उर्जा, रेल र पुनर्निमाणमा चीनसँग सम्झौता : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग उर्जा, रेल मार्ग र भूकम्प पुनर्निमाणमा नयाँ सम्झौतामा हस्ताक्षर हुने बताएका छन्। मंगलबारदेखि सुरु हुने आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभामा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले चीनसँग राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर सम्झौता हुने बताए।
‘मेरो भ्रमणको अवसरमा दुई देशबीच हुने सम्झौता, समझदारी र छलफल राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर हुन्छ,’ उनले भने। प्रधामन्त्री ओलीले आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा गरेका सम्झौता र समझदारीको कार्यान्वयनका साथै नयाँ सम्झौता र समझदारी हुने बताए।
उनले चीनसँग सीमा क्षेत्रमा देखिएका समस्याका बारेमा पनि छलफल गर्ने प्रतिवद्धता जनाएका छन्। ‘सीमा क्षेत्रका विषयमा पनि कुरा हुनेछन्,’उनले भने।प्रधानमन्त्री ओलीले केरुङका साथै अन्य नाका खोल्ने विषयमा समेत समझदारी हुने दावी गरे। ‘अहिले केरुङमात्र चलेको छ, अन्य नाकाका विषयमा समेत समझदारीको सम्भावना छ ,’ उनले भने।
प्रधानमन्त्री ओलीले चीन भ्रमणमा सहयोग, सहकार्य र संयुक्त लगानी गरी तीन मोडेलमा छलफल हुने बताए। ‘सडक, यातायात मात्रै होइन रेल मार्ग, हवाई मार्ग, अब्टिकल फाइबर लगायतका कनेक्टिभिटीको विषयमा समेत दुईपक्षीय वार्ता हुन्छ', प्रधानमन्त्री ओलीले भने, ‘परस्पारिक सहयोग र लगानीको क्षेत्रमा विस्तृत छलफल हुन्छ।’
प्रधानमन्त्री ओलीले चिनिया लगानी भित्र्याउने विषयमा गम्भीरताका साथ कुरा गर्ने बताए। उनले अन्तरदेशीय प्रसारण लाइन, भौतिक पूर्वाधार, व्यापार घाटा, उत्तर दक्षिण बाटो लगायतका विषयमा छलफल हुने बताए।
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिन पिङ, प्रधानमन्त्री लि खछ्यान , राष्ट्रिय कांग्रेसका अध्यक्ष लगायतसँग द्वीपक्षीय वार्ता हुने बताए।
प्रतिक्रिया दिनुहोस !