‘अभियुक्त पक्राउ गरी गंगामायालाई बचाऊ’

‘अभियुक्त पक्राउ गरी गंगामायालाई बचाऊ’

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बुधबार प्रधानमन्त्री केपी ओलीसँग भेटी लामो समयदेखि निराहार अनसनमा रहेकी गंगामाया अधिकारीको जीवन रक्षा गर्न माग गरेका छन्। उनले सर्वोच्च अदालतको पक्राउ आदेशअनुसार फरार अभियुक्तलाई थुनामा राखेर मुद्दाको कारवाही सहज बनाउनसमेत आग्रह गरेका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आयोग अध्यक्ष शर्माले प्रधानमन्त्री ओलीसँग ‘वन टु वन’ कुराकानी गरेको स्रोतले जनाएको छ। उनले दण्डहीनता अन्त्य गर्न आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न पनि प्रधानमन्त्रीसँग आग्रह गरेका थिए। माओवादी द्वन्द्वका बेला मारिएका छोराको हत्यारामाथि कारवाहीको माग राखी गोरखा फुजेलकी गंगामाया वीर अस्पतालको शड्ढयामा अनसनरत छिन्। उनका छोरा कृष्णप्रसादको तत्कालीन माओवादी कार्यकर्ताद्वारा २०६१ सालमा चितवनमा हत्या भएको थियो। एसएलसी दिएर बसेका कृष्णप्रसाद हत्या हुँदा १७ वर्षका थिए।

अनसन बसेकी गंगामायाले दालको झोल, स्लाइन, औषधि, पानी केही लिन नमानेपछि अवस्था कमजोर बनेको जानकारीमा आएपछि आयोग अध्यक्ष शर्माले प्रधानमन्त्री ओलीसँग फरार अभियुक्त पक्राउ गरी जीवन रक्षा गर्न आवश्यक कदम चाल्न आग्रह गरेका हुन्। उनका पति नन्दप्रसाद अधिकारीको पनि अनसनकै क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो। कृष्णप्रसादको हत्यापछि प्रहरीले चितवन जिल्ला अदालतमा १३ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरे पनि अहिलेसम्म फैसला हुन सकेको छैन। अभियोगपत्र अनुसार मुख्य योजनाकार भनिएका गोर्खा फुजेलकै छविलाल पौडेललाई पक्राउ गरी थुनामा राखेर अनुसन्धान कारवाही गर्न सर्वोच्चले आदेश भएको थियो।

 अनसन बसेकी गंगामायाले दालको झोल, स्लाइन, औषधि, पानी केही लिन नमानेपछि अवस्था कमजोर बनेपछि आयोग अध्यक्ष अनुपराज शर्माले प्रधानमन्त्रीसँग भेट गरेका हुन्।

सर्वोच्चका तत्कालीन न्यायाधीश गिरिशचन्द्र लाल र दीपकराज जोशीको संयुक्त इजलासबाट २०७२ साल पुस ६ मा पौडेललाई थुनामा राख्न आदेश दिएको थियो। साधारण तारेखमा छाड्ने जिल्ला र उच्च अदालतको निर्णय उल्ट्याउँदै पक्राउ आदेश भए पनि ३ वर्ष बित्दासमेत कार्यान्वयन भएको छैन। प्रहरीले हत्यामा ‘सुटर’ को दाबी गरेको अर्का अभियुक्त रुद्र आचार्य भने हाल बेलायतमा छन्। उनलाई पक्रन प्रहरीले इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरेको छ।

आयोग अध्यक्ष शर्माले आचार्यलाई पक्रन लागि कूटनीतिक पहल गर्न पनि प्रधानमन्त्रीसँग आग्रह गरेका थिए। ‘खासगरी गंगामायाको जीवन रक्षाका लागि कुरा राख्न गएको हुँ’, उनले भने, ‘फरार प्रतिवादीलाई थुनामा राख्ने अदालतको आदेश कार्यान्वयन गरी सहज वातावरण बनाउन कुराकानी भएको हो।’ पौडेल र आचार्य बाहेकका प्रतिवादी हाल अदालतको आदेशअनुसार साधारण तारेखमा छन्। आयोगले ५७ सालयता गरेका झण्डै हजार सिफारिसमध्ये केवल १२ प्रतिशत मात्र कार्यान्वयन भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.