बलिया टोलीको स्वाभाविक जित
लन्डन : रुसमा आयोजना हुने २१औं विश्वकप फुटबलको तयारीका क्रममा शुक्रबार बिहान खेलिएको अभ्यास खेलमा तुलनात्मक रूपमा बलिया टोली उरुग्वे, इङ्ल्यान्ड र पोर्चुगलले स्वाभाविक जित हात पारेका छन् । दुई पटकको विश्वकप विजेता उरुग्वेले उज्बेकिस्तानलाई ३-० गोलले हरायो भने इङ्ल्यान्डले कोस्टा रिकामाथि २-० गोलको जित हासिल गर्यो । कोस्टा रिकाले पनि जुन १४ तारिखदेखि सुरु हुने विश्वकपमा प्रतिस्पर्धा गर्दैछ ।
क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगलले अल्जेरियामाथि ३-० गोलको सजिलो जित हासिल गर्दै विश्वकप यात्राका लागि आफू तयार रहेको सन्देश दियो । पहिलो पटक विश्वकपमा सहभागिता जनाउन लागेको आइसल्यान्ड भने बलियो प्रतिद्वन्द्वी घानासँग २-२ गोलको बराबरीमा रोकियो । आइसल्यान्ड जनसंख्याको हिसाबले विश्वकपमा सहभागिता जनाउन लागेको हालसम्मकै सबैभन्दा सानो राष्ट्र हो । अफ्रिकी राष्ट्र घाना भने यसपटक विश्वकपमा छनोट हुन सकेन ।
घरेलु मैदानमा खेलिएको खेलको ३२औं मिनेटमा उरुग्वेका लागि जर्जियन डी एरास्केटाले पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा उरुग्वे अगाडि रह्यो । ५४औं मिनेटमा बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने अनुभवी खेलाडी लुइस स्वारेजले पेनाल्टीमार्फत गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाएका थिए । टोलीका लागि तेस्रो गोल भने ७३औं मिनेटमा जोसे जिमेन्जले गरे ।
खेलको ७९औं मिनेटमा अक्रमजन कामिलोभ सीधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि उज्बेकिस्तान १० खेलाडीमा समेटिएको थियो । आगामी विश्वकपमा उरुग्वे, आयोजक रुस, साउदी अरेबिया र इजिप्ट समूह ‘ए’ मा परेका छन् । सन् १०३० मा पहिलो विश्वकपको उपाधि जितेको उरुग्वेले आफ्नो पहिलो खेल जुन १५ तारिखमा इजिप्टसँग खेल्नेछ ।
यसैगरी अल्जेरियाविरुद्घको खेलको पहिलो हाफमै पोर्चुगलले २-० को अग्रता लिएको थियो । पोर्चुगलका लागि गोन्कालो ग्वेडेसले दुई गोलको योगदान गरे । खेल सुरु भएको १७औं मिनेटमै उनले टोलीलाई अग्रता दिलाएका थिए । ३७औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गरेपछि पहिलोे हाफमै पोर्चुगल २-० ले अगाडि बढ्यो । टोलीका लागि तेस्रो गोल ५५औं मिनेटमा ग्वेडेसले गरेका थिए ।
युरो कप फुटबलको विजेतासमेत रहेको पोर्चुगल आगामी विश्वकपमा पूर्वविजेता स्पेन, मोरक्को र इरानसँगै समूह ‘बी’ मा परेको छ । पोर्चुगलले आफ्नो पहिलो खेल जुन १५ तारिखमा स्पेनसँग खेल्नेछ । यसैगरी घानाविरुद्घको खेलको पहिलो हाफमै २-० को अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा आइसल्यान्डले बराबरीमा चित्त बुझाउनु पर्यो ।
खेल सुरु भएको छैटौं मिनेटमा कारी अर्नासनले आइसल्यान्डका लागि पहिलो गोल गरे । ४०औं मिनेटमा अल्फ्रेड फिनबोग्सनले अर्को गोल थप्दै पहिलो हाफमै आइसल्यान्डलाई २-० को अग्रता दिलाए । ६६औं मिनेटमा घानाका कासिम नुहुले जवाफी गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । निर्धारित समयको खेल सकिनुभन्दा तीन मिनेटअघि थोमसले अर्को गोल गर्दै घानालाई सम्भावित हारबाट जोगाए । आगामी विश्वकपमा आइसल्यान्ड, पूर्वविजेता अर्जेन्टिना, क्रोएसिया र नाइजेरिया समूह ‘डी’ मा परेका छन् । आइसल्यान्डले आफ्नो पहिलो खेल जुन १६ तारिखमा अर्जेन्टिनासँग खेल्नेछ ।
यसैगरी कोस्टा रिकाविरुद्घको खेलमा इङ्ल्यान्डले दुबै हाफमा एक÷एक गोल गरेको थियो । खेल सुरु भएको १३औं मिनेटमै विश्वकपको पूर्वविजेता इङ्ल्यान्डका लागि मार्कुस रासफोर्डले पहिलो गोल गरेका थिए । निर्धारित समयको ७६औं मिनेटमा डेनी वेलबेकले अर्को गोल थप्दै इङ्ल्यान्डलाई महत्वपूर्ण जित दिलाएका थिए । कोस्टा रिकाले भने खासै गतिलो प्रदर्शन गर्न सकेन ।
आगामी विश्वकपमा इङ्ल्यान्ड, बेल्जियम, पानामा र ट्युनिसिया समूह ‘जी’ मा परेका छन् । इङ्ल्यान्डले आफ्नो पहिलो खेल जुन १८ मा ट्युनिसियासँग खेल्नेछ । कोस्टा रिका भने विश्वकपको समूह ‘ई’ मा परेको छ । उक्त समूहमा पाँच पटकको विश्वकप विजेता ब्राजिल, स्विट्जरल्यान्ड र सर्बिया पनि छन् । कोस्टा रिकाले आफ्नो पहिलो खेल जुन १७ तारिखमा सर्बियासँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस !