उडेको एक मिनेटमै दुर्घटनामा परेको थियो हेलिकोप्टर
काठमाडौ : सरकारले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव भेटिएको जनाएको छ । गृहमन्त्रालयमा आयोजित आकष्मिक पत्रकार सम्मेलनमा मन्त्री सवार हेलिकोप्टर मौसमको खराबीका कारण दुर्घटना परेको जानकारी दिइएको हो ।
गृहमन्त्रालयले बुधबारै पत्रकार सम्मेलन गरेर घटनाको पुष्टि गर्दै मन्त्री अधिकारीसहित सातैजनाले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएको जानकारी दिएको छ । गृहमन्त्रालयका अनुसार ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित तारे ढुङ्गा पारीको भीरमा हेलिकोप्टर दुर्घटना भएको हो ।
दुर्घटनास्थलमा हेलिकोप्टर टुक्रा टुक्रा भएको अवस्थामा भेटिएको त्यहाँ पुगेका स्थानीय भुपेन्द्र गुरुङले जानकारी दिएका छन् ।
गृह प्रवक्ता रामकृष्ण सुवेदीले तेह्रथुमको आठराई चुहानडाँडा गाउँपालिकामा निर्माण गर्न लागिएको एयरपोर्ट निरीक्षण सकेर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गर्न गएको हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिए ।
‘पर्यटनमन्त्रीसहित ६ जना यात्रु र एकजना पाइलटको ज्यान गएको छ’, सुवेदीले भने, ‘दुर्घटनामा परेका मन्त्रीज्यूको शव केही भाग जले पनि चिनिने अवस्थामा छ । उहाँका निजी सुरक्षा गार्डको शव चिनिने अवस्थामा छ । अरुको शव भने चिनिने अवस्थामा छैन ।’
शव संकलनका लागि नेपाली सेना, सिम्रिक एयर र एयर डाइनेस्टीको हेलिकोप्टर गइसकेका उनले बताए । दुर्घटनास्थलबाट शव विमानस्थलसम्म ल्याउन २ देखि अढाई घण्टासम्म लाग्ने अवस्था रहेको सुवेदीले बताएका छन् ।
उता त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रतावबाबु तिवारीले मन्त्री अधिकारीसहितको टोलीले पाथीभरा दर्शन गरेर फिर्ने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको बताएका छन् । ‘सुकेटार विमानस्थलबाट उडेको एक मिनेटमै हेलिकोप्टर दुर्घटनामा परेको पाइयो’, विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले भने, ‘अफ्ठ्यारो भिरमा हेलिकोप्टर खसेकाले उद्दारमा पनि कठिनाइ भएको छ, मौसम पनि प्रतिकूल छ ।’
प्रतिक्रिया दिनुहोस !