीको सूची तयार पारेको हो’, सञ्चार संयोजक गिरीले भने, ‘पहिचान भइसकेका बिचौलिया र व्यवसायीलाई बोर्डले एक साताको स्पष्टीकरण सोध्ने तयारी गरेको छ। उनीहरूले अवरोध सिर्जना गरे कडा कारवाही गर्ने मन्त्रालयको तयारी छ।’ उनका अनुसार कालिमाटीकै खुद्रा बजारतर्फ ६४ मध्ये ५०, फलफूलतर्फ सबै ९, गोदाम प्रयोजन केजतर्फ २० मध्ये १४, सटरतर्फ १७ मध्ये ७ तथा बालाजु तरकारी बजारमा खुद्रातर्फ (तलका) २३ मध्ये ७, खुद्रातर्फ (माथिका) १४ मध्ये ३ र सटरतर्फ १२ मध्ये ६ व्यवसायीलाई सूचीमा राखेको छ।

बोर्डले तयार सूचीअनुसार कारवाही गर्ने विषय बिहीबारको बैठकमा राखेको थियो। बैठकमा बहुमत नपुगेपछि शुक्रबार फेरि बोर्ड बैठक बस्नेछ। सूचीको विरोधमा व्यवसायीले बिहीबार नाराबाजी र घेराबन्दी गरेका थिए। मन्त्रालय स्रोतका अनुसार कारवाहीमा व्यवसायीले गर्ने अवरोध र विरोध निस्तेज पार्न बिहीबार नै गृह मन्त्रालयमा पत्राचार गरिएको छ।

‘कारवाहीमा उनीहरूले गर्न सक्ने अवरोध र विरोध साम्य पार्न तथा कर्मचारी जोगाउन बुधबार नै गृह मन्त्रालयमा पत्राचार गरिसकेका छौं’, मन्त्रालय स्रोतले भन्यो, ‘उनीहरूका अवाञ्छित गतिविधि नियन्त्रण गर्न शुक्रबारदेखि कालिमाटी बजारमा पर्याप्त सुरक्षाकर्मी तैनाथ गर्ने योजना छ।’ बिहीबारको बोर्ड बैठकले कालिमाटी बजार र बालाजु बजारमा सम्झौताविपरीत काम गर्ने व्यवसायीको इजाजत खारेज गरी सम्झौता रद्द गर्ने निर्णय गरेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.