गंगामायाले सुरु गरिन् आमरण अनसन
काठमाडौँ: छ वर्षदेखि स्लाइनमा औषधि र पानीका भरमा अनशनमा बसेकी गंगामाया अधिकारीले बिहिबारदेखि बिनाऔषधि र पानी आमरण अनशन सुरु गरेकी छिन् ।
नयाँ प्रधानमन्त्रीमा पुष्पकमल दाहाल आएसँगै आफूले न्याय पाउने आशा राखेको बताउँदै उनले आफ्ना छोराको हत्यारालाई कारबाही गर्न पाँच दिनको समय दिएकी थिइन्। यही साउन २१ गते उनले पत्रकार सम्मेलन गरी सरकारलाई पाँच दिनभित्र आफ्ना मागबारे सम्बोधन गर्न आग्रह गर्दै त्यसो नभए आमरण अनशनमा बस्ने चेतावनी दिएकी थिइन्।
गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगो र स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेती बिहीबार वीर अस्पतालको क्याबिन नं ७ मा उनलाई भेट्न गए पनि गंगामाया केही बोलिनन् ।
विसं २०७१ असोज ६ गते अनशन बसेको ३३४ दिन हुँदा उनका श्रीमान् नन्दप्रसादको मृत्यु भएको थियो । उनको शव अहिले पनि महाराजगन्जस्थित शिक्षण अस्पतालमा छ । न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान गंगामायाको छ ।
विसं २०६१ मा गङ्गामायाका १७ वर्षीय छोरा कृष्णप्रसादको तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेपछि छविलाल पौडेल, भीमसेन पौडेल, जानुका पौडेल, पर्शुराम पौडेल लगायतलाई किटानी गरी चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरे पनि हालसम्म कुनै सुनुवाइ भएको छैन ।
हत्याराविरुद्ध कारबाहीको माग गर्दै छ वर्षअघि अधिकारी दम्पतीले आफूहरूको मागलाई सरकारले बेवास्ता गरेको जनाउँदै अनशन सुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !